इँटा उद्योग बन्द नहुने, तीन गुणासम्म मूल्य वृद्धि हुने प्रक्षेपण

फाइल तस्बीर

चैत २१, काठमाडौं । कोरोेना भाइरस (कोभिड—१९) नियन्त्रण तथा रोकथामका लागि नेपाल यति बेला लकडाउनमा रहे पनि मुलुकभरका इँटा उद्योग भने बन्द नहुने भएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडका अनुसार निर्माण सामग्रीका साथै इँटा उत्पादन पनि अत्यावश्यक वस्तुअन्तर्गत पर्ने भएकाले इँटा उद्योग बन्द नभएका हुन् ।

इँटा उद्योग मौसमी भएकाले यसलाई अहिले बन्द गर्ने हो भने आगामी दिनमा इँटाको मूल्य महँगो हुनेछ । त्यही भएर सुरक्षाका उपायहरू अपनाएर उत्पादन गर्न उद्योगीहरूलाई जानकारी गराइएको राज्यमन्त्री दुगडले बताए । यद्यपि नेपाल इँटा उद्योग महासंघले १ हप्ताअघि इँटा उद्योग बन्द नगर्न भन्दै मन्त्रालयमा निवेदन दिएको थियो ।

मजदूर तथा श्रमिकहरू इँटा उद्योगभित्र नै बस्ने र बाहिरको आवतजावत पनि कम हुने भएकाले कोरोना भाइरसको संक्रमण उच्च नहुने उनको तर्क छ । कोइला आयातका लागि ढुवानी गर्न सवारीसाधनलाई पास तथा सुरक्षाको व्यवस्था मिलाइएको उनको भनाइ छ ।

तर, नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले इँटा उद्योग बन्द गर्न जिल्ला प्रशासनले दबाब दिएको बताए । मन्त्रालयले इँटा उद्योग बन्द नगर्ने निर्णय गरेको हो भने सम्बद्ध प्रशासन कार्यालयहरूलाई जानकारी दिन उनले आग्रह गरे । ‘इँटा उद्योग पनि क्वारेन्टाइन जस्तै हो, यहाँ काम गर्ने मजदूरहरू बाहिर जाँदैनन् भने बाहिरका पनि उद्योगभित्र आउने वातावरण छैन,’ उनले भने, ‘यो सिजनल उद्योग भएको हुँदा यसलाई बन्द गर्नु हुँदैन । हामीले सुरक्षित रूपमा उत्पादन गर्न सक्छौं ।’

उनले छिमेकी देश भारत, बंगलादेश र पाकिस्तानमा पनि इँटा उद्योग बन्द नभएकाले नेपालमा बन्द गर्न नहुने तर्क गरे । अहिले बेमौसमी पानीका कारण इँटाको उत्पादन घटेको उनको भनाइ छ ।

महासंघका अनुसार मुलुकभर १ हजार २०० इँटा उद्योग छन् । उद्योगले खासगरी मंसिरदेखि जेठसम्म अर्थात् मनसुन शुरू हुनुभन्दा अघि मात्रै इँटा उत्पादन गर्छन् । यो वर्ष मनसुन शुरू नहुँदै पनि वर्षा भइरहेकाले विगत वर्षकोे तुलनामा ४० देखि ५० प्रतिशत मात्रै इँटा उत्पादन हुने चित्रकारको भनाइ छ ।

यी उद्योगहरूमा करीब पौने ३ लाख श्रमिक काम गर्दै आएका छन्, जसमा अधिकांश मजदूर भारतीय रहेका छन् । महासंघका अनुसार मुलुकभर रहेका इँटा उद्योगमा ७० प्रतिशतभन्दा बढी मजदूर भारतीय रहेका छन् । नेपाली मजदूरमध्ये कतिपय घर फर्किएका छन् भने भारतीय मजदूरहरू उद्योगभित्र नै रहेको चित्रकारले बताए ।

अहिले उनीहरूलाई हप्तामा एकपटक तलब दिएको भन्दै उनले भने, ‘त्यस्तो तलब रू. ५ देखि ७ हजारसम्म हुने गरेको छ । पहिला मासिक रूपमा दिइँदै आएको थियो ।’ अहिले इँटा उत्पादनका लागि चाहिने कच्चा पदार्थ कोइला सहज रूपमा उद्योगीले पाउन सकेका छैनन् ।

उत्पादन नै कम भएको हुँदा आगामी दिनमा इँटाको मूल्य २ देखि ३ गुणासम्म बढ्ने महासंघले प्रक्षेपण गरेको छ । इँटाका गुणस्तरअनुसार अहिले प्रतिगोटा रू. १० देखि २२ रुपैयाँसम्म मूल्य छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा हिमा वि.क.ले लेखेकी छन् ।

२१ चैत्र २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको