स्कुल पढ्दा ‘माओबादी’ पढें


बाबा म सानै हुदा बित्नु भएकोले घरमा प्रायः माइला दाइ, आमा र म हुन्थेउ । जेठा दाजु (रास बहादुर पुन) इन्डियन आर्मी हुनु भएकोले घरमा कहिलेकाही आउनु हुन्थ्यो । हाङबाङमा एउटा घर गाउँमा अनि अर्को गोठ जस्तो (घर) तल घोला भन्ने ठाउँमा र जग्गा जमिन त्यहि धेरै भएकोले हामी प्राय: तल (घोला) मा बस्थेउ । गाउँको घरमा चाडपर्व बाहेकका दिनमा जादैन्थिउ । स्यानो हुदा नै बाबा बित्नु भएकोले बाबाको माया कस्तो हुन्थ्यो मैले अनुभव सम्म गर्न पाएन । तर बाबा र आमाको माया आमाले भरिपुर्ण बनाएर दिनु हुन्थ्यो । बाबाको मायाको अनि आशीर्वादको कमि मैले कहिल्यै महसुस गरिन ।

घरमा हुदा प्रायः ओल्ल गाउँ पल्लो गाउँका काका, मामा पर्नेहरु आइरहनु हुन्थ्यो । एक दुई जनाको त अझै मलाई नाम पनि याद छ । तर अहिले नाम उल्लेख नगरौं । कसैले आमालाई बहिनी भन्नुहुन्थ्यो, कसैले दिदि अनि कसैले भाउजू । आमाको साइनो अनुसार मैले पनि कसैलाई मामा, कसैलाई काका (काकु) भन्नू पर्थ्यो । उनिहरु आउथे हप्ता दिन बस्थे काम काज सघाउथे र खाना खान्थे, जान्थे । कहिले मकै गोड्दिन्थे, कहिले खर काट्दिन्थे त कहिले घर छाइदिन्थे बढलामा मात्रै एक गाँस खान दिए पुग्थ्यो । एक रात सुत्न दिए पुग्थ्यो । मीठो नमिठो कहिल्यै केही भन्दैन्थे । हामी जे खान्थ्यौं त्यही खान्थे उनिहरुले पनि । उनिहरु आए पछि म खुसी हुन्थे किनकी काम गर्दिन्थे, लामो समय सम्म काम गरिरहनु पर्दैन्थ्यो । मकै गोड्नु पर्‍यो सिंगै हक मेला एकै दिनमा सक्दिन्थे । घर अथवा गोठ छाउनु पर्‍यो भने एकै दिनमा काम सक्दिन्थे ।

साइनोले काका (काकु), मामा परे पनि उनिहरुको बारेमा न मैले जान्ने इच्छा राखे न आमालाई को हुन भनेर नै सोधे । महिनामा प्रायः आइरहने भएकोले एक दिन मैले आमालाई सोधे – आमा यिनिहरु सधै किन हाम्रो घर आउछन ? जवाफमा आमाले भन्नू भयो यिनिहरु तेरो काका (काकु), मामा हुन रिबाङ (रिस्बाङ), मान्दिबाङ (माडिचौर) अनि जं (जंकोट) का हुन । यिनिहरु माओवादी हुन । पहिलो चोटि आमाको मुखबाट ‘माओवादी’ शब्द सुनेपछि म अचम्मित हुँदै फेरि आमालाई सोधे ‘माओवादी’ ?

पहिलेपहिले अरुको मुखमाट माओवादी शब्द सुन्दा खुब डर लाग्थ्यो । कस्तो होलान तिनिहरु ? भुत जस्तो छन कि ? राक्षस जस्तो छन कि ? कस्तो छन ? डरले खुब मुटु काप्थ्यो र त मैले कसैलाई पनि माओवादी कस्तो हुन्छ भनेर कसैलाई सोध्ने आँट गरेन । मैले सोच्थे – माओवादी भनेका बन मान्छे होलान । राक्षस होलान, हेर्दै डर लाग्दा होलान तर आमाको मुखारबिन्दुबाट पहिलो पटक मामा, काका (काकु) पर्नेलाई चिनी सकेपछी भने माओवादी प्रतिको मेरो सोच एकैचोटि नब्बे डिग्रीको कोणमा घुम्यो र खुसिको लहर छायो । त्यसपछी मैले आमालाई भने हाम्रै मामा, काका(काकु)हरु पो हुनुहुदो रैछ त माओवादी त । आमाले मुन्टो हल्लाउनु हुन्थ्यो ।

समयले बित्दै गयो, उमेर बढ्दै गयो, माओवादीको आउजाउ घर-गाउँमा बाक्लिदै गयो । कोहि अन्यायमा परे भने माओवादीले न्याय दिन्छन भन्थे गाउलेले । कसै कहाँ गाह्रो काम परे माओवादी आएर गर्दिन्छन भन्थे । हुन पनि गाउँमा कसैलाई दुख पर्‍यो भने माओवादी आउथे, सघाउथे, जान्थे, कतै झगडा भयो भने माओवादी आउथे, मिलाउथे, जान्थे ।

दिनहरु यसरी बित्दै गए । माओवादीले गाउँमा गरेको काम देखेर म माओवादी प्रती त्यतिकै आकर्सित हुँदै गए । तिनिहरुको आनि बानी, लवाइ, खवाइले मन तान्दै लग्यो । त्यसबिचमा कति संगठनमा सहभागी भैइयो ? कहाँ गैइयो ? के गरियो ? त्यसको लेखा जोखा कतै छैन । सदरमुकाम लिवाङ देखि खाली क्यासेट देखि चिट्ठी चपेटा बोक्ने अनि खबर पुर्‍याउने काम कति पटक गरियो थाहै छैन । गन्ती नै छैन तर पुर्ण रुपले भने माओवादीमा लागेको थिएन ।

घरमा बन्दुक लिएर आउथे , तितेपाते कपडा लगाएर आउथे , खाना बनाइदिनुस भन्थे , सन्चो बिसन्चो हाल खबर सोध्थे खाना खान्थे , जान्थे । मैले त्यो बेला सोच्थे मैले पनि बन्दुक बोक्न पाए ? मैले पनि यस्तो कपडा लगाउन पाए ? त्यति खेर गाउँमा सांसकृतिक कार्यक्रम गर्थे, नाच्थे, नाटक देखाउथे, गित गाउथे, भाषण गर्थे, नाचो हेर्दा आफुलाई नाचौ नाचौ लाग्थ्यो । नाटक हेर्दा माओवादी बनौं बनौं लाग्थ्यो, गित सुन्दा कानका जरा ठाडा हुन्थे, भाषण सुन्दा रगत उम्लेर भुइ भरी पोखिएला झैँ हुन्थ्यो ।

एक दिन मैले आमालाई भने- “आमा” म पनि माओवादी हुन जान्छु । किन हो कुन्नी ? बुझेर या नबुझेर “आमा” त्यो रात निकै रुनु भयो । खाना पनि राम्रो संग खानु भएन । मेरो मन पनि निकै भा………री भएको थियो त्यसपछि मैले आमासंग माओवादी बन्ने अनुमती कहिल्यै मागेन । माडिचौर स्कुलबाट फर्किदा बाटोमा एक दिन हाम्रो गाउँ भन्दा पल्लो पट्टी गाउँको जेठान नाता पर्ने संग भेट भयो । तिनी जेठान माओवादी हुन भन्ने कुरा मलाई राम्रो संग थाहा थियो । मैले घटनाको बेलि बिस्तार जेठानलाई सुनाए – जेठानले पनि निकै सम्झाइ बुझाइ गर्नु भयो ।

आदरणीय पाठक बृन्द तपाईंको गाउँ तिर या तपाईंको ठाउँ तिर माओवादीले कस्तो व्यबहार गर्‍यो ? त्यो मलाई थाहा छैन तर मेरो गाउँ या म बसेको वरिपरि भने माओवादीले न जबर्जस्ती भात मागेर खाए, न जबर्जस्ती अभियानमा लगे, न त जबर्जस्ती ‘माओवादी’ नै बनाए । मलाई पनि थुप्रै पटक माओवादीको अभियानमा बोलाए कतै गए त कतै गएन । न गएको ठाउमा न मलाई भौतिक आक्रमण गरे न त मलाई मानशिक या शारीरिक यातना नै दिए ।

सधै सम्झाइ रहे, बुझाइ रहे । मैले बुझ्दै गए, सम्झिदै गए । एक दिन काकाको (काकु) झोलामा ठुलै किताब देखे । किताबको बाहिर लेखिएको थियो “माओवाद, लेनिनवाद, माक्र्सवाद – जिन्दावाद” । किताबको बोक्रामा लेखिएको लेखिको ठुलो अक्षरले लेखिएको शब्दबाट मैले केही पनि बुझेन । मलाई पढ्ने रहर जाग्यो, बुझ्ने हिम्मत पलायो । काका (काकु) संग किताब माग्दा नपाइएला, नदेलान भन्ने डरले मैले काकाको झोलाबाट किताब चोरे । अनि आफ्नै किताबहरुको बिचमा राखे । स्कुलबाट घर फर्किदा या स्कुल जादा बाटोमा कतै बसेर होस या हिड्दा मैले त्यो किताब पढे । स्कुलको गृहकार्य गर्न छोडेर मैले त्यो किताब पढ्थे । मैले माक्र्सवाद, लेनिनवाद, माओवाद र भौतिकवादलाई बुझेको त्यही किताब पढेर हो ।

धनी र गरिब बिचको खाडल था-पाएको त्यही किताब रटेर हो । समान्ती र शोशकहरुको बिचको दुरि जानेको त्यही किताब पढेर हो । गरि खाने बर्ग र चुसी खाने बर्ग बिचको भिन्नता त्यही किताब घोकेर थाहा पाएको हुँ । मैले त्यो किताब पढेको जति कक्षाको किताब पढेको भए, गृहकार्य गरेको भए म यति खेर कुनै सरकारी जागिरमा काम गरिरहेको हुन्थे हुँला । तर त्यो किताबको शब्द शब्दहरुले मलाई अहिले पनि जिवितै राखेको छ । मेरो अझै पनि रगतमा माओवाद, माक्र्सवाद, लेनिनवाद र भौतिकवाद कुदिरहेकोछ । खास व्यबहारमा उतार्नेहरुले त्यो किताबलाई कसरी बुझे त्यो मलाई थाहा छैन, नत म एउटा किताब पढेकै भरमा म अझै पनि त्यही माओवादको बारे बोल्छु । भौतिकवादको बारे सम्झिन्छु, माक्र्सवाद वारे चिन्तित हुन्छु ।

मैले त्यो किताब काका (काकु) लाई फिर्ता गर्ने हिम्मत राखेन । मैले लगेको छु भनेर भन्ने आँट सम्म गरेन । म जहाँ जान्छु, जता जान्छु, उतै लग्थे । गोठालो जादा डाँडामा गाई बस्तु चराउदा मैले त्यो किताब पढेर बस्थे । चौपायाले कति खेर अरुको बारिमा पसेर बिठाइ गरेको पत्तै पाउदैन्थे अनि साँझ घर फर्किदा आमाको गाली सुन्नु परेको हुन्थ्यो । दाजुको हातको कुटाइ खाएको हुन्थे । एक दिन आमाले मेरो झोला धोइदिने बेला त्यो किताब देख्नु भएछ , र पाना च्यातेर लुकाइ दिनु भएछ । साँझ टुकिमा किताब खोट्ल्दा नभेटेसि त्यो रात “आमा” संग खुब रिसाएको थिए , अर्को दिन आमाले बिहानै किताब ल्याएर दिनु भएको थियो तर बाहिरको माओवाद , माक्र्सवाद , लेनिनवाद लेखिएको बोक्रा च्यातेर फाल्नु भएछ । मैले त्यो किताब अरु किताब संगै बोकेर हिन्थे ।

पाठक बृन्द , समय परिवर्तन हुँदै गयो , उमेर बढ्दै गयो स्कुलमा कक्षा उकाली लाग्दै गैइयो । माओवादी बारे बुझ्दै गैइयो । बुझाउदै गैइयो । कुरो २०५८ सालको हो । म लगायत गाउँको नाताले बदै पर्ने जो अहिले इन्डियन आर्मी छन (नाम :- सुक बहादुर बुढा) अहिलेको नाम सुन्दर बुढा र म माडिचौरमा एस एल सि को तयारी गर्न (मनसराम पुसाइ) को घरमा तल्लो र माथिल्लो घरमा डेरा गरि बसेका थियौं । दस कलाशको टेस्ट परिक्षा बाल उदय माबी माडिचौरबाट पास गरिसकेपछी सदरमुकाम नजाने हिसाबले हामी स्कुलमै पढ्ने निर्णय गर्‍यौं । एस एल सि को तयारीमा जुतेका हामिलाई मिसिडाँडा (कोपल्गाडाँडा) बाट गोस्टिमा आएका आर्मिहरुले घेराबन्दिमा पारे । डेरामै आएर सोधपुछ सहित भौतिक आक्रमण गर्न थाले , शारीरिक यातना दिन थाले , मानशिक पीडा दिन थाले । सुक बहादुर बुढा बदैलाई (जो अहिले इन्डियन आर्मी छन) तिनलाई गाउको माओवादीको नाम सहित फलाना-फलाना माओवादी कहाँ छन भनेर आर्मिले सोधेछन । बदैले डरले “मैले चिन्दैन को हुन ? थाहा छैन भनेछन ” खन गस्तीमा भएको आर्मिले दायाँबायाँ गालामा छाप बस्ने तरिकाले कुटेछन । मारेर माओवादी मारेको भनेर रेडियोमा फुक्दिम्छम भनेछन । हड्कडी लगाएर म भएको ठाउमा लिएर आए । म डरले काम्न थाले । एउटाले कोठा चेक जाँछ गर्दा मेरो किताबको बिचमा “माओवाद – माक्र्सवाद – लेनिनवाद – जिनदावाद” लेखेको किताब भेटाएछ । पढ्न जानेर या नजानेर उसले मलाई सोध्यो के हो ? ( किताब देखाएर) – मैले सजिलै उत्तर दिए सामाजिक बिषको गाइड हो सर ” । जिन्दगीमा पहिलो चोटि झुट बोलेको त्यही दिन थियो मेरो लागि ।

त्यसपछि त्यो आर्मिले त्यो किताबलाई सिस्नो घारी तिर फाल्दियो । बुझेर फाल्यो या नबुझेर थाहा भएन । सुक बहादुर बुढा बदैलाई झै मलाई पनि सोधियो गाउँको फलाना-फलाना माओवादीलाई चिन्छस ? कहाँ छन ? के गर्दैछन ? मैले उत्तर दिए – कहाँ छन ? के गर्दै छन ? हामी यहाँ बस्न थालेको दुई हप्ता भयो तर तिनी नाम गरेको लाई चिन्छु । मैले झुट बोलेन यो पल्ट । रिसले चुर हुँदै एउटाले सोध्यो तिमिहरुको घर एकै गाउँ हैन ? मैले भने — हो । त्यसपछि त किन झुट बोलिस ? एकै ठाउँको मान्छेले , एकै गाउँको माओवादी एउटाले चिन्ने अर्कोले नचिन्ने हुन्छ ? भनेर सुक बहादुर बुढा बदैलाई फेरि दायाँबायाँ गालामा निलदाम बस्ने गरि हान्दियो – त्यो बखत म आफैलाई झुट नबोलेकोले पछुतो लाग्यो ।

त्यसपछि हामिलाई हामिलाई घर पछाडि लगियो । हातमा हड्कडी बाडियो । आँखामा कालो पट्टी बाँडियो । कुकुर बसाइ गराएर पछाडिबाट लात्तीले हाने – हामी दुबै जना प………र सम्म उछ्ट्टिन पुग्यौं । फेरि समाटेर लिए । आँखाको पट्टी खोल्दिए । भित्तामा आडेस लगाउन पठाएर मेसिन गन कक गरि भनियो – भन , मर्नु भन्दा अगाडी कसलाई भेट्न चाहान्छ्स ? सुक बहादुर बुढा बोले कि बोलेन्न अहिले सम्झिन सकिन मैले । तर मैले प्रतिसोधको भावना सहित बोले “मार्ने भए मार्नुस तर एक चोटि आमालाई भेट्न दिनुस” मैले त्यसो भन्नुको कारण थुप्रै छ । पाठक बृन्द अर्को भेटमा आबस्यक परे लेखुला । तर मेसिन गन चलाएन – सायद गोलि हान्न सक्ने आँत भएन । केही छिन पछि त्यही स्कुलमै बिज्ञान पढाउने जितेन्द्र यादब ( जसलाइ हामिले “यादव सर” भनेर बोलाउथेउ ) आउनु भयो । के के कुरा गर्नु भयो कुन्नी ? पछि वहाँ कै रहोबरमा हामिलाई छोडे । अहिले पनि मैले वहाँलाई सम्झिन्छु परदेशमा बसेर , त्यो घटना सम्झिन्छु एक्लिएर । बदै सुक बहादुर बुढाले सम्झिन्छन या सम्झिदैन्न त्यो मलाई था छैन तर म भने पलपल सम्झिरहेको छु ।

पाठक बृन्द त्यसपछि न पढ्ने मन लाग्यो । न केही गर्ने जागर चल्यो । मात्रै मनमा माओवादी हुने अनि बढ्ला लिउने प्रतिसोध जमिरह्यो । मनमा आतंक बढिरह्यो । कतै ढुङ्गा खसेको आवाज सुन्दा पनि बम पड्केको झै लाग्थ्यो । बाटोमा चराचुरुङ्गी कराएको आवाज सुन्दा पनि हेलिकप्टर कराएको झैँ लाग्थ्यो । खोला बगेको आवाजमा पनि गोलि चलेको झैँ सुनिन्थ्यो । कतै आर्मी पुलिस देख्दा पनि जिउदै जलाम झैँ लाग्थ्यो । त्यस्तै -त्यस्तै प्रतिसोधका वाबजुद पनि जसो तसो एस एल सि पास गरियो । उच्च शिक्षाको लागि म नेपालगन्ज गए । त्यहाँ पनि “रोल्पाली” भन्ने बितिकै गलत व्यबहार गर्थे । घर रोल्पा भन्ने बितिकै “माओवादी” को बिल्ला भिराइदिन्थे । रोल्पाली भन्ने बितिकै बोल्न अप्ठ्यारो मान्थे । एक हिसाबले म डिप्रेसन जस्तो मै गएको थिए । उता आर्मिको व्यबहार मानसपटलमा घुमिरह्न्थ्यो त यता साथिभाइको नियत खपी नसक्नु भएको थियो । त्यसै डौरानमा एकजना माओवादी कमरेड भेट भएको थियो । कमरेड लाई रोल्पामा भएको घटना र नेपालगन्जमा आफू प्रती भएको व्यबहार सुनाए । र कमरेड संग मिलेर कोहलपुर नजिकै प्रहरिको गाडी उडाइदियौं । (घटना बिवरण अहिले नभनौं) । त्यसपछि मन अलिक हल्का भयो । मलाई त्यसै कारण पनि कमरेडहरु संग मीठो आत्मियता लाग्छ । प्रगाढ प्रेम लाग्छ । अथाह प्रेम जाग्छ । अथाह प्रेम हुन्छ ।

२२ फाल्गुन २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको