सरकारका प्रवक्ता भन्छन- ‘डा. केसीका धेरै माग पूरा भइसकेका छन’


असोज १५, काठमाडौं । १८ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीलाई सरकारले अनसन तोड्न आग्रह गरेको छ ।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले यो असामान्य अवस्थामा अनसन बस्नु सुहाउने विषय नभएको बताए।

उनले डाक्टर केसीका कतिपय मागहरू पूरा भइसकेको र कतिपय पूरा हुने क्रममा रहेको जिकिर गरे। ‘उहाँका धेरै माग पूरा भइसकेका छन्। हामीले चिकित्सा शिक्षा ऐन बनाएका छौं, आयोग बनाएका छौं । ७५ प्रतिशतलाई छात्रवृत्तिको व्यवस्था पनि लागू भइसकेको छ,’ मन्त्री ज्ञवालीले भने,‘सातै प्रदेशमा सरकारले मेडिकल कलेज खोल्ने प्रक्रिया पनि सुरू भइसकेको छ । सरकारले आफ्नो स्रोतले भ्याएसम्म गरिरहेको छ । यसमा थप दबाव दिनु जरूरी छैन ।’

उनले पिसिआर परीक्षण बढाउनु पर्ने माग पनि सम्बोधन भइसकेकाले अहिलेको विषम परिस्थिति अनसन बस्ने बेला नभएको बताए।

‘आजमात्रै हामीले कोरोनाबाट एक जना चिकित्सकलाई गुमाएका छौं । यस्तो बेलामा अनसन फिर्ता लिएर कोरोना विरूद्धको लडाइँमा एकजुट हुन म डाक्टर केसी र उहाँका साथीहरूलाई आग्रह गर्दछु,’ मन्त्री ज्ञवालीले भने ।

डाक्टर केसी विभिन्न माग राखेर सुरूमा जुम्लामा अनसन बसेका थिए । पछि उनलाई काठमाडौं ल्याइएको थियो । अहिले उनी त्रिवि शिक्षण अस्पतालमा छन् ।

२०७७ आश्विन १५,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको