चैत २०, सल्यान । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण उत्पन्न प्रतिकुल अवस्थाबाट प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत प्रदान गर्ने कार्य शुरु भएको छ ।
विहिबार कपुरकोट गाउँपालिकाको वडा नम्बर २ मा १६ घरपरिवारलाई चामल, नुन, तेल लगाएतका सामग्री वितरण गरिएको अध्यक्ष भिम बहादुर सेनले जानकारि गराए । दैनिक रुपमा कामकाज गरेर दैनीक आम्दानी गर्ने तथा अपांगता, जेष्ठ नागरिक र असहाय वर्गका घरपरिवारलाई राहत वितरण कार्य शुरु भएको उनले जनाए ।
कपुरकोट २ गर्पा स्थित वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रति परिवार २५ किलो चामल, एक एक किलो दाल, नुन, एक लिटर तेल र एक पिस साबुन वितरण गरिएको हो ।
गत चैत्र १६ गते नै बैठक बसेर सम्बन्धीत वडा कार्यालय मार्फत विपन्न वर्गको पहिचान गरेर विवरण संकलनको काम शुरु गरिएको जनाउदै अध्यक्ष सेनले जस अनुसार विहिबार वडा नम्बर २ का १६ घरपरिवारलाई राहत उपलब्ध गराइएको र वडा नम्बर ३ र ४ मा शुक्रबार राहात वितरण गरिने जानकारि दिए ।
उनले गाउँपालिकाको विपद् ब्यवस्थापन कोषमा १० लाख ८२ हजार रुपैयाँ रहेको र यसबाटै राहत वितरण तथा कोरोना रोकथामका क्रियाकलापहरु संचालन गरिने बताए ।
यसैविच गाउँपालिकाबाट नुन, तेल, चामल पाएपछि विपन्न वर्गहरुले राहातको महसुस गरेका छन् । विकट वस्ती सिमलकुना निवासि पम्फी बुढाले घरमा सबै खानेकुरा सकिएर चिन्तामा परेको बेला गाउँपालिकाले राहत उपलब्ध गराउँदा सरकार भएको महसुस गरिएको बताइन् ।
यस्तै दैनिक मजदुरी गरेर दुई छाक टार्दै आएका कपुरकोट २ का पदम बहादुर बुढाले पनि राहत पाएपछि खुसि ब्यक्ति गरे । राहत वितरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी, वडा नम्बर २ का वडाध्यक्ष मान बहादुर राना, वडा नम्बर १ का वडाध्यक्ष बालाराम खड्का, स्वास्थय शाखा संयोजक अरुण दाहाल, हेल्थ डेस्क कपुरकोटका फोकल पर्सन देवेन्द्र कुमार सेन, विरेन्द्र मावि गर्पाका अध्यक्ष ओम बहादुर बुढा लगाएतले बोल्दै कोरोनाबाट जोगिन लकडाउनलाई कार्यान्वयन गर्न र स्वास्थयकर्मीले दिएका सुझाव पालना गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस