सहरको लकडाउनमा ‘गाउँको सम्झना’


माक्र्सवादी लेखक समालोचक अशोक सुवेदीको सामाजिक सञ्जाल हिजोआज गाउँका तस्बिरले भरिएका छन् । रामेछापको मन्थलीनजिकै रहेको सिर्जनानगरतिरका तस्बिर देख्दा गाउँको तिर्सना मेटिन्छ । उनले खिचेर पोस्ट गरेका सुकुमार र ‘भर्जिन’ प्राकृतिक दृश्य, ग्रामीण श्रमशील जनजीवन, रहनसहन र ग्रामीण जीवनशैलीले आफ्नै बाल्यकाल सम्झाउँछन् । अझ उनका शारीरिक र मानसिक श्रमसँग गाँसिएका तस्बिरहरूले मलाई असाध्यै लोभ्याउँछन् । म प्रायः गाउँका तस्बिर ‘सेभ’ गरेर राख्छु ।

मेरा स्थानीय मित्र शशी डङ्गोल वेत्रावती बजार नाममा फेसबुक पेज चलाउँछन् । उनी गाउँका अनेकौँ तस्बिर त्यहाँ पोस्ट गर्छन् । डाँडा, पाखा र पखेराका तस्बिर मात्र होइन, उनी वेत्रावतीआसपासका मानिसहरूका दैनिकीलाई क्यामेरामा कैद गर्छन् र सामाजिक सञ्जालमा पोस्ट गर्छन् । यसपटक भाइरल बन्दाको मास्कवाला तस्बिर उनैले खिचेका हुन् । डङ्गोलले फलाखुको तस्बिर पोस्ट गर्दा त्यही खोलामा पौडी खेलेको सम्झना आउँछ । गाडीले दिएको ट्युबमा चढेर पानीमा तैरिएको सम्झना आउँछ ।

सहरको बन्द कोठामा कोरोना कहर खेपिरहँदा गाउँलाई बहुत सम्झिन मन लाग्ने रहेछ । प्रिय गाउँलाई मटुमै सजाऊँजस्तो आदर्शभाव पनि आउने रहेछ ।

सबैभन्दा पहिले गाउँकै कुरा गरौँ । गाउँ बिर्सनेको कुरा गरौँ । गाउँलाई सम्झिनेको कुरा गरौँ ।

बजारको विकास हुँदै जाँदा गाउँ छोड्ने लर्को नै लाग्यो । गाउँका हुनेखाने सहर पसे । मध्यमखालका मान्छे तराई झरे । पहाडका गाउँहरू उराठ पखेरामा फेरिए । जहाँ कोइली पनि विरहको भाका मात्र सुसेल्छ । गाउँका पखेरामा फुलेको गुराँस टिपी लगाउने पहाडी युवतीहरू छैनन् । मेलापात गर्ने भाउजूहरू छैनन् । दुवाली थुनेर माछा मार्ने हामीजस्ता केटाहरू छैनौँ । रत्यौलीको भाका हाल्ने गाउँको आर्गानिक म्युजिक टिम अरबमा ऊँट चराउँदैछ । फेसबुकबाट नेतालाई गाली पनि गर्दै होला ।

बूढा बा घरि चुहिने छानु हेर्छन्, घरि छोराछोरी आउँछन् कि भनेर बाटो हेर्छन् । गाउँ छोडेर जानेहरू गाउँलाई पाखे देख्छन् । पाउरोटी खान सिकाउँछन् । कहिलेकहीँ गाउँ आउने अरबे लाहुरेकी श्रीमती सिमीको झालमा बसेर टिकटक बनाउनमै समय खेर फाल्छे । उसलाई दुई बोट फर्सी, एक गरो साग र एकदुई बोट सिमी रोप्ने जाँगर छैन । बूढी सासू दमले थलिएकी छिन् । बुहारीचाहिँ टिकटक बनाउन मस्त !
यस्तै छ गाउँको तस्बिर । बेचेनी बनाउने खालको ।

कोरोनाले कतिपय सुविधाभोगीहरूलाई गाउँ पु¥याएको छ । नेकपा एमालेको सम्पर्क मञ्चमा बसेको ठुटे नेता गाउँमा पुगेर काँक्रोको अचार खाएको तस्बिर ट्विटरमा पोस्ट गर्दैछ । अर्को पत्रकार छ जो सहरमा मनोरञ्जन पत्रकारिता गथ्र्याे । ऊ गाउँकी युवतीको तस्बिर राखेर लेख्छ । झन्डै केकी अधिकारीजस्ती लाग्ने बैनीसँग मिल्ने तस्बिर ।

धन्न यूट्युबेहरूचाहिँ मेरो गाउँमा पुगेका छैनन् । ती पुग्दा हुन् त मायालु झगडा गरिरहने साइँला दाइको घरमा पुगेर भाउजूलाई रुन लगाउँदा हुन् र भाइरल ‘कन्टेन्ट’ दिँदा हुन् । साइँली आउँथिन् होला रुँदै मिडियामा र भन्थिन् होला– अब सम्बन्धविच्छेद गर्छु ।

पच्चीस वर्षसम्म जिन्दगीमा कहिले झगडा, कहिले खुसी, कहिले दुःखी हुँदै बाँचेका साइँलासाइँली दुवै आपसमा प्रेम गर्छन् । उनीहरूको सम्बन्धमा घनिष्ठता छ । चित्त नबुझेको कुरा उनीहरू आपसमा भन्न सक्छन् जुन सामान्य कुराकानीभन्दा अलि चर्को सुनिन्छ । यसलाई तपाईं झगडा पनि भन्न सक्नुहुन्छ । यस्तो बेला यूट्युबे छिरे भने साइँलाको जिन्दगी त चौपट्टै हुन्छ, बरु यस्तो पापी पत्रकारितालाई कोरोना लागोस् ।
सहरको लकडाउन झ्याउलाग्दो छ । सुत्यो, उठ्यो, फेरी सुत्यो । खासै सिर्जनात्मक बनाउन सकेको छैन । कहिलेकहीँ यस्तै केही लेखिन्छ । चिया खाइन्छ । हल्का किताब पढिन्छ, त्यही हो । यो डायरीचाहिँ आजको गाउँको कथा हो ।

२२ चैत्र २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको