कोभीड बिरामीको नाममा सन्देश !


प्रिय कोभिड बिरामी ।
ग्लोबल भिलेज ।

म सोध्दैन तिमिलाई कस्तो छ ? मलाई पनि नसोध । हामी सबैलाई एउटै पिर छ, एउटै चिन्ता छ । सबैको एउटै साझा दुश्मन छ । जसलाई परास्त गर्नु आजको आबस्यकता हो । सायद तिमी यहि सोचिरहेका छौ । म पनि यहि सोचिरहेको छु ।

तिमिलाई अहिले कोभिड पोजिटिभ भएको खबर प्राप्त भयो । मलाई पनि कुन दिन हुन्छ थाहा छैन । भए हुन्छ कुनै फिकर छैन । मुकाबिल गरौंला भन्ने हिम्मत छ । सके उसले जित्छ, मैले सके मैले जितौला । तर हार मानेको छैन ।

तिमी चाहिँ मैदानमा प्रबेश गरिसकेका छौ र खेल शुरु भइसकेको छ । हार नमान्नु । हिम्मतले काम गर्नु । उसको कमजोरीको प्रहार गरिरहनु । मान्छेको हिम्मत टुट्यो भने सबै सकिन्छ । यदि तिमिसंग पुराका पूरा हिम्मत छ भने बिजय सम्भव छ । आफैले आफै भित्र हिम्मत जगाउने समय हो । तिमी जस्तै लाखौं लाख मान्छेहरुले बिजयको झण्डा गाडीहाले । अब पालो तिम्रो हो । इतिहासको रचना खिच्ने पालो आयो । यो अबशर बिरलै पाइन्छ ।

केही समयपछि तिमले निरास भएर फोन ग-यौ र भन्यौ, मलाई कोभिड लागेको छ । रिपोर्टमा पोजिटिभ देखियो । अन्तिमको तिम्रो एउटा मार्मिक शब्दले मलाई छोयो । भन्यौ, मृत्युलाई जित्न सके ईतिहास रचौला । नयाँ ढंगले काम गरौंला ।

तिम्रो अभिव्यक्ति बिदाईको अभिव्यक्ति जस्तै लाग्यो । मानौं तिमी मर्न गइरहेका छौ । मान्छे मर्नको लागि जन्मेको होइन । मर्न त किरा फटयांग्रो पनि मर्छ । तर हामीले मान्छे हुनुको अर्थ देखाउनु छ । मर्नु अघि एउटा इतिहासको पाना लेखेर मर्नु पर्छ ।

यतिखेर तिमी निरास हुनुलाई अस्वभाविक मान्दैन । यहाँ त यथार्थ भन्दा बढी हल्ला छ । सकारात्मक भन्दा नकारात्मक बढी छ । जसले शोक बढाइरहेको छ । त्यसैले रोगले भन्दा शोकले मान्छे मारिरहेको छ ।

सामाजिक संजालमा तिम्रा सबै साथीहरुले कोरोनाकै चर्चा गरेको देखिरहेको छु । तिम्रो मनमा भरोसा उत्पन्न गराउने खालको पोष्ट कसैको छैन । कति जना सन्चो भए भन्दा पनि कतिजना कोभिड संक्रमित भए ? कतिजनाको मृत्यु भयो भन्ने कुराहरु मात्रै लेखिरहेको देख्छु ।

खासमा कोभिड लाग्दैमा कोहि मरिहाल्दैन । कोभिड लागेको मध्ये २ प्रतिशतको मात्रै ज्यान जाने गरेको छ । मलाई आशा छ, तिमी पनि आफ्नो युद्ध कौशल देखाउने छौ र बिजय भएर त्यो ९८ प्रतिशत भित्र आफ्नो नाम दर्ज बनाउने छौ ।

एकपटक मार्सल आर्टका बादसाह ब्रुसलीको ढाडमा चोट लागेछ तब डाक्टरले भनेछ कि अब उ आफ्नो मार्सल आर्टलाई अगाडी बढाउन सक्दैन । तर ब्रुसलीले डाक्टरको भनाइलाई चुनौती दिए र हिम्मतका साथ काम जारी राख्न थाले अन्ततः ब्रुसलीको ढाडको चोट निको हुनुको साथै मार्सल आर्ट्समा ईतिहास लेखेरै छाडे ।

२१औं शताब्दीका महानतम बैज्ञानिक स्टेफिन हकिङलाई पनि डाक्टरले उसको मृत्यु नै तोकिदिएका थिए । उनले पनि मृत्युलाई जिते र बिश्वबिख्यात बैज्ञानिक बनेर ईतिहासमा नाम लेखाईछाडे । यो सबै हिम्मतको कमाल थियो ।

तिमी पनि ब्रुस ली र स्टेफिन जस्तै आफू भित्रको हिम्मतलाई जगाउनु, यदि त्यो सुतेको भए उठाउनु, स्थिर भए गति भर्नु । यति भए तिम्रो बिजयको शुरूवात हुनेछ ।

मलाई पनि अनौठो लागेकै छ मेरो वरपरका परिवेशहरु देख्दा । कहिलै देखेको थिएन त्यतिबिधी गतिशिल शहरमा कुनै गाडी नचलेको । कुनै मान्छेको पदचाप छैन । सधै भिडभाड हुने मल र सपिङ सेन्टरहरु बन्द । सोच्छु, पृथ्वीमा मानव बिनाको शहर त्यस्तै त देखिन्छ होला । उद्देक लाग्दो क्वारेन्टाइन ।

मेरो मित्र हामीलाई अनौठो लाग्ने यी परिदृष्टीहरु हाम्रै लागि गरिएको हो । हाम्रो आयु लम्ब्याउने उद्देश्य बाहेक यसको अरु कुनै कारण छैन । त्यसैले तिमले आफ्ना परिवारहरु जहाँ जुन ठाउँमा रहेपनि सम्बन्धित सरकारले लागू गरेको नियम कानुनको राम्रो पालना गर्नु भनेर सम्झाउनु प-यो । यो समस्या लामो समयसम्म चल्दैन ।

बलै यो भाइरसलाई कतिपयले चाइनिज भाइरस भनेको पनि सुन्छु । जसरी आकाशमा उडिरहने गिद्धको कुनै राष्ट्रियता हुँदैन, जसरी समुन्द्रका माछाहरुको कुनै निश्चित द्विप हुदैन । जसरी हावापानीको कुनै देश हुँदैन । त्यस्तै यो कोरोनाको पनि कुनै देश छैन । न यो चाइनिज हो, न यो नेपाली हो, न अमेरिकी हो, न भारतिय हो ।

यसलाई यात्राको लागि न पहिचान चाहिन्छ, न भिसा न पासपोर्ट । जुनसुकै देशमा पनि जानसक्छ । चिन देखि युरोपसम्म पुग्नलाई यसलाई कुनै इमिग्रेशनले रोकेन । अहिले यो नपुगेको देश छैन । यो तिमी हाम्रो मात्रै होइन कि देशी बिदेशी सबैको साझा शत्रु भएको छ । र यो साझा शत्रुलाई निर्मुल नपारी हामी सबैले सुखको सास फेर्न पाउने छैनौं ।

अहिले म क्वारेन्टाइनमा छु । यसलाई मैले हाम्रो साझा दुश्मन बिरुद्धको बिद्रोह ठानेको छु । यहि कारण म बसिरहेको देशले लागू गरेको कानुनलाई शिरोपर गरिरहेको छु र आफ्नै घरमा बसिरहेको छु । आशा छ, हामी बिजय हुनेछौं र फेरि यो ग्लोबल भिलेजमा खुल्ला रुपमा बिचरण गर्न सक्ने छौँ ।

तपाईको हितौसी मित्र:
पृथीछक बुढा,
ग्लोवल भिलेज ।

२३ चैत्र २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको