पूर्वसभामुख महराकी पत्नी सीताको नर्भिक अस्पतालमा निधन


कात्तिक १९, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको उपचारका क्रममा निधन भएको छ।

निमोनियापछि उपचारकै क्रममा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान निधन भएको महराका छोरा एटमले जानकारी दिए ।

उनलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । आज बुधबार बिहान ६:२५ बजे उनको निधन भएको हो ।

उनी माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित थिइन् । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो ।

उनलाई स्वास्थ्यमा समस्या देखिएपछि गत कात्तिक १३ गते दाङको गोर्खा अस्पताल भर्ना गरिएको थियो। कात्तिक १४ गते उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो।

को हुन सिता महरा ?

सीता महरा वि.सं. २०१८ साउन १३ गते शुक्रबार बुवा मुक्तबहादुर थापा र आमा खिर्मादेवी थापाको कोखबाट रोल्पाको गजुल धौलेगाउँमा पहिलो सन्तानको रुपमा जन्मिएकी थिइन् ।

महरासँग उनको २०३५ सालमा विवाह भएको थियो । उनका दुई छोरा र दुई छोरी छन् ।

महरा भूमिगत भएपछि तत्कालीन राज्यले धेरैपटक शारिरीक मानसिक यातना दिनुका साथै केही दिन हिरासतमा पनि लिएको थियो।

२०५४ साउन २९ गते राती रोल्पा मेबाङस्थित घरमै आएर नाबालक छोराछोरीलाई घरमा थुनेर गिरप्तार गर्न थालेपछि उनी प्रहरीको घेरा तोड्न सफल भएकी थिइन् । त्यसपछि घरभित्र थुनिएका छोराछोरी पनि घरपछाडिको ढोकाबाट भागेर बाँचेका थिए । त्यहीँ दिनदेखि घर छोडेका महरा परिवार नै पूर्णकालीन कार्यकर्ताको रुपमा जनयुद्धमा सहभागी भएका थिए ।

सामान्य लेखपढ मात्रै गर्न जानेकी सीता महरा तत्कालीन माओवादीको ठूलो जिम्मेवारीमा नरहे पनि कृष्णबहादुर महरालाई नजिकबाट पारिवारिक तथा पार्टी राजनीतिमा पनि सहयोग गरेकी थिइन् ।

१९ कार्तिक २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको