प्रवासीको माग


रेगिस्तानको बन्द यो
कोठभित्रबाट,
छटपटाउँदै /आक्रोसित हुँदै
गुम्सिए जस्तै भबिस्यका
आँखिझ्यालहरुबाट
सस्तो कौडिको मुल्यमा
बेचिएका नागरिकले
शासकलाई प्रश्न गर्छन्
सरकार ! हामि मर्नै परे
हाम्रै माटोमा आँगनमा
मर्न/अलाप हुन चाहन्छौं ।

भयानक कहरभित्र
दायस्पोरिय अनुत्तरित
रहरहरु बाँधिएका छन्,
पोखिएजस्तै भबिस्य
अनि उद्देलित भाबनाहरु
बेलगम भै उछिट्टिएर
आशाबादी प्रतिशोधको
उद्द्घोष फुकिरहेका छन् ।
रेगिस्तानका यी कोठाभित्र
पलपल देशभक्तिहरु
उठिरहेका दुखिरहेका छन् ।

सुस्केरा भित्रका दर्दनाक
बिबशता, शिथिलता अनि
वास्तविकता भित्र रुमलिएको
चहर्याउदो अत्याउदो खिन्नता
भाबुकता भित्रका अनुत्तरित
दर्द र उकुसमुकुस अनि
गहिरो मौनता भित्रबाट,
शासक/सरकारलाई
पुनः प्रश्न हाम्रो यो छ कि
सरकार ! हामि मर्नै परे
हाम्रै माटोमा/आँगनमा
मर्छौ, भन्ने के अपराध हो ?

साबुन पानीले हात धोएपनि
नाक मुख र आँखामा
भलै हातले नछुएपनि
माक्स हेण्डग्लोब्सहरु लगाए पनि
मनको हुटहुटी मेचिमहाकालिमा
आत्मका स्मृतिहरु खेतआलिमा
बुढा बाउआमा, छोराछोरी सङ्गिनी
पाटिपौवा मठमन्दिर र लेखबेशिहरु
झरना कुवा, काली र मेचिहरु
यादले तैराईरहन्छन्, गहिराईरहन्छन् ।

महासङ्कटको झङ्कार/बिचबाट
सरकार, प्रबासिहरुको यो माग छ,
हामी हाम्रै देश फर्कन चाहन्छौं
पौरख गर्नै परेपनी,मर्नै परे पनि,
हामी हाम्रै माटोमा/आँगनमा
मर्न/अलाप हुन चाहन्छौं ।

प्रबेश शर्मा
बाग्लुङ, हाल: युएई

२१ बैशाख २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको