अवैध उत्खनन्‌को विरोध गर्ने युवकको टिपरले किचेर हत्या


पुस २५, काठमाडौँ । धनुषाको मिथिला नगरपालिकामा शुक्रबार बिहान एक युवकको हत्या भएको छ ।

औरही खोलामा अवैध गिट्टीबालुवा उत्खनन्‌को विरोध गर्दै आएका २४ वर्षीय दिलीपकुमार महतोलाई नदीमै टिपरले किचेर हत्या गरेको हो ।

मिथिला नगरपालिका–५ श्रीपुरमा रहेको घरनजिकैको नदीमा भइरहेको अवैध उत्खनन्‌को विरोध गर्दा महतोलाई टिपरले किचेर हत्या गरेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए । उनका अनुसार महतोलाई जबर्जस्ती समाएर ना ७ ख ६४१३ नम्बरका टिपर चालकले किचेका थिए ।

साथीसँग मर्निङवाक गएका बेला महतोको हत्या भएको स्थानीयले आरोप लगाएका छन् ।  गाउँलाई नै जोखिममा पर्ने गरी औरही–बसही खोलामा भइरहेको अवैध गिट्टी बालुवा उत्खनन्‌को दिलिपको नेतृत्वमा गाउँलेले विरोध गर्दै आएको थिए । रिसिबी साँध्न क्रसर सञ्चालकले योजनाबद्ध रुपमा दिलीपको हत्या गरेको स्थानीय उमेश कुशवाहाको आरोप छ ।

यता घटनाको विरोधमा गाउँलेले पूर्व–पश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध गरेका छन्। मिथिला नगरपालिका ५ श्रीपुर रामलक्ष्मण चोकमा स्थानीयले टायर बालेर राजमार्ग अवरुद्ध गर्दै दोषीलाई कारवाहीको माग गरेका छन्।

टिपर र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । महतोको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।

२०७६ पुष २५,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको