बमजनविरूद्ध सर्लाही अदालतमा बाल यौन शोषणको आरोपमा मुद्दा दर्ता


असार १९, सर्लाही — रामबहादुर बम्जनविरुद्ध सर्लाहीस्थित जिल्ला अदालतमा बाल यौन शोषणको आरोपमा मुद्दा दर्ता भएको छ । बम्जनविरुद्ध रौतहटकी किशोरीलाई बलात्कार गरेको प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा बिहीबार जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर गरिएको हो।

मुद्दामा कसुरदार बम्जनलाई १२ देखि १४ वर्षसम्म सजायको माग दाबी गरिएको छ । बम्जनलाई लुकाउने छिपाउने कार्यमा संलग्न उनका दुई मतियार ज्ञानकुमार बम्जन र जेवी गुरङ भनिने जीतबहादुर तामाङलाई पनि कसुरदारको आधा सजायको माग दाबी गरिएको छ ।

सर्लाहीको पत्थरकोटस्थित बम्जनको आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै तपस्वी रामबहादुर बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा परेको हो । २०७३ साल साउन २० गते राति आश्रमस्थलमै आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको र पीडितलाई डर धम्की देखाइएको दायर गरिएको मुद्दामा उल्लेख छ । घटना घटेको बेला पीडित बालिका १५ वर्षकी मात्र थिइन् । उनी १८ वर्षकी भएपछि २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

प्रहरीले अदालतको अनुमति लिएर प्रतिवादी बम्जनसहित उनका दुई मतियारलाई पक्राउ गर्न भनिएपनि समयमा प्रहरीले प्रतिवादीलाई पक्राउ गर्न सकेनन् । पक्राउको अन्तिम म्याद भएपछि जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा दायर गरेको हो ।

पीडितलाई क्षतिपूर्ति भराउने माग दाबीसहित अभियोग पत्र पनि दर्ता गराइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । मुद्दा दायर भएपनि प्रतिवादी बम्जनसहित उनका दुई मतियार फरार छन् ।

२०७७ असार १९,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको