साउन १९, काठमाडौं । मुलुकभर कोरोना जोखिम बढ्नुमा आमसर्वसाधारणको हेलचेक्र्याइँलाई नै प्रमुख कारक मानिएको छ । लकडाउन अन्त्य भएसँगै देखिएको भीडभाड र सचेतनाका सामान्यभन्दा सामान्य उपाय पनि नअपनाउँदा जोखिम बढ्दो क्रममा रहेको जनस्वास्थ्यविद्हरू बताउँछन् ।
सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरे पनि कार्यान्वयनमा आउन सकेको छैन । दैनिक सभा, बैठकसमेत हुने गरेका छन् । होटेल, किराना पसल, सुपरमार्केट, वित्तीय संस्था, बैंकलगायतमा भीड लाग्न थालेको छ ।
यस्तै, सार्वजनिक सवारी साधनमा पनि भौतिक दूरी कायम गराउन निकै कठिनाइ देखिएको छ । सार्वजनिक सवारी साधनमा यात्रा गर्नेहरूको संख्या अभिलेख नगरिँदा कन्ट्याक्ट ट्रेसिङ गर्न अप्ठेरो हुने देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तीमा पनि दुई मिटर भौतिक दुरी कायम गर्न भने पनि व्यवहारतः त्यसो हुन सकेको छैन । स्वास्थ्य अधिकारीहरू आत्मानुशासनबाट कोरोनालाई परास्त गर्न सकिने बताउँछन् ।
स्वास्थ्य मन्त्रालयले १२ वर्षभन्दा कम र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सकेसम्म बाहिर आवतजावत नगर्न भनेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनावश्यक रूपमा बाहिर ननिस्किन आग्रह गरे । पछिल्ला दिनमा सहरी क्षेत्रमा मानिसको आवतजावत बाक्लिँदै गएको छ । बाहिर निस्किँदा र काम सकिँदा अति आवश्यक मानिएका मास्क, सेनिटाइजर, साबुनपानीको समेत उचित प्रयोग गर्न जनस्वास्थ्य विज्ञहरूले सुझाव दिँदै आएका छन् । यो समाचार राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् |
प्रतिक्रिया दिनुहोस