कात्तिक १८, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शितल निवास पुगेका छन् । मंगलबार साँझ गौतम शितल निवास पुगेका हुन् ।
गौतमलाई राष्ट्रपति भण्डारीले नै भेट्न बोलाएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले बताए । भेटमा राष्ट्रपति भण्डारीले पार्टी एकता जोगाउन भूमिका खेल्न आग्रह गरेकी छन् ।
‘पहिले पनि पार्टी एकता जोगाउन भूमिका खेल्दै आउनुभएको छ । यसपटक पनि लाग्नुपर्यो’ राष्ट्रपतिले गौतमलाई गरेको आग्रहबारे सुवेदीले भने ।
जवाफमा उपाध्यक्ष गौतमले आफूले सक्दो पहल गर्ने बताए । राष्ट्रपति भण्डारीसँग आधा घण्टा सम्वाद गरी गौतम फर्किएका छन् ।
नेकपाभित्र विवाद चर्किएका बेला गौतम शितल निवास पुग्नु अर्थपूर्ण मानिएको छ । आइतबार उपाध्यक्ष गौतम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा भएको भेलामा पनि सहभागी भएका थिए । नौ सदस्यीय सचिवालयमा गौतम निर्णायक अवस्थामा छन् । गौतम जता लाग्यो, उतै बहुमत पुग्छ ।
अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको गठबन्धनमा गौतम सहभागी हुँदै आएका छन् । गएको असार १० देखि बसेको स्थायी कमिटी बैठकमा त गौतमले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेका थिए । तर, पछि गौतम आफ्नो अडानबाट पछि हटेका थिए ।
प्रतिक्रिया दिनुहोस