चैत २०, काठमाडौँ । नेपालमा थप एकजनामा कोरोना भाइरस लागेको भेटिएको छ । योसंगै नेपालको कोरोना भाइरस संक्रमितको संख्या ६ पुगेको छ ।
बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङ गर्दै छैटौं व्यक्तिमा संक्रमण देखिएको पुष्टि गरेको हुन्।
‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा एउटा पोजेटिभ आएको छ’,उनले भने,‘ यो छैटौं केस हो, यो पनि क्युआर ६५२ फ्लाइटबाट दोहाबाट काठमाडौं आएकोमा देखिएको हो ।’
बेल्जियमबाट कतार हुँदै गत चैत ४ गते दोहाबाट कतार एयरवेजको जहाजबाट आएका हुन् । नेपालमा आएपछि उनी बागलुङ पुगेकी थिइन् । बाग्लुङस्थित घरमै क्वारेन्टाइनमा रहेकी उनलाई ज्वरो आएपछि कोरोना आशंका गरिएको थियो ।
त्यसपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोथ अस्पतालमा उनलाई भर्ना गरेर उपचार थालिएको थियो।
जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणले उनमा कोरोना संक्रमण रहेको पुष्टि गरेको हो।
यसअघि सोही जहाजमा आएका दुईजनामा पनि कोरोना संक्रमण देखिएको थियो । दुबै संक्रमित टेकु अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।
पहिलो संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन् भने बाँकी ४ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।
जसमा टेकु अस्पतालमा २ जना, सेती प्रादेशिक अस्पतालमा एकजना र धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा एक जना छन्।
प्रतिक्रिया दिनुहोस