चैत २२, काठमाडौं । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।
कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पहिलो चरणअन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ । चैत २५ पछि लकडाउन के गर्ने भन्नेबारे भने सरकारले कुनै निर्णय गरेको छैन ।
सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले यसबारे आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय हुने जानकारी दिए ।
यस्तै कैलाली कञ्चनपुर र बाग्लुंगमा नयाँ संक्रमण देखा परेकोले ति क्षेत्रमा सम्भाव्य ब्यक्तिको परीक्षण गर्ने र शंकामा भएका ब्यक्तिलाई पुन परीक्षण गर्ने योजना रहेको बताए । ती क्षेत्रमा र्यापिड परिक्षण गर्ने उनले बताए ।
मन्त्रिपरिषदको बैठकले स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताका साथै स्वास्थ्य उपकरण छिटो उपलब्ध गराउने, बाधा उत्पन्न गर्ने बाधा पुर्याउनेलाई कारबाही गर्ने, उपचारमा संलग्न चिकित्सकको सुरक्षा प्रत्याभूति गर्ने जस्ता निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस