गजल
तिमीसँगै जिउने मन छ माली बनेर
फूल, अक्षता, टीका राख्ने थाली बनेर
नजरबाट टाढा हुन दिन्न तिमीलाई
मन मन्दिरमा बस्छु बरु पाली बनेर
तिमीमा नै अडिरहुन् नजरहरु मेरा
मनको पहिरो थाम्छु ढुंगे जाली बनेर
मेरो एउटै चाहनाको सुगन्धित फूल तिमी
तिम्रै रक्षा गरिरहुँला डाली बनेर
राजी छु म मेरो आयू थप्न तिमीलाई
त्यो दिलभित्रै बस्छु खेतको आली बनेर
तिम्रा मनका गह्राहरु हराभरा पार्न
आउने छु म हलोसँगै फाली बनेर
मायागर्छु तिमीलाई भन्न पनि सक्तिनँ म
तिम्रो जितमा रम्छु प्रिय ताली बनेर
O O O
गजल
लुछाचुडी गर्नेमाझ फस्दिनँ भो म त
आफ्नै देशलाई भ्रष्ट बनी डस्दिनँ भो म त
झुक्ने हो कि सगरमाथा सुक्ने हो कि कोसी
आँसु लुकाई ओठमा हाँसो घस्दिनँ भो म त
टीका राम्रो यै माटोको सप्तरंगीभन्दा
सृङ्गारले ठाँटिएर बस्दिनँ भो म त
आजै रोप्छु पखेरोमा चोखो प्रीत मैले
डालीबाट शीत बनी खस्दिनँ भो म त
मर्नै परे मर्छु बरु स्वदेशका लागि
आफू ज्यून तिम्रो गला कस्दिनँ भो म त ।
कविता उपाध्याय, रोल्पा
प्रतिक्रिया दिनुहोस