सहिद कामरेड डिल्ली


कक्षा ६ को पहिलो दिन सायद बैशाख १५ गते थियो भर्ना अभियान सकिएको र त्यहि दिन देखि पढाइ सुरु हुने हल्ला चलेको थियो । त्यो दिन बिहानै देखि मेरो अचम्मको व्यबहार देखेर सबै छक्क थिए क्यारे…! स्कुल बिदा भए देखि अथवा चैत १२ गते भन्दा पछाडि पहिलोपटक नुहाएको थिए । नया कपडा, नया चप्पल अनि नया किताब लिएर स्कुल जाने दिन नुहाएर जाने सुर कसेको थिए । त्यो दिन म अलि बिहानै उठेको थिए  । मेरो छुट्टै फुर्ती थियो आज कक्षा ६ को पहिलो दिन अनि स्कुल छिटो पुग्नु थियो । पछाडिको बेन्च अब एक बर्ष कब्जा लिनु थियो र त्यही बेन्चमा सबै एक वर्ष हुने उपलब्धि थन्काउनु थियो ।

नौ बज्दा नबज्दै म स्कुलको लागि हिडे । झन्डै २० मिनेटमा स्कुल पुगियो र घर देखि स्कुल सम्म मलाई केही याद छैन । बाटो भरी त्यही लास्ट बेन्चमा कोहि बस्यो कि भन्ने डर थियो । सरासर कक्षा कोठामा गए र दाँयाबाया नगरी लास्ट बेन्चमा मेरो सारा सपना बिलाए, म हैरान भए, यति आतिए कि दिशा र पिसाब सङ्गै झर्ला जस्तो भयो लास्ट बेन्च त पुरै कब्जा भएछ ।  दुई चार वटा सिट कब्जा मान्छे कोहि थिएन तर दुई दुइटाको दरले चार ठाउँमा किताब राखेर लास्ट बेन्च कब्जा भैसकेको थियो । मेरो सपना कब्जा भएका थिए । उसैत मेरो एक बर्ष कब्जा भएको थियो म रन्थनिए र स्कुलको स्याउ बगैचातिर गएर उफ्रन कराउन मन लाग्यो र योजना बनाए, जो बसेको भए नि आज लफडा गर्ने र चार जना मध्य जो कमजोर छ उसैला त्यहाबाट लखेट्छु र मेरो एक बर्ष फिर्ता ल्याउछु, दुई तीन साथिलाइ भन्छु र उस्तै परे बगैंचामा बोलाएर कुट्छु, अनि जसरी पनि लास्ट बेन्च मेरो बनाउछु।

घन्टी बज्यो धेरै विद्यार्थी आएका थिए म मन नलागी नलागी कक्षा तिर गर कोठो पुरै भरिएको थियो । सबै बेन्च भरी थिए तर लास्ट बेन्चमा डिल्ली मात्रै बसेको थियो । मेरो मनमा अचम्मको तरङ्ग पैदा भयो म लफडा गर्ने मामिलामा कक्षा कोठामा कोहि एक जना भन्दा कम्जोर थिए त्यो थियो डिल्ली मेरो अघिको सपना पनि चकनाचुर भयो ढोकै नेर उभिएको थिए, डिल्ली करायो ओइ बड्डा यता आइज , म मनमा झिनो आस लिएर लास्ट बेन्च पुगे । अब सुरु भयो मेरो कहानी…!

डिल्ली ओइ साले किन ढिला गरिस…., म केही बोलिन, उस्ले भन्यो ,हेर म बिहान ८ बजे आएर चार ठाउँमा मेरै किताब राखेर दोकान गएर बसे आइज दोस्त, अब त र म दुइटा अनि तेरो मेरो सल्लाहमा अरु दुई जना भएर यो बेन्चमा बस्नु पर्छ’ । म त मख्ख परे अनि सोचे साले मेरो संसारमा त मात्रै एउटा असल साथी होस अरु त सबै झुर ।

अब के गरु गरु भयो । मेरो लास्ट बेन्चको सपना पूरा भयो साले त्यो डिल्लिलाइ टोकम कि, चिमोटम कि, उचालेर एक फन्को लगाम कि झै भयो तर केही गरिन ।

‘ल बड्डा अब अरु दुइटा कस्लाइ ल्याउने त यो  बेन्चमा ?’ उस्ले भन्यो एक जना  लाले र अर्को सन्ते, अरे यार कमाल हुने भो ल बोलाउ उनीहरुलाइ त्यसो भा ? उस्ले दुबैलाइ बोलायो तर उनीहरुले हाम्रो बेन्चमा बसे घरमा बाउले कुट्न भनेको कुरा सुनायो सायद त्यो दिन डिल्लिले लास्ट बेन्चमा किताब नराखेको भए पनि कोहि बस्ने थिएन । त्यो हाम्रो लागि नै हुन्थ्यो, त्यो दिन दुइटा मात्रै बसेर दिन बिताइयो

समय मज्जाले जाँदै थियो तर कोर्स कहाँ कसरी पुगेको न मलाई थाहा थियो न डिल्लिलाइ नै । एक दिन दिउँसो डिल्लिले मलाई बगैंचा तिर जाम भन्यो म उसलाई पछ्याउँदै गए । अलि तल गरेर एउटा गोजिबाट सलाइ निकाल्यो अनि अर्कोबाट गोल्ड चुरोट र मलाई देखाउदै भन्यो हेर बड्डा अब यो तान्नु पर्छ । म छक्क परे उसले सल्कायो, ३/४ सर्को तानेर नाख मुख बाट धुवा उडायो । त्यो देखेर मलाई पनि नाखबाट चुरोटको धुवा उडाउन रहर जाग्यो ।

खोइ देन, उसले दिई हाल्यो ।

उस्ले त्यही सल्काएको चुरोट दियो मैले बल गरेर ताने मुटु कलेजो फोक्सो र टाउकोमा पुगे जस्तो भयो मलाइ खोकी लाग्यो । सर्को पर्‍यो हैरान भए, नाखबाट धुवा आएन बरु छट्पटी भो सग्ङै दिसापिसाब झर्ला जस्तो भो मैले नाइ खान्न यार भने उसले सकायो उस्ले निकै आनन्द भए जस्तो गर्‍यो हेर बड्डा यो बिदा ठुलदाइले सिकाए आजभोलि दिनमा ५/६ वटा खान्छु ।

म केही बोलिन, चुपचाप रहे ।

दिनहरु बित्दै गए, डिल्ली मेरो धेरै नजिजको साथी भैसकेको थियो । हामिहरु धेरै समय सङ्गै बिताउने गरिन्थ्यो कक्षा ६ मा दुबैजना विषय लागेर पास भैयो । जे भएनि पास भएको खुसी थियो घरमा पुग्दा डिल्ली संग लागेर म बिगि्रएको कुरा चल्यो र डिल्लीको घरमा पनि मेरो संगतले डिल्ली बिग्रेको कुरा चलेछ तर हामी कसैले गर्दा बिगि्रएको थिएनौ । एकदम मिल्ने साथी थियौ । यदि मेरो साथी डिल्ली र उसको साथि म नभएको भए स्कुल भरीमा हाम्रो कोहि थिएन, हामी एक अर्काको सबथोक थियौ ।

कक्षा ७ पनि त्यसैगरि बिते, ८ पनि सकियो र ९ कक्षाका दिन सुरु भए । यो बेला किशोर अवस्थाले ग्रस्त पारेको थियो डिल्लीको आवाज र मेरो आवाज धोद्रो भएका थिए हाइट पनि बढेको थियो चुरोटको ढोज पनि बढेको थियो डिल्ली अलि बढी लिन्थ्यो । म दिनमा एक बट्टा मात्रै सकाउथे चुरोट किन्ने पैसा डिल्ली म्यानेज गर्थ्यो तर खै कसरी अहिलेसम्म रहस्यमय छ त्यो कुरा !

कक्षा नौको पहिलो दिन उहीँ लास्ट बेन्च, उहीँ बिद्यालय, उहीँ साथी डिल्ली । हामी उसैगरी बसेका थियौ, थोरै फरक थियो, अरु बिध्यालयबाट केही साथि नयाँ थपिएका थिए । १५/२० जना जति अनि एक जना अंग्रेजी सर पनि नया थपिनु भएको थियो । माहोल अलि थोरै फरक थियो तर डिल्ली र मलाई केही मतलब थिएन । एउटा मात्रै तलतल थियो चुरोट !

कतिखेर सर जानुहुन्छ र हामी बगैंचामा गएर एक खिल्ली सकाउन पाइएला जस्तो लाग्थ्यो । पढाइको त्यति धेरै वास्ता नभएनि केही सकारात्मक सोच मनमा थिए तर डिल्लीले कहिलै आफ्नो लागि पढेको हुँ भनेन ।

बाउ आमा कराएर स्कुल आएको नत्र स्कुल आउन मन नलाग्ने कुरा सुनाउथ्यो। तर कसरी किन थाहा छैन मेरो पढाइ अलि सुधार भएको थियो कक्षा नौ को पहिलो परिक्षामा मैले सबै विषय पास गरेको थियो पढ्न जागर पनि चल्न थालेको थालेको थियो लास्ट बेन्चको जागेर  देखेर अगाडिको बेन्चहरु तनावग्रस्त थिए तर डिल्लिलाइ केही मतलब थिएन आफ्नै बेन्चको पनि।

एक्दिन दिउँसो मंसिर महिना थियो । डिल्लिले बगैचामा जाम भन्यो । हुन्छ भन्दै बगैँचा तिर लागियो त्यो दिन उसले चुरोट निकालेन मैले पनि त्यो दिन चुरोट लिएको थिएन । मलाई चुरोटको तलतल लागेको थियो तर उस्ले गोजिबाट एउटा पाना कपिको निकालेर मलाई देखाउदै भन्यो हेर बड्डा यो लगेर मैनालाई दिएर सहयोग गर । केहो यो ? मैले सोधे उस्ले भन्यो लभलेटर !

म फेरि पनि उस्को व्यबहारले छक्क परे । कसरी हिम्मत गरेको होला यस्ले के लेखेछ त ? मैले सोधे भन्न मिल्दैन, त राख नखोलेर बेलुकी घर जाने बेला दिनु खोलेर पढिस भने बिचार गरेस उस्ले धम्की दियो । मैना र मेरो घर जाने बाटो एउटै भएकोले स्कुलबाट फर्कदा दिने निधो गरे । फेरि कक्षा कोठामा गएर बसियो बेलुकी फर्कदा यसले यो लभलेटरमा के लेखेको होला भनेर निकै उत्सुकता भएर आयो जे पर्ला पर्ला भनेर बाटो छेउको जंगलमा गएर खोलेर पढे पढाइमा कम्जोर डिल्ली अक्षरमा त सबैभन्दा राम्रो मानिन्थ्यो झन पहिलो लभ लेटर मिलाइ मिलाइ लेखेको रैछ ।

अरु सबै बिर्से केके लेखेको थियो तर लास्टमा लेखेको सायरी आझै याद छ

औला काटी कलम बनाइ रगतको मसि

तिमिलाइ सम्झी रुने गर्छु एकान्तमा बसि।

डराइ डराइ पढेर सकाए र अलि छिटो हिडेर मैनालाइ भेटेर दिए

के हो यो

डिल्लिले दिएको तलाइ लभ लेटर ल समात उस्ले समाती केही भनिन । म आफ्नो बाटो उ आफ्नो बाटो भोलिपल्ट स्कुल गए डिल्ली आएन पहिलो पिरिएडमै हेड सर आउनु भयो र भन्नू ओइ उठ !

सबैल म तिर हेरे

सुनिनस ! सर फेरि कराउनु भयो

म उठे

खोइ तेरो अर्को लफाङ्गो साथी

आज आएको छैन सर

किन आउथ्यो त फटाहा सरको हातमा एउटा लाकुरिको लठ्ठी पनि थियो

मेरो सातो गैसकेको थियो

ओइ यता आइज सरले बोलाए मेरो टाउको पुरै घुम्यो अब खाइने भो म थरथर कापे र बिस्तारै भिजेको बिरालो झै सरको नजिक गए ।

मैले सोचिसकेको थिए हिजोको लभलेटरको कुरा मैनाले सरलाइ भनी होला त्यसैले सर यसरि आउनु भा आज खाइने भो मलाई दिसापिसाब सङ्गै झर्ला जस्तो भयो । केही बोलिन सरको अगाडी उभिए साला त्यो डिल्लीलाई मेरो सबैभन्दा ठूलो दुश्मन भएको घोषण गरे । साले मलाई फसाएर आफू आज आएन भन्ने कुरा मनमा खेलाउदै थिए । सरले त मेरो गोजि चेक गर्न थाल्नु भयो पाइन्टबाट एउटा गोल्ड चुरोट एउटा सलाइ निकालेर सबैलाई देखाउनु भयो । कसैले डिल्ली र मैले चुरोट खाने गरेको खबर सरलाइ दिए छ । सरले सकेजती कराएर जानू भयो चुरोट र सलाइ पनि लिनु भयो तर अचम्म नपिटेर जानू भयो । नपिटेर गए पनि मेरो केही भएको इज्जत माटोमा मिलाएर जानू भयो । म आफ्नो बेन्चमा फर्के किताब लिएर सरासर निस्के बगैंचामा गएर बसे स्कुल बिदा भए पछि घर जान हिडे बाटोमा मैना पनि भेटिइ । म केही बोलिन सरासर हिडिरहेका थिए उसैले बोलाइ ओइ कमल त चुरोट पनि खान्छस अनि तेरो साथिले पनि ?

म केही बोलिन चुप लागेर हिडे ,

उस्ले फेरि भनी ओइ सुन यो लगेर डिल्लिलाई दिनु र भन्दिनु अब देखि चुरोट नखाने भनेर

ए आम्मा हो उस्ले पनि लभ लेटरको जवाफ फर्काइ छ मैले घरमा गएर सबैभन्दा पहिला त्यही खोलेर पढे लेखिएको धेरै कुरा बिर्से यति मात्रै याद छ उस्ले डिल्लिको प्रस्ताव स्वीकार गर्दै सायरी पनि ….!

माछा बस्ने कर्णालीमा चरी आकाशमा

तिम्रो माया राखेकि छु मनको बाकसमा

उसैगरी पट्याएर राखे भोलि डिल्लिलाइ दिने गरि । भोलि डिल्लिलाइ भेट्न बितिकै दिए र हिजो सरले आएर थर्काएर गएको कुरा उस्ले थापाइसके छ, जिकाउदै भन्यो साले त चुरोट खान्छस र ?

म केही बोलिन मलाई आज कक्षामा  कसरी प्रवेश गर्ने यहि तनाव थियो । हिजोको कुराले मनमा हैरान थिए । डिल्ली चिठी पढ्न बगैंचा तिर लाग्यो । पढेर खुसी हुँदै आयो र भन्यो हेर बड्डा आज म तलाइ भोज खुवाउछु मेरो लभ सफल भो ।

दिउँसो एउटा जोजो चाउचाउ किनेर ल्यायो र खुवायो प्रेम सफल भएको भोज !

उनीहरुको माया निकै गहिरो भयो म एक सच्चा हुलाकी भए तर कहिले नपढेर पुर्‍याइन कक्षा नौ को रिजल्ट आयो म पास भए डिल्ली फेल ।

मलाई, म पास भएको खुसी भन्दा डिल्ली फेल भएको दुख थियो तर डिल्लीलाई पास भन्दा फेल भएकै खुसी भयो किनकी मैना पनि फेल भएकी थिइन ।

उस्लाई प्रेमले धेरै सुधारेको थियो । चुरोट खान छोडेको थियो । पढाइमा थोरै भएपनी ध्यान दिन थालेको थियो । सधै गोजिमा काइयो राखेर हिड्ने गर्थ्यो । मौका पायो कि जुल्फी मिलाइ हाल्थ्यो । मैले पनि चुरोट त छोडी सकेको थिए । सरले कराएपछी कहिलै  खाएको थिएन  ।

अब कक्षा १० को यात्रा सुरुभयो…!

म कक्षा १० मा भर्न भए । डिल्ली नौ मै भर्ना भयो स्कुलमा साथ भए पनि कलासमा साथ छुटेको थियो । डिल्ली बिना निकै खल्लो भएको थियोे । मैले अन्तिम बेन्च छोडेको थिए । बिचतिर सरेको थिए तर डिल्ली कक्षा नौको अन्तिम बेन्च अझै कब्जा गरेको  थियो । उसको लागी त्यही सबथोक थियो । उ मख्ख थियो । म भने एसएलसि तयारी अलि मज्जाले गर्ने भनेर कसिएको थिए । पढाइमा ध्यान मज्जाले गएको थियोे । मन दिएर पढेको थिए । सरहरु पनि म देखि खुसी हुनुहुन्थ्यो । म पनि सर सङ्ग खुसी थिए । धेरै सर सङ्ग आत्मीयता गासिएको थियो । टेस्ट परिक्षा पनि भयो पास भएर एसएलसि थप तयारी गर्न सदरमुकाम लिबाङ गए । लिबाङ गएर ट्युसन पढ्न थाले माओवादी जनयुद्धले गर्दा सदरमुकाम जान केही झमेला भए पनि जसोतसो लिबाङ पुगे । पढाइ राम्रो नै हुँदै थियो।

एउटा कच्ची घरमा सरहरु मिलेर पढाउनु हुदो रैछ । त्यही कलासमा समाबेश भए । मन लागेर पढेको थिए । परिक्षा आयो परिक्षा समाबेश हुन लिबाङ बालकल्याण माबिमा केन्द्र तोकिएको थियो । म केही मनमा उमंग अनि डर लिएर परिक्षा केन्द्र तिर लागे गेटमै आर्मी र प्रहरीको चेकिङ भित्र ढोकानेर गार्ड बस्ने सरको चेकजाँच, त्यसपछि मात्रै  भित्र जान पाइने रैछ । त्यसैगरी सबै विषयको परिक्षा दिएर घर फर्किए । अरु ३०/४० जना साथी पनि थिए फर्कदा तर बाटोमा आउदै गर्दा झोला बोकेर हिडेको डिल्लिलाई देखे साथमा उसको बुवा पनि थिए । उस्ले मेरो परिक्षा कस्तो भयो भनेर सोध्यो मैले राम्रो भएको सुनाए । उ अलि भाबुक थियो । मैले कहाँ जान लाको भनेर सोधे । उस्ले सदरमुकाम जान लाको नागरिकता बनाउ भन्यो र ढिला भएकोले हिड्न लाग्यो र भयो पर्सि औउछु भेटौला ।

मैले हुन्छ भने, उ गयो म पनि आफ्नो बाटो लागे।

तीन दिनपछि डिल्ली मेरो घरमा आयो र लिबाङबाट फर्कदा नगरिकता र पासपोर्ट पनि बनाएको सुनाएको र अर्को महत्त्वपूर्ण कुरा बैशाख २० गते मैनासङ्ग उसको बिहेको कुरा पक्का भएको कुरा सुनाएको र भन्यो हेर बड्डा बाले बिदेश जा भने मैले मैनासङ्ग बिहे गर्दिने भए, जान्छु भने बाउ माग्न गए । उताबाट पनि दिए अब बिहे गर्छु भनेर मख्ख थियो ।

मलाई १९ गते नै आउने  निम्तो दिएर गयो । मैले लौ अग्रीम बधाई भने उ गयो । म घरको काममा लागे २० गते धुमधाम सङ्ग बिहे भयो । १० वटा दमाहा बजाउदै जन्ती अघि लागे एउटा सेतो घोडामा डिल्ली चडेको थियो । निकै मख्ख थियो । बिहेमा ठुलै तामझाम थियो । नहोस पनि कसरी डिल्लिका बाउ पहिले देखिका प्रदान पन्च, त्यसमा पनि डिल्ली एक्लो छोरा गाउको सबैभन्दा ठूलो बिहे गर्दिने हो छोराको भनेर फुर्ती लाउदै हिड्थे बुढा पहिले पनि  ।

बिहे सकियो बिहे भएको १ महिना पछि होला सायद डिल्ली मेरो घरमा आयो भोलि ठूलो गाउको नाइके सङ्ग काठमाडौं जान लाको र नाइकेको चिनेको मान्छेको म्यानपावर भएकोले छिटो भिजा आउने एक हप्तामै उडाउने कुरा सुनायो । बिदेश बाट धेरै पैसा कमाएर ल्याउने कुरा पनि सुनायो ।

हेर बड्डा एसएलसि पास भएपछि खबर गरेस, पास भए भोज खानु पर्छ भन्दै गर्दा मैले त पढ्न सकिन यार बिदेश जानु पर्‍यो भन्यो अलि भाबुक भयो ।

मैले हैट छोड जसरी पनि पैसा कमाउने हो के चिन्ता बिदेशमा झन कमाइ हुन्छ भने पछि हो जस्तै गर्‍यो । भोलि छिटो हिड्नु पर्ने आज धेरैलाइ भेट्न पर्ने छ भन्दै बिदा माग्यो जाने बेला हात मिलाउदै भन्यो सुन फेल भैस भने आइज उतै है ।

मैले हुन्छ भने मन भारी भयो एकमात्र मिल्ने साथी त्यो पनि बिदेश जाने भएपछि म एक्लो थिए । नितान्त एक्लो । कहिले पनि डिल्ली बाहेक अर्को साथि बनाउने कोसिस गरिन साथी भए पनि यति नजिक कोहि थिएन । म निकै भारी भएको थिए । आज उ गयो अलि माथी जाँदै गर्दा मैले भने बड्डा चिठी पठाउनु है ।

हुन्छ भन्दै उ ओझेल पर्‍यो फेरि फर्केर आएर माथीबाट भन्यो भोलि बिहान ६ बजे हो घरबाट निस्कने आइज है माथीसम्म जाम्ला ।

मैले हस भने

जेठ महिनाको बिहानी चरिले काफल पाकेको खबर गाउभरी सुनाउदै थियो । गर्मी महिना भए पनि चिसो सिरेटो चलेको थियो । म उसको घरमा पुगे माहोल सुनसान थियो । सबै चुप बसेका थिए । घरको एकमात्र सन्तान बिदेस जान लागेको उसको आमाको आँखा बुवाको चेहरा र श्रीमतीको भावमा स्पष्ट देखिन्थ्यो । म पुगे पछि बिदाइको तयारी सुरु भयो । नाइके दाइ माथीबाट कराउदै थिए। छिटो आइज अहिले गर्मीमा हिड्न सकिँदैन सितलमै उकालो काट्नु पर्छ हिड्न पनि धेरै हिड्नु पर्थ्यो ६/७ घन्टा हिडेपछी मात्र बस चड्न पाइन्थ्यो ।

आमा बुवाले पालैपालो टीका लाइदिनु भयो । बुबाको गहभरी आँसु थियो तर आमाको आसु भुइ सम्म थियो मैना पनि सुक्कसुक्क गर्दै थिइन म पनि बहकिएको थियो ।

बिदाइ भएर घरबाट हिड्नै लाएको सबैको आखाले मौनता टोड्यो । डिल्ली पनि आँसु पुच्दै निस्कियो । अब ३ वर्ष पछि आउछु भन्दै अगाडि लाग्यो मैले उस्को झोला बोकिदिए बुवा अगाडि त्यसपछि डिल्ली अनि म ।

२०/२५ मिनेटको बाटो हिडेपछी उसको बुवाले हामी यहि बाट फर्कनु पर्छ अब भने । एक छिन बसेर हामी छुटिन थायौ डिल्लिले मलाई अंगालो मार्‍यो बेस्सरी कस्यो । म आँखा बाट खसेर भुइमा पुगे उ हिड्यो नाइके दाइ अघि अघि उ पछि पछि । धेरै पर पुग्दा हेरियो तर उसले एकपटक पनि फर्केर हेरेन । ओझेर पर्‍यो हामी पनि घरमा आयौं ।

दिनभर डिल्ली नै मनमा आयो धेरै सम्झे बेलुकीतिर पसल गएर गोल्ड चुरोट किने सलाइ किने एक सल्काए दुई बर्ष पछि फेरि चुरोट ताने डिल्लीको यादमा नाखैबाट धुवा उडाए ।

साँझ पर्न लागेको थियो पारी साइला दाइको आँगनमा बेलुकी ७ बजेको रेडियो नेपालको समाचार बज्दै थियो । साइला दाइले रेडियो बजाउने एउटा ठुलै स्पिकर जोडेकोले हाम्रो घरमा सजिलै सुनिथ्यो । म पनि त्यही रेडियोमा ध्यान दिएर सामाचार सुन्दै थिए । त्यतिकैमा समाचारमा आयो !

रोल्पा र सल्यान सिमानामा पर्ने जंगलमा माओवादी आतंककारी र साही नेपाली सेना बिच मुडभेट हुदा दुई जना माओवादी आतंककारी मारिएका छन साथै निजहरुबाट विभिन्न काजपत्र र बन्दोबस्तीको समान फेला पारिएको छ ! भोलिपल्ट मैले पढेको स्कुलमा माओवादीहरुले श्रद्धाञ्जली सभाको आयोजना गरेको र सबै जानू पर्ने खबर अयो म पनि त्यतै लागे

ब्यानरमा लेखिएको थियो, ‘महान सहिद कमेड डिल्ली प्रती हार्दिक श्रद्धाञ्जली’

 

२०७७ भाद्र १९,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको