फेरि दुई साता लकडाउन गर्न विज्ञको सुझाव


साउन २०, काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विज्ञहरुले फेरि लकडाउन गर्न सुझाव दिएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले कम्तीमा २ साता लकडाउन गर्न सुझाएका हुन् ।

कोरोना नियन्त्रणका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि ४ महिना लामो लकडाउन गरेको थियो । सरकारले कुनै तयारी बिना साउन ७ गतेबाट लकडाउन खोलेको थियो । लकडाउन खुलेदेखि नै विज्ञहरुले स्थिति भयावह हुने भन्दै चिन्ता व्यक्त गर्दै आइरहेका थिए । लकडाउन खुलेसँगै संक्रमितको संख्या ह्वात्तै बढेको छ भने मृतकको संख्या पनि बढ्दै गइरहेको छ ।

छलफलमा प्रधानमन्त्री ओलीले संक्रमणको गतिलाई रोक्दै शून्यमा पुर्याउनुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन् । संक्रमित सबै व्यक्तिहरुलाई निको बनाएर घर पठाउँदै कोभिडको अन्त्य गर्नुपर्ने उनको भनाई छ । ओलीले सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण गर्न नसकिने बताएका छन् । उनले भने, ‘कोभिड नियन्त्रण सरकारले गर्ने कामले मात्र पुग्दैन, जनतामा चेतना जति बढाउन सकिन्छ कोरोनासँग लड्न त्यति सजिलो हुन्छ’

यसअघि डब्ल्यूएचओको नेपालस्थित कार्यालयले समेत कोरोना संक्रमणको दर उच्च हुन सक्ने भन्दै नेपाललाई छुट्टै अनुरोध गरिसकेको छ । प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि अन्य दलका नेताहरुसँग पनि सुझाव लिएका थिए ।

२०७७ श्रावण २०,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको