प्रदेश ५ मा पनि कोरोना परीक्षण शुरु


चैत २३, बुटवल । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) सं–क्रमण परीक्षणका लागि प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आईतबारदेखि सेवा शुरु भएको छ ।

सरकारले प्रदेश ५ को भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्रको खाली भवनलाई मर्मतसंम्हार गरेर प्रदेशस्तरिय प्रयोगशाला स्थापना गरेको हो । कोरोना प्रयोगशालाको सेवा शुरुमा तीन दिनभित्र सञ्चालनमा आउने बताइए पनि भवनको मर्मत र कोरोना परीक्षणका लागि पिसिआर मेशिन मात्रै नराखी सँगै विएसएल टु क्याविनेट वायो सेफ्टी लेभलको प्रयोगशाला स्थापनाको तयारीका कारण केही ढिलाइ भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्रकुमार गिरीले बताए ।

अब यो वायो सेफ्टी लेभलको प्रयोगशालामा कोरोना भाइरस मात्रै नभएर अन्य खालका इन्फ्लुएञ्जा पनि परीक्षण गर्न सकिने सुविधासम्पन्न प्रयोगशालाको पूर्वाधार तयार भएको डा गिरीले बताए । प्रयोगशालाको सञ्चालनका लागि भवनको मर्मत सम्पन्न भएर मेशिन जडान र मेशिनको गुणस्तर परीक्षणको काम सकिएपछि प्रयोगशालाको शुरु भएको हो ।

केही नमूना परीक्षण रिपोर्ट निकाल्ने तयारीका साथ काम भइरहेको डा गिरीले जानकारी दिए । सोमबारदेखि प्रयोगशाला पूर्णरुपमा सञ्चालनमा आयो भने एक व्यक्तिको परीक्षणको नतिजा निकाल्न कम्तीमा एक घण्टा लाग्ने भएकाले जनशक्ति थप गर्न सकिए यन्त्रलाई लगातार ७२ घण्टासम्म सञ्चालन गर्न सकिने उनले बताए ।

केन्द्रबाट आएका विज्ञ प्राविधिकले प्रयोगशाला सञ्चालन शुरु गर्ने र संँगै तत्काललाई व्यवस्थापन भएका दुई प्राविधिक जनशक्तिबाट काम चलाइने बताइएको छ । प्रयोगशालाको कामलाई छिटोछरितो बनाउन आवश्यक जनशक्ति व्यवस्थापन गरिने उहाँले बताउनुभयो । सरकारले प्रदेश नं ५ मा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालाका लागि विष्णु रायमाझी, रामबहादुर खड्का र खेमध्वज कार्कीलाई प्राविधिकका रुपमा जिम्मेवारी तोकेको छ ।

दाङ र नेपालगञ्जमा पनि

प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयानुसार प्रदेशमा भैरहवासहित दाङ र नेपालगञ्जमा कोरोना भाइरस ९कोभिड–१९० को प्रयोगशाला स्थापना भएको छ । यस्तै दाङ र नेपालगञ्जमा पनि एक साताभित्र सरकारको निर्णयानुसार कोरोना भाइरसको परीक्षण शुरू हुने भएको छ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य विभाग प्रमुख डा उमाशंकर चौधरीले भैरहवामा प्रयोगशाला सञ्चालन सोमबारसम्म पूर्णरुपले हुने जानकारी दिए । उनले भैरहवाको प्रयोगशाला सञ्चालनमा आएपछि ततकाललाई प्रदेशभरिको नमूना परीक्षणका लागि राजधानी पठाउनुपर्ने बाध्यता अन्त्य हुने बताए ।

सुरुमा यो प्रयोगशाला संचालन भएपछि दाङ र नेपालगञ्जमा पनि छिटट्ै प्रयोगशाला स्थापना गरिने जानकारी दिए । प्रदेश सरकारको निर्णयानुसार दाङको घोराहीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जमा भेरी अस्पतालमा प्रयोगशाला स्थापना गर्ने काम अघि बढेको उनले बताए । नेपालगञ्जमा स्थापना हुने प्रयोगशाला बाँके र बर्दिया जिल्लाका शङ्कास्पद बिरामीको परीक्षण हुने छ ।

भेरी अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि पिसिआर मेशिन जडान गर्ने प्रक्रिया अघि बढेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाप्रकाश थापाले जानकारी दिए । अस्पतालको मूल्याङ्कन समितिको शनिबार बसेको वैठकले बोलपत्र दर्ता गर्ने कम्पनीमध्येबाट छनोट गरी कामको जिम्मा दिइएको समितिका संयोजक डा. बद्रि चापागाईले जानकारी दिए ।

२३ चैत्र २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको