प्यूठानमा गाउँपालिकाले बनायो विपन्न परिवारका लागि नमूना बस्ती निर्माण

फाइल तस्बिर

फागुन २१, प्यूठान । प्यूठानमा विपन्न परिवारका लागि एकीकृत बस्ती निर्माण गरिएको छ ।

नौवहिनी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विपन्न परिवारको आवासका लागि बस्ती निर्माण गरेको हो । वडा नं ५ स्थित गाबैमा बस्ती निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष शिवराज रिजालले बताउनुभयो । गाउँपालिकाले विपन्न परिवार बढी भएको गाउँलाई छनोट गरी बस्ती निर्माण गरेको हो । रु ५० लाख लगानीमा एकीकृत बस्ती निर्माण गरिएको हो ।

त्यस्तै गाउँपालिकाबाट रु ७६ लाखभन्दा बढी खर्च भएको र स्थानीयको समेत जनश्रमदान रहेको अध्यक्ष रिजालले जानकारी दिनुभयो । एउटा घर बराबर रु पाँच लाख खर्च भएको रिजाल बताउनुहुन्छ । अबको एक महिनाभित्रमा लक्षित समुदायलाई घर हस्तान्तरण गरिने गाउँपालिकाका योजना शाखा प्रमुख अरविन्द वर्माले बताउनुभयो ।

बस्तीमा दुई कोठे घरसँगै शौचालय पनि निर्माण गरिएको छ । गाबैमा निर्माण गरिएका घर पाउनेमा १५ दलित परिवार र एक जनजाति परिवार रहेका गाउँपालिका अध्यक्ष रिजालले बताउनुभयो । स्थानीय यमबहादुर विकले दिएको आठ रोपनी जग्गामा १६ घर निर्माण गरिएको हो ।गाबैमा २२ विपन्न परिवार रहेका छन् ।

त्यसमध्ये १६ परिवारका लागि घर निर्माणकार्य अन्तिम चरणमा पुगेको र अन्य घरसमेत चालू आर्थिक वर्षमा बनाउने योजनामा रहेको अध्यक्ष रिजालले बताउनुभयो ।

तल पहिरो माथि घर भई पहिराको उच्च जोखिममा रहेका दलितत परिवारका लागि नयाँ घर गाउँपालिकाले निर्माण गरिदिएपछि लक्षित परिवार खुशी भएका एकीकृत बस्ती निर्माण उपभोक्ता समितिका अध्यक्ष्य यमबहादुर थापाले बताउनुभयो । रासस

२१ फाल्गुन २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको