तिन करोड भेडाहरु


हिमालको काखमा एउटा रमणीय ठाउँ थियो । त्यो ठाउँमा पुष्पे, खड्के, बाब्राम, शेरे, मादबे, बामे, उपेन्द्रे लगायतका गोठालाहरुका करिबकरिब तीन करोड भेडाहरु थिए । त्यस भेडी खर्कमा पुष्पे र खड्केको अगाडि अन्य गोठालाहरुको खासै जोर चल्दैनथ्यो । यहि कारण यी दुई गोठालाको निकै ठूलो चुरिफुरी चलिरहेको थियो ।

स्वभावतः भेडाहरु सोझै हुन्छन् । भिरबाट खसेपनि भिरै जाने, भिरसंग चेते पो । एकपटक एउटा लम्बु खोलामा हाम फालेको देखेर सबै भेडाहरु उसैको पछि लागेर हाम फालेपछी कसो सबैको इहलिला समाप्त नभएको । सुझबुझ छैन । यस्तै थुप्रै हन्डर खाए पनि ती भेडाहरुको चेतनाको ढकनी किन खुल्थ्यो ? आखिर भेडा न परे ।

अन्य भेडाहरुको तुलनामा यी भेडाहरु अलिक बेग्लै खालका थिए । उनिहरुले खर्कको नाइके चुन्न पाउने बिशेषाधिकार थियो ।

नाइके हुन पाउने लोभमा कयौं गोठालाहरुले हरियो घाँस खुवाउला भनेर बाचा नगरेको पनि होइन । कुन चाहिँ दिमाग नभएको भेडा होला र हरियो घाँसमा र्याल नचुहाउने । भेडाहरुको यहि स्वभाव बुझेर नै गोठालाहरुले नाइके चुन्ने दिनको ठ्याक्कै अघिल्लो साझ पेट फुटुन्जेल हरियो घाँस खुवाउने गरेको पाइन्छ । तब के चाहियो र यहि हो सच्चा नाइके भन्दै भेडाहरुको भोट एकछापे उसैलाई जान्छ ।

नाइके चिनिन्छ । त्यसपछि लापत्ता । भेडाहरुले न घाँसे मैदानमा उफ्रिउफ्रि हरियो घाँस खान पाउँथे, न नाइकेलाई आफ्नो बाचा सम्झाउन अबशर नै पाउँथे । यस्तै तरिकाले कयौं जुगहरु बिताइसकेका थिए ।

यहि मौकामा एकपटक गोठाला पुष्पेले बडो चतुर्‍याइँका साथ यो सुख्खा चरणलाई लहलहाउदो हरियो घाँसे मैदान बनाउँछु भनेर केही भेडाहरुको माझमा उद्घोषण ग-यो । भोकले पेट पाप्टिएको बिचरा भेडाहरुलाई हो कि जस्तो नलागेको पनि होइन । भेडाहरु जे भनेपनि पत्याइहाल्ने । उनिहरुले कानहरु ठाडो पारेर सुन्न थाले । सुख्खा खडेरीमा सुकेको दुबो खाएर आजित भएका धेरै भेडाहरुको मुखबाट र्याल पनि चुहियो । सोधे- “त्यो कसरी हो ?”
“मेरा प्यारा भेडाहरु ! प्रश्न सोध्ने होइन । बनाउने काम मेरो हो । जसरी पनि बनाए त भो । तपाईहरुले मलाई केवल बिश्वास गरे पुग्छ ।” भेडाहरुको प्रश्न सुनेर हौसिएका पुष्पेले जवाफ दियो ।

त्यसपछि भेडाहरुलाई के चाहियो र ? आँखा चिम्लेरै पुष्पेले भनेको कुरामा बिश्वास गरे । हाल फाल्ने भनेको ठाउँमा हामफाले । त्यसरी हाम फाल्दा सरदर १७ हजार भेडाहरुको ज्यान गयो भने त्यसको चौगुणा अपांग भए । जो हराए, बिराए । तिनिहरुको अझै अत्तोपत्तो छैन ।

अन्ततः पुष्पे नाइके चुनिए । तर नाइकेमा चुनिएपछी पुष्पे पनि गायब भयो । उसले भनेजस्तो एकाध भेडाहरु बाहेक कसैले हरियो घाँस खान पाएन । उनिहरुको अबस्था जस्तो पहिले थियो त्यो भन्दा गएगुज्रेको भइदियो । बिचरा भेडाहरु खिस्रीक्क पर्नुको के बिकल्प रह्यो र ?

ती दृश्यहरु टाढैबाट नजरअन्दाज गरिरहेको अर्का गोठालो खड्केलाई पनि पुष्पे जस्तै नाइके हुने भित्रभित्रै इच्छा जागेर आयो । त्यो खर्कका भेडाहरु अलि बढी नै सिन्टिमेल्टल भएकाले अलिकती सेन्टिमेन्टल गफ चुटिदिने र भेडाहरुको दिमाग आफुतिर डाइभर्ट गर्न सोच्न थाल्यो ।

त्यसपछि के चाहियो र ? पुष्पेलाई ओभरट्याक हुनेगरी गफ दिन थाले । उसले खर्कबादलाई अघि सारे । छिमेकी खर्कले चरिचरण हडपेको कुरालाई असलामसला घोलेर भन्न थाल्यो- “खर्क भन्दा ठूलो मेरो जिन्दगी होइन, यो खर्क भनेको मेरो आमा हो ।” यहि कुराले भेडाहरुको बिचमा खड्के खर्कबादी कहलियो ।

यतिले नपुगेर अगाडी थप्न थाले- “भेडाहरु खानको लागि मात्रै हो भने बनजङ्गल धाउन जरुरी छैन । मलाई नाइके बनाउनु भो भने खर्कमै हरियो घाँसको वर्षा बनाइदिन्छु । भेडाहरुले सुतिसुती खाने दिन अब टाढा छैन ।”

खर्कमै सुतिसुती हरियो परियो पोषिलो घाँस खान पाएपछि बाघभालुको जोखिम उठाउन कुन भेडाले मन पराउला र ? यहि कारण भेडाहरुले खड्केलाई नयाँ नाइके चुनिहाले ।

खड्के नाइके चुनिएपछि धेरै भेडाहरुले बनजङ्गल धाउनै छोडिदिए । हरियो परियो घाँस खर्कमै आइपुग्छ भन्ने उनिहरुलाई ठूलो बिश्वास थियो । समय बित्यो तर घाँस लिएर नाइके आउदैन त । कयौं भेडाहरु भोकले पाप्टिएको पेट अझै पातलियो ।

एकदिन खर्कमा महामारी पस्यो । भेडाहरु खोरमै भकाभक मर्न थाले । सुनियो, ओखती किन्न गएको नाइकेका आसेपासेहरुले कमिसन खाए । यति मात्रै कहाँ हो र ? कसैले त खर्कसङ्गै जोडिएको बारी पनि बेचेर खाएको भेडाहरुले सुने । सुनेर के गर्नु पशुहरुले प्रतिक्रिया दिन सके पो ! भ्याभ्या गरेको कसैले बुझ्दैन । दुई चार दिन भ्याभ्या गरिहाल्थे र फेरि भुलिहाल्थे ।

जति धोका खाए पनि नचेत्ने भेडाको अजिब खालको एउटा गजबको स्वभाव हुन्छ । त्यो खर्कका भेडाहरुले थुप्रै नाइकेहरु चुने तर एउटै गतिलो परेन । चरिचरणहरु खडेरीमा परिणत भइदियो । अन्ततः खर्क छोडेर विभिन्न चरणमा घाँसपात बटुल्न ६० लाख भेडाहरु बालुवा घारीमा घाँस खोज्न हिंडे ।
त्यो बालुवा घारीका नाइकेहरुले बालुवामा घाँसैघाँस उमारेका देखेर तीन छक्क परेको पनि त्यहाँ पुगेका धेरै भेडाहरुले बताए । नाइकेको इच्छाशक्ति भए के हुँदैन भन्ने एकाध भेडाहरुले नसोचेको पनि होइन । तर अधिकाश भेडाहरु बिभाजन भइसकेको देखियो । कोहि शेरे पक्ष, कोहि पुष्पे त कोहि खड्के पक्षका ।

यिनै नाइकेहरुकै कारणले आफुहरुले खर्क र चरण छोडेर त्यो बिरानो बालुवाघारीमा पुगेको कुरा किन नबुझेका ? अझै नाइकेहरुको समर्थनमा आ-आफ्ना संगठन पनि बनाएका । बेलाबेलामा झडप पनि हुन्छ, पुष्पेको लहैलहैमा एकपटक ज्वालामुखीमा हाम फालेर चेतेको एकजना भेडोले मनमनै सोच्यो, आखिर भेडा नै त भयौं चेतना कसरी पलाउथ्यो र ? त्यो भेडाको नाम पृथीछक थियो ।

२०७७ भाद्र १७,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको