युएईमा नेपालीहरुले शुरु गरे नेपाल भ्रमण वर्ष २०२० को प्रचार


पुस १८, दुबई । संयुक्त अरब इमिरेट्स् (यूएई) मा रहेका नेपाली संघसंस्थाहरूले नेपाल भ्रमण वर्ष २०२० मा नेपालमा पर्यटकहरू भित्र्याउने उद्देश्यले प्रचारप्रसार सुरूवात गरेका छन् ।

यूएईमा रहेको नेपालीहरूको पूरानो संस्था नेपाली समाज यूएईले ४ दर्जन भन्दा बढी संघसंस्थालाई समेटेर जनवरी १ तारिख शुक्रवार दुबई स्थित जाबिल पार्कमा भ्रमण वर्षको प्रचारप्रसार तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा बोल्दै नेपाली दूतावास यूएईका श्रम काउन्सिलर भेषबहादुर कार्कीले भ्रमण वर्ष सफल बनाउने काम नेपाल सरकारको मात्र नभएर विश्वभर रहेका आम नेपालीको समेत दायित्व रहेको बताउनु भयो । यूएईमा रहेका एक नेपालीले कम्तिमा २ जना पर्यटक नेपाल भित्र्याउने पहल गर्न उहाँले आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा नेपाली समाजका अध्यक्ष गाेविन्दप्रसाद ढकालले विश्वभरबाट यूएई घुम्न आउने पर्यटकहरूलाई नेपाल पनि घुम्नका लागि आग्रह गर्दै नेपालका बारेमा उनीहरूलाई जानकारी दिन प्रचारप्रचारलाई निरन्तर दिनुपर्ने बताउदै नेपाली समाज त्यसका लागि लागिरहने प्रतिबद्वता जनाउनुभयो ।

कार्यक्रममा यूएईमा रहेका विभिन्न संस्थाका प्रतिनिधि , गैर आवासीय नेपाली संघ (एनआरएन)का पदाधिकारीहरू, पर्यटक तथा व्यवसायी साथै उल्लेख मात्रामा सर्वसाधारण नेपालीहरूको उपस्थिति रहेको थियो भने भ्रमण वर्षको लोगो अंकित टिसर्ट, नेपाली टोपी लगायतका प्रचार सामाग्री समेत वितरण गरिएको थियो ।

२०७६ पुष १८,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको