कैलालीमा नदी कटान र डुबानको समस्या बढ्दै


साउन १८, कैलाली । नदी कटान र डुबानको रोकथामको प्रभावकारी पहल हुन नसक्दा कैलालीमा वर्षेनी नदी कटानको समस्या बढ्दै गएको छ । नदी कटानको समस्या बढ्दै जाँदा वर्षेनी तटीय क्षेत्र आसपासको सयौं बिघा खेतीयोग्य जग्गा बगरमा परिणत हुने गरेको छ ।

चुरे क्षेत्रबाट निस्किने नदी तथा खोलामा वर्षेनी आउने भेलले लेदो माटो ढुङ्गा, बालुवा बगाएर ल्याएसँगै नदी तथा खोलाको सतह बढ्दा बाढी र डुबानको समस्या पनि बढ्दै गएको प्राविधिकको भनाइ छ । उत्तरबाट दक्षिणतर्फ बग्ने कर्णाली, खुटिया, गोरीगङ्गा, कान्द्रा काँडा, शिवगङ्गा, घुराहा नदीले बढी कटान गर्ने गरेका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्र हुँदै पश्चिमबाट पूर्वतर्फ बग्ने मोहना नदीको कटानको समस्या पनि छ ।

जलस्रोत तथा सिञ्चाइ विकास डिभिजन कार्यालयको अध्ययनअनुसार मोहना, कान्द्रा, पथरैया, काँडा, खुटिया, गौरीगङ्गालगायत ठूला नदीमा कटान र डुबानको समस्या बढ्दै गएको छ । डिभिजन प्रमुख डम्बर धितालले प्रर्याप्त बजेटको अभावका कारण नदी नियन्त्रण सम्बन्धी काम प्रभावकारी हुन नसकिरहेको बताए । आर्थिक वर्ष २०७६/७७ मा कान्द्रा नदी नियन्त्रणका लागि बोलपत्र आह्वान गरिएकामा कोभिड-१९को समस्याका कारण थप काम अघि बढ्न नसकेको उनले जानकारी दिए ।

कञ्चनपुरको महाकाली र दोदा, कैलालीको, खुटिया र मोहना नदीमा तटबन्धनको काम गर्ने जिम्मा कञ्चनपुरमा रहेको जनताको तटबन्धन कार्यालयलाई छ । खुटिया र मोहना नदीमा अहिलेसम्म नदी नियन्त्रणसम्बन्धी प्रभावकारी काम हुन नसकेको जनगुनासो छ । जनताको तटबन्धन कार्यालयमार्फत् चालू वर्षमा मोहना र खुटिया नदीमा नियन्त्रण सम्बन्धी काम हुन लागेको जनाइएको छ ।

जिल्लाको पूर्वी क्षेत्रमा कर्णाली नदी मुहान भएको राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना निर्माणाधीन छ । सो आयोजनाअन्तर्गत सिञ्चित क्षेत्रको बचावटका लागि कर्णाली नदीसहित पथरैया र मोहनाका कतिपय भागमा भने तटबन्धनको काम भइरहेको छ ।

सीमा स्तम्भको सुरक्षामा चुनौती
मोहना नदीले सीमा क्षेत्रका कतिपय ठाउँमा कटान गरेर आफ्नो पुरानो धार परिवर्तन गर्ने गरेको छ । सोका कारण ठाउँ ठाउँमा वर्षेनी हुने कटानका कारण सीमा स्तम्भ हराउने, भत्किने र पुरिने समस्या छ । आर्थिक वर्ष २०७६/७७ मा नेपाल—भारत सीमा सर्भेक्षण टोली नं ४ का प्रमुखको जिम्मेवारीमा रहेका सुदर्शनसिंह धामी मोहना नदीले कटान गरेर आफ्नो धार परिवर्तन गर्दा सीमा स्तम्भ भत्किने, पुरिने वा हराउने समस्या रहेको बताउँछन् ।

“यो नदीले कटान गरेर धार परिवर्तन गरेको ठाउँमा सीमा स्तम्भको सुरक्षा गर्न समस्या छ”, धामीले भने– “कैलालीको फूलबारी क्षेत्रमा मोहना नदीले आफ्नो धार परिवर्तन गरेकै कारण उत्पन्न सीमा विवाद टुङ्गिन सकेको छैन ।” नदीले पुरानो धारपरिवर्तन गरेकै कारण यो ठाउँमा रहेको ७४२ नं को मुख्य सीमा स्तम्भ र ७४१/१ तथा ७४२/२ नं सहायक सीमा स्तम्भ हराएका छन् ।

फूलबारी क्षेत्रमा नदीले धार परिवर्तन गर्दा भारतको केही जग्गा नेपालतर्फ पर्न गएको बताइएको छ । विवाद देखिएको भूमि आफूहरुको भएको भन्दै नेपालीले उक्त भूमिलाई सामुदायिक वनका रुपमा उपयोग गरिरहेका छन् । धामीले भने, “फूलबारीको सीमा क्षेत्रमा सीमा विवादको टुङ्गो लाग्नसकेको छैन र जिल्लाका अरु सीमा क्षेत्रमा विवाद छैन ।”

सशस्त्र प्रहरी बल नं ३४ गणका प्रहरी उपरीक्षक कमल तिउसिनाले दक्षिण पूर्वी सीमास्थित कर्णाली नदी नजिकैको ७०१/१नं सीमा स्तम्भ नदीको बहावका कारण पुरिएको बताए । नदी वारी र पारी कतिपय ठाउँमा नेपालका गाउँ र कतिपय ठाउँमा भारतका गाउँ रहेका छन् ।

कर्णाली नदीमा पानीको बहाव बढ्दा पश्चिमबाट पूर्वतर्फ बग्ने अन्य नदीको बहाव रोकिएर हुने डुबान र कटानको समस्याले कैलालीका धनसिंपुर, नारायणपुर, जोशीपुर, जानकीनगर, भजनी, लालबोझी क्षेत्र प्रभावित हुने गरेका छन् । यो सीमा क्षेत्रमा रहेका जम्मा २८२ सीमा स्तम्भमध्ये मुख्य सीमास्तम्भ ५३ र सहायक सीमा स्तम्भ २२९ रहेका छन् । मुख्य सीमा स्तम्भमध्ये १३ पहिलेदेखि नै हराएका छन् । सहायक सीमा स्तम्भमध्ये ५४ पहिलेदेखि नै हराएको अवस्थामा छन् ।

बिओपी स्थापना

सशस्त्र प्रहरी बलले सीमा सुरक्षाका साथै सीमामा हुनसक्ने आपराधिक एवं अवाञ्छित गतिविधि रोक्न हालै जिल्लाका थप सात ठाउँमा बिओपि (बोर्डर आउट पोष्ट) कार्यालय स्थापना गरेको छ । गएको वर्षसम्म फूलबारी, भजनी र खक्रौला सीमा क्षेत्रमा मात्र बिओपि कार्यालय रहेका थिए ।

यसवर्ष धनगढीको बङ्गारा कटान, जुगेडा, कैलारी गाउँपालिकाको खोनपुर, भूइँयाफाँटा, भजनी नगरपालिकाको हिक्मतपुर र कुसुमघाट तथा टीकापुर नगरपालिकाको श्रीलङ्का टापु नजिकै बिओपि कार्यालय स्थापना गरिएका हुन् । रासस

२०७७ श्रावण १८,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको