‘मौन बस्ने जंकोट रोल्पाका जस्तै टेलिकम टावर भन्दा त शालिक नै राम्रो’


बर्षौ भएछ लेखहरु नलेखेको पनि । व्यस्तताले पनि लेख्न भ्याइएन धेरै समय । अनि कहिले लेख्छु भन्दा पनि के बारेमा लेख्ने भनेर दोधारमै । ५-६ पटक त लेख्दा लेख्दै छोडेका केही लेखहरु अझै ल्यापटमा बचत भएका छन । कहिलेकाही लेख सकाउदा ढिलो हुन्छ अनि लेख बासि भएपछि ह्या बासि पनि के छाप्नु भनेर आफैलाइ टारिदिए । निकै अल्छी भइएछ तर लकडाउनले भने होइन । यसपालि अलिक फरक रह्यो । पुरानो कार्यक्षेत्र छोडेर माडिचौरमा रहेको एनएमबि बैकंमा आवद्ध भएको पनि ४ महिना पुग्न आटेछ । पहिलोपटक घरबाहिर कोठा लिएर बस्ने निधो गरियो । कोठा लिएर बस्न थालेको लगभग तीन महिना भयो । माडिचौरमा सबै सुविधा छ । पानी सधैभरी, विजुली र पंखा पनि (यता अलिक गर्मि नै हुन्छ आजकाल) । सबै चिजको पुर्ति हुँदा पनि यता एक चिजको भने बर्षौदेखि अभाव छ ।

रोल्पा नगरपालिका ८ उपल्लो जंकोटको शिरशिर हावा चल्ने डांडा । बसेर हावा खाँदै बात मार्न बडो गज्जब ठाउँ छ । छेउमै मगर संग्राहलय निर्माणको अन्तिम चरणमा छ अनि संगै रहेको नेपाल टेलिकमको टावर अन्तिम भएर पनि सुचारु भएको छैन ।

माडीचौर आएदेखि अफिस भित्र हुँदा मैले मोबाइलमा टावरको सिग्नल अहिलेसम्म देख्न पाएको छैन । सायद बाहिर पनि फाट्टफुट्ट नदेख्ने हो भने टावरको संकेत कस्तो हुन्छ मैले भुल्छु होला । धन्न बाहिर अलिअलि काम गर्छ अनि शुक्रबार, शनिबार घरमा हुँदा टन्न । आएको दिन नै टावरको यो अवस्थाबारे बुझ्दा दुख लाग्नु स्वभाविक हो । अझ दुख लाग्नु त यहाँको जनताले संचारको राम्रोसंग उपभोग गर्न नपाउनुको पनि हो ।

जंकोटको टावरले काम गर्ने हो भने नजिकैका धेरै ठाउहरुमा नेटवर्क राम्रोसंग उपलब्धता गराउछ । अफिस हाजिर भएदेखि म धेरै पटक कामले नगरका ६ र ७ नं वडाका ठाउहरुमा घुम्ने मौका पाए । सबैजसो ठाउँमा नेटवर्कको सिग्नलको दशा माडिचौर झै छ । उनिहरुको आशा भने अझै मरेको छैन । सोध्छन- त्यो जंकोटको टावर कहिले बन्ला र सजिलो होला ? सर हजुरलाइ त जानकारी होला नि ? म मुसुक्क हाँसेर जवाफ दिन्छु छिटै हुन्छ रे !

फेरी अद्भुत त यहाँनेर छ कि माडिचौरमा प्रमुख सडक एरिया र खोला वारी कोटगाउँसंग सटेको भागमा नेटवर्क हल्का टिप्छ जे होस हलो भन्दा ‘लो’ वा ‘ह’ चाहि मज्जाले सुनिन्छ, फोर जि आदिको सपना आक्कल झुक्कल नदेखे पनि हुन्छ । खोला पारीको भाग सालघारी एरिया तिर भने नेटवर्क ठिकै टिप्छ तर पुर्ण भने होइन । सदरमुकामबाट माडिचौर क्षेत्र करिब १३ किलोमिटर रहेको छ ।

आखिर टावरको समस्या के हो त ? मैले धेरै त बुझेन त जति बुझे त्यो चाहि यहाँ लेख्न चाहे । म आएको केही दिनमै मैले मेयर, उपमेयर, वार्ड अध्यक्षहरु, रोल्पा टेलिकम प्रमुख, तुल्सिपुर टेलिकम अफिसका इन्जिनियरहरुसंग यसबारेमा कुरा गरेको थिए । केहिदिन अगाडि समेत कुरा भएको छ यो बारेमा । जनप्रतिनिधीहरुको एउटै स्वर थियो । पटकपटक दबाब दिएका छौ । अव केहि दिनमै माथिबाट नेपाल टेलिकमको टोली आएर टावर छोड्न मात्र बाँकी छ । जनप्रतिनिधीको काम दबाब दिने, सहजिकरण गर्ने नै हो । उहाँहरु पनि आफै आजित हुनुहुदो रहेछ भन्दाभन्दा । पटकपटक भन्दा दबाब दिंदा पनि किन टोलि आउदैन ? संचार जस्तो संबेदनशिलताबाट बन्चित भएका जनताको भलाइको लागि सोच्नुपर्दैन र ?

केहि समय अगाडि उर्जामन्त्री बर्षमान पुन ज्यु माडिचौर आउदा भलाकुसारी गर्ने अवसर पाएको थिए । उहाँसंग त यो बारेमा कुरा भएन तर उहाँका स्वकिय सचिव जिवन रोकामगरलाई मैले टावरको बारेमा कुरा राखेको थिए । उहाँको पनि त्यहि जवाफ थियो । पटकपटक भनिराखेका छौ, आउछु भन्नु भएको छ, सायद अब छिट्टै संचालनमा आउला । यसो सोचे आउछन होला नि छिट्टै । नआए पनि के गर्नु सरकारी कर्मचारी हुन । लोक सेवा लडेर गएका न हान्नु न झपार्नु । नगरको टिम टेलिकमको प्रदेश कार्यालयमा पनि गएर यसबारेमा जानकारी गराएको रहेछ । सायद त्यता पनि छिट्टै हुन्छ भन्ने जबाफ आयो होला । टेलिकमको यो जिम्मेवार निकायलाइ एक दिन एक मिनेट मात्र भएनि यो क्षेत्रमा बसेर जान अनुरोध गर्दछु । साँच्ची टावर कहिले सुचारु होला ? यसो हेर्दा टेलिकमकै दोष देखियो नि हैन ?

यो त उदाहरणिय पात्र मात्र हो । यस्ता समस्या देशका दुर दराजमा कति छन कति ? म यो ठाउँमै भएकोले मात्र अनुभव गरेको हु । तपाइलाइ थाहा छ । रोल्पा जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय रोल्पाहरु रेउघामा पर्छ, जुन नगरपालिका वडा नम्बर २ मा हो । अस्पतालका कुनै कोठामा त अहिलेसम्म पनि टावर टिप्दैन । फोरजि, थ्रि जिको कुरा छोड्नुस ? ल्याण्डलाइनको त कुरै नगरौ निश्चित ग्राहक पुगेपछि मात्र तानिन्छ । लिबाङको केही एरियामा त टावरले राम्रोसंग काम नै गर्दैन । म वडा नं २ कै बासिन्दा हु ।

असोज १५ गते बिहानै फेसबुकमा यहि बारेमा स्टाटस लेखे । धेरैले जंकोट क्षेत्रमात्र नभई जिल्लाका धेरै ठाउमा टावर मात्र ठडिएको कमेन्ट गर्नुभयो । थाहा त थियो लाग्नु पर्ने त हैन तर अचम्म लाग्यो, नेपाल टेलिकमले टावर ठडाउन मात्र बनाउँछ कि चलाउन पनि ? ठडाउँन मात्र बनाएको भए बरु निकालेर कवाडीलाई बेचौ, कमसेकम पैसा आउँछ, अन्त लगानी गरौँ । टावरको ठाउँमा शालिक, मन्दिर बनाउ कमसेकम मान्छेले आदर सम्मान त गर्छन । चल्दै नचल्ने ठिगं उभिएको टावरको के काम न चल्छ न बोल्न सहज बनाउछ ।

त्यो चिजको महत्व ज्यादा हुन्छ जसले सेवा पनि दिन्छ । न सेवा दिने न त मेवा ? के काम रह्यो र जंकोट र यि जस्तै ठडिएका नेपाल भरका टावरको ? स्टाटस राखेकै दिन फेसबुकमा नेपाल टेलिकमको आधिकारिक पेजमा मेसेज गरे । मेसेज हेरियो रिप्लाइ आएन । ट्विटमा हेलो सरकारमा गुनासो पोखे । तुरुन्त मेरो नंबर मागियो । कल आउछ कि भनेर मोबाइल झयालनेर राखे टावर अलिक गतिलो आउँछ भनी तर कल आएन टावर २ धर्का देखायो । नोटिफिकेशन चाहि आयो कि गुनासो दर्ता गरिएको छ भनेर । स्टाटसमै रोल्पा न.पा मेयर ज्युको कमेन्ट पनि आएछ । उहाका अनुसार ताजा कुराकानीमा दशैं भन्दा अगाडि संचालनमा ल्याउने योजना रहेछ टेलिकमको । सायद दशैं बोनस सहित होला ।

नेपाल टेलिकमलाइ अनुरोध । साँच्ची के ले रोकेको छ प्रभावकारि सेवा प्रवाह गर्न ? कि घुम्ने कुर्सि छोड्न मन लाग्दैन ? मलाइ त त्यो कुर्सि देख्दा नि दिक्क लाग्छ आजकाल अफिसमा । कति दिनदिनै बस्नु लडिबुडि खेल्नु तर पनि बाध्यता जो छ । कुर्सिमै बसेर काम गर्नुपर्छ । कहिलेकाही फिल्ड पनि निस्कनुपर्छ तर कुर्सि बोकेर जान पाइदैन । मतलव एकपटक जनताको सेवा गर्न दौडिनुस न ? हाम्रो पसिनाको मेहनतले पालिएको हैन र तपाइहरु ? संबिधानले नै प्रष्ट गरेको आधारभुत आवश्यकताबाट बन्चित गराउन कति जागरुक बन्नु भएको ? आफ्नै काम गर्न पनि माथिबाट नै भनसुन गराउनु पर्छ र ? तपाइहरुको काम बैकंमा पैसा गन्ने, बाटो खन्ने, जग्गा नाप्ने, पढाउने, मार्केटिङ आदि गर्ने त हैन नि ? त्यहि कामको लागि जागिर दिएको छ भने के मा कन्जुस्याइँ ? एकपटक तपाइका अफिसहरु जहा टावर टिप्दैनन नि हो ति दुरदराजमा लगेर राख्नुस अनि महशुस गर्नुस पिडा के हो भनेर । एनसेललाई विप्लव नेकपाको डर छ साँच्ची तपाइहरुलाई के को छ ?

लेख्न मन त थिएन तर केहि कुराहरु मनमा गुम्साउदा बडो नमज्जा हुँदो रहेछ । बाध्यताले जसोतसो लेखियो । केहि त्यस्ता संबन्धित निकायलाइ लेखिएका कुरामा चित्त दुखेको भए नेटवर्क गज्जब चलेपछि फिर्ता ल्याउला । यति भनिरहदा ह्वामामा रहेको मेरो भाडाको कोठाबाट देखिने एनसेलको टावरले मलाइ त केही भनेन भनेर मुस्कुराइरहेको होला किनकी उसको दशा पनि बर्षौबाट यस्तै छ । जय होस सबैको ।

विन‍ोद डाँगी
रोल्पा नगरपालिका २- थलिबाङ रोल्पा

(प्रतिक्रियाको लागि- dangi.binod@gmail.com)

१५ आश्विन २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको