भदौ १८, काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार थप ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौंका ३ सय ५७, ललितपुरका ४६ जना र भक्तपुरका ४२ जना छन् । उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।
यसैगरी देशभर १२ सय २८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
यो सहित संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
बुधबार मात्रै ११ सय २० जनामा संक्रमण देखिएको थियो । बिहीबार नयाँ संक्रमितमा ३९४ महिला र ८३४ पुरुष छन् ।
१८ हजार ४१३ कोरोनाका सक्रिय संक्रमित छन् ।
यस्तै मन्त्रालयका अनुसार १० हजार ६७१ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ७४२ छन्। क्वारेन्टाइनमा ६ हजार ७४९ जना रहेका छन्।
मन्त्रालयका अनुसार २४ घन्टामा १३ हजार ४१३ पीसीआर परीक्षण भएका छन्।
पछिल्लो २४ घण्टामा ९१७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या २४ हजार २०७ पुगेको छ।
प्रतिक्रिया दिनुहोस