कोरोना भाइरस: डाक्टरका यी १४ तथ्यले बढाउनेछ तपाईंको हौसला


काठमाडौं । चीनबाट शुरू भएको भनिएको कोरोना भाइरसको संक्रमण ठूल्ठूला विकसित देशहरूमा समेत फैलिन थालेको छ । चीन हुँदै संक्रमण युरोप–अमेरिकासम्म पुगेको छ ।

संक्रमणबाट बच्न नेपाल सरकारले समेत पूर्व सावधानी अपनाइरहेको छ । विमानस्थलदेखि अन्तर्रा्ष्ट्रिय सीमानाकासम्म चेकजाँचको प्रबन्ध मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारी तयारी सँगसँगै सर्वसाधारण नेपालीले समेत कोरोना संक्रमणको त्रासबाट मुक्त हुन मानसिक तयारी गर्नुपर्ने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेको सुझाव छ ।

सामाजिक सञ्जाल फेसबूकमा सर्वसाधारणका लागि केही तथ्य राख्दै डा. पाण्डेले आत्तिनुपर्ने अवस्था नरहेको जनाएका छन् ।

यस्ता छन् डा. पाण्डेले संकलन गरेका तथ्य –

अहिले कोरोना भाइरसको संक्रमणले हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ । कोरोना संक्रमण संसारभर फैलिँदो छ भने नेपाल त्यसको अपवाद रहन सक्दैन । कोरोना भाइरस नेपालमा फैलियो भने मनोसामाजिक तथा मनोवैज्ञानिक कारणले बढी क्षति हुन्छ । तसर्थ हामीहरू मानसिक रुपमा तयार हुनुपर्दछ, मनोबल उच्च राख्नुपर्छ ।

– कोरोना कमजोर भाइरस हो । यसको संक्रमण सबैलाई हुँदैन । दीर्घ रोगी, वृद्धवृद्धा तथा अन्य रोगसँग लड्ने क्षमता नभएका केही व्यक्तिलाई मात्र यो संक्रमण सर्न सक्छ ।

– कोरोना सर्‍यो भनेपनि आत्तिनु पर्दैन । यसको मृत्युदर निकै कम छ । १०० जनालाई संक्रमण भयो भने २ देखि ३ जनाको मात्र मृत्यु हुनसक्छ । सामान्य रुघाखोकीले विश्वमा प्रत्येक वर्ष ४,५०,००० व्यक्तिको मृत्यु हुन्छ भन्ने तथ्य बिर्सनु हुँदैन ।

– कोरोना संक्रमणको औषधि छैन । तसर्थ उपचारमा धेरै खर्च हुँदैन । ज्वरो आए पारासिटामोल खाने, खोकी र सास फेर्न सजिलो हुने औषधि खाने, मनतातो झोलिलो खाना खाइरहने, आराम गर्ने, गाह्रो भएमात्र अस्पताल जाने ।

– कोरोना संक्रमण भएको १ व्यक्तिले औसत ३ देखि ६ जनालाई मात्र रोग सार्न सक्छ । तसर्थ कसैलाई संक्रमण भयो भन्दैमा सबै आत्तिनु पर्दैन ।

– कोरोनाविरुद्ध मानसिक रुपमा तयार हुनको लागि, भोलि शहर लक डाउन भयो भने सुरक्षित हुनको लागि २ (३ महिनाको जोहो गर्दा राम्रो हुन्छ । जस्तैः नियमित खाने औषधि, अत्यावश्यक खाद्य पदार्थ, प्राथमिक उपचारका औषधि जस्तै – सिटामोल, रुघाखोकीको औषधि ।

– शहरमा संक्रमण तीब्र देखिन थालेमा गाउँ जानु उत्तम बिकल्प हो । गाउँमा कोरोना संक्रमण फैलिने सम्भावना एकदम न्यून हुन्छ ।

– विश्वासिलो मिडियाको मात्र समाचार पढ्ने, सुन्ने, विश्वास गर्ने बानी बसाल्दा अनावश्यक मानसिक दबाब झेल्नु पर्दैन ।

– बजारमा मास्कको अभाव छ । कोरोना संक्रमण रोक्नको लागि मास्कको भूमिका निकै कम छ । बराबर हात धुने, सफा रहने गर्‍यो भने कोरोना संक्रमण सर्दैन । तसर्थ मास्क नपाएपनि डर मान्नु पर्दैन । मास्कभन्दा पंजा महत्त्वपूर्ण छ ।

– बजारमा ह्याण्ड स्यानिटाइजरको अभाव भएमा स्प्रिट–कपास, साबुनपानी आदिको प्रयोग गर्न सकिन्छ ।

– कोरोना संक्रमण फैलियो भने चिकित्सक, स्वास्थ्यकर्मी, सेना, प्रहरी लगायतले अस्पताल, चौर (टेन्ट) आदिमा राखेर उपचार गर्छन् । विश्व स्वास्थ्य संघ, विदेशी स्वयंसेवी संस्था, विदेशी राष्ट्र लगायत धेरैको हामीले सहयोग गर्नेछन् ।

– कोरोना भाइरसको लागि गर्मी प्रतिकूल मौसम हो । हामीकहाँ गर्मी शुरू भएको छ । तसर्थ जाडोमा जस्तो छिटो फैलिने सम्भावना एकदम कम छ ।

– कोरोना भाइरसविरुद्ध खोप, औषधि आदिको अनुसन्धान भइरहेको छ ।

– क्यान्सरलाई त आत्मबलले जित्न सकिन्छ भने यो केवल रुघा हो । तसर्थ डराउनु पर्दैन ।

– यसको रोकथाम हाम्रो हातमा छ । भीडभाडमा नजाने, हात धोइरहने, विना काम घर बाहिर नजाने गर्दा ९०% रोकथाम हुन्छ ।

२१ फाल्गुन २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको