हाम्रो चिन्ता नगर्नु, हामी युएईमै सुरक्षित छौँ !


हामी यहाँ एकदम कुशल छौँ । तपाइँहरु सम्पुर्ण देशबासीलाई स्वास्थ्यको सोही कामना गर्दछौँ । यो समय आलोचनाको समय होइन । यो समय राजनितीक दाउँपेचको मौसम होइन । नागरिक, सरकार र प्रतिपक्ष मिलेर एकजुट हुने समय हो।

बिचारधाराकै कुरा भन्ने हो भने अहिलेको प्रधानमन्त्री र मेरो बिचारै मिल्दैन । सबैभन्दा मन नपरेको नेताको नाम लियो भने प्रधानमन्त्रीकै नाम अग्रस्थानमा आउँछ । आज म कुनै बैचारिक बहस गर्न लागेको छैन । बिरोधको लागि बिरोध गर्न लागेको पनि होइन ।

मुख्य कुरा कसरी आफू बच्ने र अरुलाई बचाउने भन्ने कुरा अहिलेको चिन्ता हो । यदि बाच्यौं भने यस्ता बहसको मौका त कति आउँछ कति । त्यतिखेरै धित नमरुन्जेल बहस गरौंला । गल्ति गरे गाली पनि गरौंला । कालो सेतो झण्डा जे पनि देखाउँला । यो पछिको कुरा हो ।

यो समय गाली गरेर बिताउने समय होइन । हातेमालोको समय हो । देशलाई काध दिने समय हो । सबैको कर्तब्य यहि हो । देशलाई परेको वेला काध दिने हो र आबस्यकता परेको वेला आलोचनाको नैतिक अधिकार पनि लिने हो ।

सहयोग भन्नुको अर्थ दान उपलब्ध गराउनुलाई मात्रै ठानियो भने गलत हुन्छ । यो भीषण परिस्थितिको वेला सरकारले लागू गरेको लकडाउनको राम्रो पालना गर्नु पनि सहयोगै हो । सामाजिक संजालमा भ्रम र भयका सामाग्रीहरु प्रचारप्रसार गर्नुको सट्टा जनचेतनामूलक सामाग्रीहरु लेख्नु र प्रचारप्रसार गर्नु पनि सहयोगै हो ।

कोरोनाबाट आफुलाई बचाउन साबधानी त अप्नाउनै पर्छ तर त्यति भयभीत हुन आबस्यकता छैन जति हामी भएका छौँ । बर्षमा सरदर चार लाख पचास हजार मान्छेहरुले रुघाखोकीको कारणले ज्यान गुमाउने गरेको पाइन्छ । रुघाखोकी संक्रमणलाई लाइभ देखाउने हो भने दिनमा कति जना मान्छेहरुलाई रुघाखोकी लाग्दो हो ? बर्षमा एकपटक वा सो भन्दा बढी सबै मान्छेलाई रुघाखोकी लाग्छ । हामी भाइरसले होइन कि बढी हल्लाले डराइरहेका छौँ । हल्ला यति भएको छ कि कसैलाई कोरोना लाग्यो भने हल्लैले बिरामीको ज्यान जान्छ । नेपाल हल्लैहल्लाको देश भनेर त्यसै भनिएको होइन रहेछ । यतिखेर हामीलाई सहि परामर्श र बलियो आत्मबल चाहिन्छ ।

बिदेशमा बस्ने धेरै नेपालीहरुलाई अहिले निकै चिन्तित अबस्थामा देखेको छु । केहिलाई बिरोधको लागि बिरोधको मनोरोगले ग्रस्त बनाएको छ । जसको कामै भ्रम फैलाउनु हो । कतिपय ती मनोरोगीहरुले फैलाएको भ्रमले पोलेर निधार खुम्चिएको देखेको छु । त्यो बाहेक हामीलाई अरु ब्यथाले च्यापेको छैन । विश्व महामारी हो, जहाँ रहेपनि सामना गर्नुको बिकल्प छैन । आत्मबल बलियो भए भाइरस पराजित हुन्छ । जसरी चिन, कोरिया र जापानले पराजित गरिसके ।

सरकारले जसरी चिनबाट विमान चार्टर्ड गरेर नेपाली नागरिकहरुको उद्दार ग-यो । त्यो उद्दारलाई गल्ति किमार्थ भन्न खोजेको छैन । अब त्यसरी चार्टर्ड गर्न थालियो भने ५० लाख नागरिकलाई २ सय ७४ क्षमता भएको वाइडबडी हवाईजहाजलाई कतिपटक ओहोरदोहोर गर्नुपर्छ ? १८ हजार पटक भन्दा बढी । दिनको दुईपटक ओहोरदोहोर गरेपनि ५० लाख नागरिकलाई नेपाल फर्काउन २५ बर्ष लाग्नेछ । यदि अरु जहाज नै चार्टर्ड गर्नु प-यो भनेपनि एकैपटक सबैको उद्दार गर्नलाई नेपाल सरकारलाई १८ हजार भन्दा बढी वाइडबडी जहाज चाहिन्छ । यसको खर्च करिव नेपालको कुल बजेटको १० प्रतिशत पुग्न जान्छ । देशले यो भार ठेग्न सक्छ सक्दैन ?

जहाजको खर्च मात्रै कहाँ हो र ? ५० लाख मान्छेलाई राख्ने ठाउँ क्वारेन्टाइन पनि त चाहियो । चौध चौध दिनसम्म पाल्नु प-यो ? सकिन्छ ? सकिदैन । अहिलेको नेकपाको सरकारले मात्रै होइन, जुनसुकै दलको सरकारले पनि सक्दैन । आलोचना गरे जस्तो नहुने रहेछ प्राबिधिक कुराहरुमा । यस्ता कुराहरु गम्भीर तरिकाले बुझ्न सके त्यो पनि देशलाई सहयोग गरेको ठहर्छ ।

सामाजिक संजालमा आफुलाई युएईको बुज्रुक ठान्ने कतिपय नेपाली दाजुभाइहरुको रोइलो सुनेर मलाई कहाली लागेर आउँछ । तिनै मान्छेहरु एक रुपैयाँको लोभमा रेमिट्यान्स छल्दै हुण्डि मार्फत पैसा पठाउने गरेको तथ्य लुकेको छैन । यस बिषयमा प्रश्न उठायो भने उनिहरुको उल्टै प्रश्नको सामना गर्नुपर्छ कि, नेपाल सरकारले हाम्रो लागि के नै गरेको छ र ?

आफ्नो दायित्व नबुझ्ने र अरुलाई दायित्व सिकाउने बुज्रुकहरुको लामै लाम छ बिदेशमा । आज उनिहरु नै ठूलो स्वरले सरकार सरकार भनेर चिच्याएको सुन्छु । कुन नैतिक धरातलमा चिच्याउन सके ? मनले कायल खाएको छ । आबस्यकता भन्दा ठूलो हल्ला पिटेर मजदुरहरुलाई आतंकित बनाउने काम गरिएको छ ।

दुबईमा लकडाउन भएको क्षेत्रको ठ्याक्कै रोड वारी म बस्छु । लकडाउनको समयमा कुनै खानेकुराको अभाव भइहाल्यो भने पुलिसले ढोकामै चाहिएको कुरा ल्याइदिने गर्छ । बिरामी परे एम्बुलेन्स पाँच मिनेटमा आइपुग्छ । के नेपालमा यो सम्भब छ ? छैन । के युएई सरकारले उपचार नगरी कसैलाई गलत्याएर पठाएको छ ? छैन । युएई सरकार तदारुकताका साथ लागेको छ । के स्वदेशी के बिदेशी सरकार सबैको लागि बराबर छ । कसैले भ्रम छरिरहेको छ भने भ्रमित नभइकन नेपालमा रहेका आफ्ना नागरिकहरुलाई बचाउने कुरामा ध्यान दिन प्रधानमन्त्रीलाई अनुरोध गरिन्छ ।

नेपालमा जति पनि संक्रमित देखिए सबै बिदेशबाट गएको तथ्य सबैलाई जगजाहेर छ । अनि त्यत्रा ५० लाख नागरिकलाई नेपाल भित्र्यायो भने देशको स्थिती के होला ? कसैले नजरअन्दाज गरेको छैन । त्यसैले सबैले धैर्य राखौं । आआफ्नो ठाउँबाट देशलाई सहयोग गरौं ।

देश भित्रका नागरिकहरुलाई बचाउने हो भने हामीलाई लिन कुनै चार्टर्ड विमान पठाउन आबस्यकता छैन । हामी नेपाल भन्दा यहाँ सुरक्षित छौँ । सरकारले केवल मुलुक भित्रका नागरिकहरुलाई बचाइदिए पुग्छ । ती नागरिकहरु भित्र मेरो पनि परिवार छ । हाम्रा परिवारहरु सुरक्षित राखिदिए त्यही लाख हुनेछ ।

२०७६ चैत्र २१,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको