प्रधानमन्त्रीको शल्यक्रिया जारी, ४ बजेसम्ममा सकिने

फाइल तस्बिर

फागुन २१, काठमाडौं । दोस्रो पटकको मिर्गौला प्रत्यारोपण गर्न अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया जारी छ ।

बिहान १० बजे शल्यक्रियाका लागि ‘अपरेसन थिएटर’ लगिएका प्रधानमन्त्री ओलीको आज अपरान्ह ४ बजेसम्ममा शल्यक्रिया सकिने शल्यक्रियामा संलग्न चिकित्सकहरुलाई उदृत गर्दै प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए ।

अस्पतालले बिहान ९ बजेदेखि शल्यक्रिया थाल्ने बताएपनि शल्यक्रिया अघि गरिएको सम्पूर्ण स्वास्थ्य परीक्षणको रिपोर्ट केहिढिलामात्र आएकाले १० बजेमात्र अपरेसन थिएटरमा लगिएको त्रिवि शिक्षण अस्पतालका निर्देशक डा प्रेम खड्गाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीलाई झापा चारखालीकी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी छन् । उनलाई पनि आज प्रधानमन्त्री ओली भन्दा केहिबेर अघिमात्र अपरेसन थिएटरमा लगिएको थियो ।

१२ वर्षअघि भारतमा पहिलो पटक ओलीले मिर्गौला प्रत्यारोपण गराएका थिए । यससँगै ओलीको शरीरमा प्रत्यारोपण गरिएको मिर्गौलासहित तीन मिर्गौला थिए । आज मिर्गौला प्रत्यारोपण गरिएसँगै उनको शरीरमा चार वटा मिर्गौला हुनेछ ।

अहिले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि शल्यक्रिया भइरहेको त्रिवि शिक्षण अस्पताल परिसरमा ओलीका शुभचिन्तक, नेकपाका नेता तथा कार्यकर्तालगायतको उपस्थिति रहेको छ ।

२०७६ फाल्गुन २१,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको