नेपालमा सातौं कोरोना भाइरस संक्रमित भेटिए


चैत २१, काठमाडौं । नेपालमा कोरोनाका सातौं संक्रमित फेला परेका छन् ।

कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।

केन्द्र सरकारले प्रदेशहरुमा पठाएको पोर्टेवल पीसीआर मेसिनमा नमूना परीक्षणका क्रममा उनमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यद्यपि प्रदेश सरकारले संक्रमणको पुनः पुष्टि गर्न ती व्यक्तिको स्वाव काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको जनाएको छ ।

यसअघि बिहीबार मात्रै बागलुङकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको थियो। उनी नेपालमा कोरोना भेटिने छैटौं व्यक्ति थिइन्। उनी कतार एयरवेजको जहाजबाट गत चैत ४ मा दोहाबाट काठमाडौं आएकी थिइन्।

कतारको एउटै उडानबाट नेपाल आएका तीनजनालाई कोरोना देखिइसकेको छ। उनी कतारको दोहाबाट भने कतार एयरवेजको क्युआर ६५२ नम्बरको उडानबाट काठमाडौं अवतरण भएकी उनको अहिले धौलागिरी अञ्चल अस्पतालमा उपचार हुँदैछ।

त्यसअघि फ्रान्सबाट दोहा हुँदै काठमाडौं आएकी १९ वर्षीया युवती र बेल्जियमबाट त्यही मार्गबाट काठमाडौं आएकी बागलुङकी २२ वर्षीया युवतीमा कोरोना पोजेटिभ पाइएको थियो। त्यसअघि दुबईबाट काठमाडौं हुँदै धनगढी पुगेका ३४ वर्षीय युवकलाई कोरोना देखिएको थियो। उनको अहिले पनि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।

दुबईबाट धादिङ आएका ३२ वर्षीय पुरुषमा पनि कोरोना भाइरस देखिएको थियो। अहिले उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन्। सुरुमा चीनबाट आएका एक विद्यार्थीमा जनवरी २३ मा कोरोना संक्रमण देखिएको थियो। उनी उपचारपछि निको भइसकेका छन्।

त्यसपछि ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएपछि भने सरकारले देशभर लकडाउनको घोषणा गरेको छ। चैत ११ गतेदेखि १८ सम्मका लागि लागु गरिएको लकडाउन २५ चैत सम्मका म्याद थप गरिएको छ ।

 

२०७६ चैत्र २१,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको