अचेल हातले केही गर्न मन लाग्दैन । न घरको गेट खोल्न मन लाग्छ, न घरको ढोका खोल्न मन लाग्छ । पाइखाना जाने आबस्यक भएपनि पाइखानाको ढोका खोल्नै मन लाग्दैन । सार्बजनिक यातायात पनि प्रयोग गर्न मन लाग्दैन । घरका रेलिङहरुमा पनि हात पु-याउन मन लाग्दैन।
हात नमिलाएको त पुरै एक महिना भयो । अभिबादनको रुपमा दुई हात जोडेर नमस्कार गरिन्छ । अफिसका स्टाफ र सहपाठीहरुलाई नजिकै आउनै दिइदैन । नजिक नआउनु भनेर प्वाक्कै भन्न नसकिने । त्यसैले आफै टाढा भइदिन्छु । भर्खरै विकसित भएको यो परिवन्धले मान्छेहरुलाई बडो अजिव बनाएको होला, जसरी म भएको छु । यसो गरिएन भने खैरियत छैन । ज्यानको माया नभएको मान्छे सायदै होला ।
सबै समय ज्यान जोगाउनमै ध्यान जान्छ । यहि कारणले काम गराईमा ढिलो भएको छ । समयमै काम नसकिएकाले अफिसबाट घर आउन ढिलाइ भयो ।
घरको गेट खोल्नु अघि यताउती हेरे कुनै कोरोना नामको भाइरस छ कि भनेर । धन्य कुनै कोरोना देखिएन । ढुक्कका साथ भित्र छिर्नको लागि जब गेटको ढोका खोल्नको लागि हात अगाडी बढाए तब डल्लो न डल्लो, काडै काडा भएको कोरोनालाई झ्याप्पै देखिहाले । दुनियाँको सातो खान सक्नेले मेरो सातो खाएन भनेर भन्यो भने मैले झुट बोलेको ठहर्छ ।
‘कोरोना जी, नमस्कार ।’ हतारहतारमा भय र त्रासको बिचबाट दुई हात जोडेर नमस्कार गरे ।
‘आजभोलिको जमानामा पनि कसले नमस्कार गर्छ ? हात मिलाउने हो । हात मिलाउँ ।’ उसले त हात बढाइहाल्यो ।
हात मिलाउँ शरिरमा भाइरस फैलिहाल्छ । नमिलाउँ कोरोना रिसाउने भय । यसो कुरो मिलाएर भने, ‘हात मिलाउने र अंकमाल गर्नु त बिदेशी संस्कृति हो । तपाईं नेपालीहरुसंग त्यति परिचित नभएकाले थाहा नभएको हुनसक्छ । तपाईलाई थाहा नहुने त कुरै छैन कि बिदेशीहरु समेत आजभोली हाम्रो नमस्कार सिकिसकेको अबस्था छ ।’
‘त्यो त हो ।’ उसले सहमती जनाउँदै फेरि भन्यो, ‘अनि तपाईं किन मलाई कोरोना भनेर बोलाउनु भएको त ?’
‘अनि कसरी बोलाउनु त ?’
‘कोरोना त मेरो बिदेशी नाम हो ।’
‘अनि नेपाली नाम चाहिँ ?’
‘करुणा हो ।’ मुसुक्क हास्यो ।
म पनि खित्त नहासी रहन सकिन ।
‘किन हास्नु भो ?’ उसले सोध्यो ।
‘नाम अलि सुहाउँदो भएन । तपाईंको मनमा कुनै करुणा भाब नै छैन । दुनियाँमा अहिले हजारौं मान्छेको ज्यान लिनु भो । लाखौं मान्छेहरु तपाईंबाट संक्रमित भएका छन् । अर्बौं मान्छे तपाईको नाम लिने बित्तिकै सातो जाने भएको छ । अनि तपाईंको नाम कसरी करुणा हुनसक्छ ? नाम फेर्नुपर्छ ।’ मैले प्रस्ताव राखे ।
‘नेपाली नामै त्यस्तो हुन्छ । अनि मैले के गरुँ ?’
‘जस्तो कि ?’ सोधेँ ।
‘जो एकदमै कंगाल छ उसको नाम धनबहादुर हुन्छ । जो डरछेरुवा छ उसैको नाम बिरबहादुर हुन्छ । जो लोभी छ उसैको नाम दानबहादुर हुन्छ । जो पटमुर्ख हुन्छ उसैको नाम ज्ञानबहादुर हुन्छ । जो पनौती छ उसैको नाम मंगली हुनसक्छ भने मेरो नाम करुणा किन हुनसक्दैन ?’ उसको प्रश्न मिश्रित जवाफ कडै लाग्यो ।
‘ठिक छ नाममा इश्यु छैन । नाम राख्न पाइन्छ ।’ मैले उसलाई सोधेँ, ‘तपाइँको मनमा अलिकती पनि दयामाया छैन है ?’
‘किन ?’ सोध्यो ।
अझै किन रे ? बजाइदिउँ जस्तो नलागेको होइन । बजाएर उसलाई दुख्ने होइन । नत्र दुनियाँले कति बजाइसक्थे । छोयो कि खतम । छुनै हुँदैन । अलिकती सम्हालिएँ ।
‘हजारौं मान्छेहरुलाई घाटमा पु-यायौ । लाखौं मान्छेहरुलाई अस्पताल भर्ना बनाएका छौ । अझै कति जनाको मृत्यु हुने हो ? कति जनालाई अस्पताल भर्ना बनाउने हौ । हाम्रा डाक्टरहरुलाई पनि छोडेनौ । अलिकति पनि मनमा दया पलाएन ?’ स्पष्टताका साथ सोधेँ ।
‘जो चोर उसैको ठूलो स्वर भनेको यहि हो ।’ उसको पनि पारो तातिहालेछ । भन्यो, ‘यो पृथ्वीको सबैभन्दा पापी प्राणी भनेको मान्छे हो । केही नहुदै बढी हल्ला गरिहाल्छ । कुरा बुझ्नु भो ?’
‘ब्यर्थको आरोप लाउन पाइन्छ ?’ मलाई पनि निकै पारो तातिसकेको थियो ।
‘पृथ्वीको सबैभन्दा कान्छो जीव मान्छे हो । जनसंख्याको हिसाबले पनि निकै थोरै । यदपी उसको मुट्ठिमा पृथ्वीको ९९ प्रतिशत भाग छ । ७० प्रतिशत पर्यावरण सकिसक्यो । बाकी ३० प्रतिशत पर्यावरण पनि सकिन्छ । यहि कारण असंख्या जीवजन्तूको बिनास भयो । भगवानको नाममा पशु बलि चढाउने काम पनि मान्छेले गर्छ । आफ्नो जिब्रोको लागि चमेरा, सर्प देखि लिएर भ्यागुतो केही नराख्ने भयो । उसको अन्याय बर्णन गरि साध्य छैन । आफ्नै मान्छेहरुलाई त बमले उडाउनेले अरु प्राणीलाई के बाकी राख्ला ? आफ्नो स्वार्थलाई केन्द्रमा राखेर राजनीति गर्छ । र भन्छ यो राजनिती जनताको लागि हो । उनै जनताको लागि गरेको राजनिती र षडयन्त्रले करोडौं मान्छेहरुको ज्यान गएको छ । भोकमरी उस्तै छ । यति गर्दासम्म पनि मान्छेलाई पुगेको छैन । मैले कति नै मारेको हुँला र ? केही हजार । अहिले मलाई मार्न अहिले ठुल्ठुला बैठक बसिरहेको छ ।’
‘भ्याक्सिनको खोज हुँदैछ । तपाइँलाई नमारी छोडिन्न ।’ आबेशमा आएर भने । मानव हुनुको नाताले आफ्नो बिबेक र अनुसन्धान माथी ठूलो भरोसा थियो ।
‘कति भ्याक्सिन बनाउन सक्नु हुन्छ बनाए हुन्छ । मलाई मारे पनि नयाँ नयाँ रुपमा जन्मिरहनेछु । जस्तै प्लेग, स्पेनिस फ्लू, स्वाइन फ्लूको नाममा पहिले पनि जन्मिएकै हुँ । अहिले कोरोना अर्थात करुणाको रुपमा जन्मिएँ । पछि कुनै रुपमा जन्मिहाल्छु ।’
उसको कुराले भयभीत भएँ ।
‘अब झगडा नगरौं भो । हामी सबै पृथ्वीकै प्राणी हौं । संवाद गरौं । मिलेर बस्नुपर्छ । तपाईंको माग के-के हो कुरा खुलस्त गर्नु प-यो ।’ मैले शान्तिपूर्ण प्रस्ताव अघि सारे ।
‘मेरो पहिलो शर्त सबै मान्छेहरु शाकाहारी बन्नुपर्छ । दोस्रो शर्त भगवानहरुलाई पशु बलि दिने चलन रोक्नुपर्छ, तेस्रो शर्त पृथ्वीमा जति पनि प्राणीहरु छौं सबैको अधिकार बराबर हुनुपर्छ । सबैले स्वातन्त्रपुर्बक बाच्न पाउने अधिकार सुनिश्चित हुनुपर्छ । बनजङ्गल बिनास रोक्नुपर्छ । यसो भयो भने पर्यावरणमा सन्तुलन आउनेछ । पर्यावरणमा सन्तुलन आएपछि मेरो जन्म हुँदैन । मैले जन्म नलिएपछि तपाईंहरुलाई दु:ख हुँदैन ।’ उसले शर्त सहित केही सुझाब अगाडी सा-यो ।
‘तपाइँलाई त चमेराबाट आएको भनिन्छ नि ? अनि तपाईको कनेक्सन कसरी पर्यावरणसंग सम्बन्धित भयो ? के हामीलाई बेकुफ बनाउन खोज्नु भएको हो ?’ मैले कडा प्रतिबाद गर्न थाले ।
‘म चमेराबाट आएको हुँ कि पोर्कबाट । उत्पती हुनलाई कुनै न कुनै माध्यम त चाहिन्छ । जस्तो कि कुनै किरा जन्मिनलाई कुनै चिज कुहिनु पर्छ । चिज कुहिएपछी किरा आफै जन्मिने कुरा हो । मान्छेले पर्यावरण माथि खेल्यो । जसले मलाई चमेराको माध्यमबाट जन्मिनु प-यो । कुरा बुझ्नु भो नि ?’
‘करुणा जी, सम्झौतामा जाऔं । सम्झौता भनेपछि सबैले केही केही त्याग्नुपर्छ । तपाईका अरु सबै माग त ठिकै लाग्यो तर पोर्क मेरो एकदमै मनपसनको भोजन हो । के गरौं त ?’ सोधेँ ।
‘तपाइँ पोर्कको पछि किन लाग्नु हुन्छ ? के पोर्कको प्राण छैन ? उसलाई बाच्ने अधिकार छैन ? पृथ्वीमा उत्पती भएका हरेक प्राणीलाई बराबर बाच्न पाउने अधिकार सुनिश्चित हुनुपर्छ भन्ने अपरिबर्तनिय माग हो । खासमा मान्छे उत्पति कालदेखि नै शाकाहारी हो ।’ जवाफ दियो ।
‘कसरी ठोकुवा गर्नु भो ?’ सोधेँ ।
‘मांसहारी प्राणीका तिखा दाह्राहरु हुन्छन् । कहाँ छ मान्छेको दाह्रा ?’ उसले भन्यो ।
उसको जवाफ मलाई ठिकै लाग्यो । मान्छेले चमेरा नखाएको भए करुणा उर्फ कोरोनाको उत्पती हुने थिएन ।
‘लौ तपाईंको मागमा म सहमति भएँ ।’
मैले हात अगाडी बढाएँ । उसले पनि हात अगाडी बढायो । हाम्रा हातहरु बलिया भएर एकअर्कामा जोडिए । तब मलाई याद भयो कि हात मिलायो भने कोरोना सर्छ । झसङ्ग भएर हातमा हेर्न पुगे । नभन्दै मेरो हातमा सरिसकेको थियो । सातो उडेकाले ठूलो स्वरले चिच्याएँ ।
‘के भो ?’ श्रीमतीले बत्ती बाल्दै सोधे ।
हातमा हेरे । केही छैन । उल्टाइपल्टाई हेरे । केही भए मरि जाम । बच्चाहरु सुतिरहेका थिए ।
‘हैट ! कोरोनाले सपनामा पनि बाकी नराख्ने भो ।’ पसिना पुछ्दै भने ।
श्रीमतीले निराश भएर भने, आज संक्रमित संख्या दस लाख पुगे ।
प्रतिक्रिया दिनुहोस