पूर्वडीआईजी महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा


फागुन २०, काठमाडौँ । पूर्व डिआईजीसहित चार जना प्रहरी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

मध्य क्षेत्रीय तालिम केन्द्र सिन्धुलीमा रहँदा उनले प्रहरी जवानको तलब भत्ता कीर्ते दस्तखत गरी हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् ।

पूर्व डिआईजी महेशबिक्रम शाह, सई दीपेन्द्र पनेरु, हवल्दार केशवसिंह ऐरी तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका कर्मचारी संजिव बिशंखेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनमा २७ वैशाख २०७२ मा प्रहरी जवान पदमा भर्ना भएका कर्मचारीहरु तालिम समापन भएर अन्यत्र सरुवा भइसकेको अवस्थामा पनि तलब भत्ता वापतको रकम निकालेर हिनामिना गरिएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

उजुरीमाथि अनुसन्धान गर्ने क्रममा आर्थिक वर्ष २०७२÷०७३ मा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीको प्रमुखका रुपमा कार्यरत रहेका शाह, लेखापाल इन्सपेक्टर पनेरु र लेखा सहायक हवल्दार ऐरीले १ सय ३ जना प्रहरी जवानहरुको २०७२ माघ र फागुन महिनाको तलब तथा भत्ताबापत हुन आउने रकम ३१ लाख ८८ हजार ४ सय ६८ रुपैयाँ निकालेर खाएको देखिएको हो ।

यस्तै, प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाको १८ माघ २०७२ को पत्रले ०७२ साल माघ १ गतेबाट नै तलब भत्ता खान पाउने गरी १ सय ४२ जना नयाँ प्रशिक्षर्थी प्रहरी जवानहरुको नयाँ नियुक्तिी भएकोमा २ दिनको बढी तलब १ लाख ४९ हजार ६ सय १६ रुपैयाँ समेत निकालेर हिनामिना गरेको देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारले प्रहरीका पूर्व डीआईजी शाहसति तत्कालीन इन्सपेक्टर पनेरु तथा प्रहरी हवल्दार ऐरीविरुद्ध जनही ३३ लाख ३८ हजार ८४ रुपैयाँ बिगो कायम गर्दै ६ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सञ्जिव विशंखेले मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको आर्थिक वर्ष २०७२÷०७३ को लेखा परीक्षण गर्ने क्रममा प्रहरी कर्मचारीहरुको तलब, भत्ता तथा कट्टी रकमसमेतको भर्पाइमा सरुवा भएका प्रहरी कर्मचारीको नाम उल्लेख गरी खर्च लेखी सरकारी रकम निकासा गरेको देखिएको अख्तियारले जनाएको छ । अख्तियारले तत्कालीन लेखापाल विशंखेविरुद्ध १ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको सजाय मागदाबी गरेको छ ।

२० फाल्गुन २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको