बलात्कृत युवतीले गाउँ छाडिन्, बलात्कारीले गाउँलेलाई भोज खुवाए !


पुस २३, काठमाडौँ । ‘म जन्मिँदा हाम्रो घरको आर्थिक अवस्था अहिलेको जस्तै हुन्थ्यो भने अब्बाले मलाई स्कुल पठाउनुहुन्थ्यो,’ घरभन्दा निकै पर काठमाडौं सहरमा बसेर बुबाको न्यानो मायाबारे सुनाउँदा उनको आँखाबाट तातो आँसु बगिरहन्छ । त्यतिखेरको अवस्था राम्रो थिएन, घरकी जेठी छोरी उनले पढ्न पाइनन् । नेपालगन्ज वनघुस्राकी २२ वर्षीया नग्मा (परिवर्तित नाम) को पढ्ने रहर त्यत्तिकै हरायो ।

तस्बिर: कान्तिपुर

उनीमुनिका बहिनी र भाइ त अहिले स्कुल जान्छन् । उमेरले १८ वर्ष टेक्दाटेक्दै चार वर्षअघि उनको वनघुस्रामै बिहे भयो । ‘अगलबगलमै छ मेरो माइती र घर,’ नग्मा सुनाउँछिन् । २६ जनाको ठूलो परिवारमा एउटै चुलोचौका चलाउन असहज भएपछि नग्मा र उनका श्रीमान्ले अलग भान्सा गर्न थाले । खुब खुसी देखिन्थ्यो यो जोडी ।

श्रीमान्ले माइतीकै डोजर चलाउँथे, उनी घरमै । जिन्दगीसँग कुनै गुनासो थिएन । न त गुनासो थियो परिवार, आफन्त र समाजसित । एउटै कुरा स्कुल गएर पढ्न नपाएको थकथकी भने मनमै थियो, अहिले पनि छ ।
***
गत कात्तिक १३ गते नग्मा आँखा जँचाउन श्रीमान्सँगै फुलटेक्रा आँखा अस्पताल पुगिन् । दिउँसो १ बजेतिर आँखा जाँचिसकेपछि उनका श्रीमान् नेपालगन्ज गए, उनी घर । अस्पताल जाँदा लगाएको बुर्का खोलिसकेकी पनि थिइनन् । दुई जना चिनजानकै मान्छे उनको कोठाभित्र छिरे । उनी घरमा कोही पनि छैनन्, किन आएको भनेर सोध्दैथिइन् । ती दुई पुरुषको जवाफ आइहाल्यो, ‘कोही नभएकाले त हामी आएका हौं ।’ स्थानीय दुई पुरुषहरू निजामुद्दिन साई र मुबारक नाउले घरमा भएको सबै गरगहना र नगद मागे । नदिए जे पनि गर्न सक्ने धम्की दिए । उनले दराजमा भएको नगद र गरगहना सुम्पिइन् । ‘यतिमात्रै लिएर जाँदा यसले प्रहरीमा उजुरी गर्न सक्छे,’ उनीहरूको सरसल्लाह थियो, ‘बरु यसलाई नै लिएर जाऔं, सबै काम उतै गरौं ।’

नग्माको ढुकढुकी झन्झन् बढ्दै गयो । साई र नाउले संकेत गरेको त्यो उतै भारतको रुपैडिया रहेछ, उनीहरूले मोटरसाइकलको बीचमा नग्मालाई राखे । पिप्रहवा गाउँ हुँदै रुपैडिया र रुपैडियाबाट अरू दुई पुरुषले दिल्ली पुर्‍याए । रुपैडिया हुँदै दिल्ली पुग्दासम्मको घटना उनको स्मरणमा छैन । किनभने उनीहरूले दिएको बिस्कुट र जुस खाएपछि नग्मा बेहोस भएकी थिइन् । उनी जब होसमा आइन्, ती दुई पुरुषले आफूलाई निर्वस्त्र पारेर खिचेको भिडियो देखिन् । आफूहरूले भनेझैं नगरे भिडियो सार्वजनिक गरिदिने धम्की ती पुरुषहरूले दिइरहेका थिए । नग्मालाई ‘इज्जत’ को डर लाग्यो । उनी ती पुरुषले जसोजसो भन्छन्, त्यसै गर्दै गइन् ।

त्यतिन्जेलसम्म नग्मालाई उनका गाउँले निजामुद्दिन र मुबारकले एक लाख भारतीय रुपैयाँमा बेचिसकेका थिए । ती अन्जान दुई पुरुषले उनलाई एकजना महिलामात्रै भएको नयाँदिल्लीको एउटा कोठामा पुर्‍याए । पालैपालो बलात्कार गरे । त्यतिखेर उनीहरूले नजामुद्दिनसँग गरेको कुराकानी अहिले पनि उनको दिमागमा झनझनाइरहन्छ । ‘उसको घरमा फिरौतीको कुरा भइरहेको छ, मिल्छ कि मिल्दैन तर अहिले नै त्यसै नछोड्नू,’ यताबाट फोनमा गएको आवाज उनले प्रस्ट सुनिन् । यो कुरा जिल्ला प्रहरी कार्यालय नेपालगन्जले गरेको कल डिटेल्स अनुसन्धानले पुष्टि गरिसकेको छ । त्यतिखेर उनले जे भोगिन्, अहिलेको बयानबाट अनुमान गर्न सकिँदैन । ती दुई पुरुषले उनलाई कोठामै छाडे, बाहिरिए ।

सायद नग्मा यही मौकाको प्रतीक्षामा थिइन्, सायद ‘अल्लाह’ उनकै वरिपरि थिए । उनले ती महिलालाई हारगुहार गरेर मोबाइल मागिन् र घरमा फोन गरिन् । उनको ‘अब्बा’ सँग कुरा भयो । अब्बाले दिल्लीमै रहेका आफन्तलाई फोन गरे । उनी दिल्ली पुगेको चार दिनपछि जिन्दगीको सबैभन्दा कठिन ठक्कर खाएर कात्तिक १७ गते वनघुस्रास्थित घरमा फर्किइन् ।

यता उनका अम्मीअब्बा, भाइबहिनी, श्रीमान् र सासूससुराको बेचैनी उनी फर्किएपछि कम भयो । गाउँलेले प्रहरीमा जाहेरी दिन प्रेरित गरे । परिवारले न्यायको बाटो खोज्यो, कात्तिक १८ गते उजुरी बोकेर यो परिवार जिल्ला प्रहरी कार्यालय बाँके पुग्यो ।

उनलाई बेचेर गाउँ फर्किवरी निर्बाध घुमिरहेका निजामुद्दिन र मुबारकलाई प्रहरीले नियन्त्रणमा लियो । नग्माको हुटहुटी शान्त भयो । उजुरी बोकेर उनीहरू जिल्ला अदालत पुगे ।

जिल्ला न्यायाधीश रामप्रसाद बस्यालले गरेको आदेशमा निजामुद्दिन र मुबारक दुवैलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने उल्लेख छ । त्यसको आधारका रूपमा नग्मा बेचिएको, बेचिनुअघि उनलाई आरोपितद्वयले अपहरण गरेको उल्लेख छ । बेच्न लैजानुअघि नग्माको घरमा उनीहरूले डकैती पनि गरेका थिए । प्रहरीले अनुसन्धान गर्दा घटनाको समयमा आरोपितहरू घटनास्थलमा भएको मोबाइलको लोकेसन ट्रेसबाट पुष्टि भएको थियो । अर्कोतर्फ पीडित स्वयंले आरोपितहरूलाई किटेकी थिइन् ।

जिल्ला अदालतको यो गत मंसिर १७ गतेको आदेश थियो । न्याय सही ट्र्याकमा गइरहेको थियो । नग्मा र उनको परिवारलाई अदालतमाथि भरोसा बढिरहेको थियो । कात्तिक १३ देखि १७ गतेसम्मको त्यो अँध्यारो दिन बिर्सिन नग्मालाई परिवारका सदस्यहरूले भरपुर साथ दिइरहेका थिए । घटनाको मिसिल र पीडकको अपराधलाई आधार मान्ने हो भने यो कम्तीमा १५ वर्ष जेल सजाय हुने घटना हो । तर जिल्ला अदालतको आदेशविरुद्ध पीडक पक्ष उच्च अदालत तुल्सीपुरको नेपालगन्ज इजलासमा पुग्यो ।

उच्च अदालतका न्यायाधीशहरू पवनकुमार शर्मा न्यौपाने र ऋषिप्रसाद अधिकारीले जिल्ला अदालतको आदेशको कैफियत पनि मागेका हुन् । घटना पुष्टि गर्ने यथेष्ट प्रमाण हुँदाहुँदै पनि पुस १० गतेको उनीहरूको इजलासले पीडकलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश नमिलेको भन्दै बदर गर्ने आदेश गर्‍यो । ‘पीडितको नामको घाउजाँच फारमबाट केही घाउखत नदेखिएको र डकैती गरिएको भनिएको सामान बरामद नभएको हुँदा प्रतिवादीहरूलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गरिएको छ,’ उच्च अदालतको आदेशमा उल्लेख छ । निजामुद्दिन र मुबारक एक/एक लाख रुपैयाँ धरौटी तिरेर थुनामुक्त भए ।

उच्च अदालतले कतिसम्म बेवास्ता गर्‍यो भने पीडित पक्ष र प्रहरीले पेस गरेका घटनाका आधार र प्रमाण केलाउन जरुरी ठानेन । घटनामा आरोपितहरू संलग्न हुन सक्ने आधार र कारणलाई भने पूरै नजरअन्दाज गरेको देखिन्छ । उच्च अदालतको त्यही आदेशअनुसार निजामुद्दिन र मुबारक थुनामुक्त भए, गाउँ गए । त्यो रात उनीहरूको गाउँमा भोज नै चल्यो । ‘३० किलो खसीको मासु लगेका थिए, चोकचोक, बाटोबाटोमा मिठाई बाँड्दै हिँडिरहेका थिए,’ नग्मा भन्छिन्, ‘त्यही दिनदेखि म घरमा गएकी छैन ।’ उनीसँग काठमाडौं आएकी माइजूका अनुसार पीडक निजामुद्दिनकी आमा त नग्मालाई बेचेको पैसा सकिएको भन्दै अब गाउँलेका छोरी बेचेर गुजारा चलाउने कुरा चौतारोमा बसेर गर्छिन् ।

उनीहरूको उत्सवले नग्मालाई एकदमै नराम्रो लागिरहेको छ । ‘छन त उनीहरूका छोरीहरू पनि छन्, मलाईजस्तै उनका छोरीलाई भयो भने के भन्लान् ?’ उनी आफैंलाई प्रश्न गर्छिन् । पुस १० गतेदेखि नग्मा घर फर्केर गएकी छैनन् । इन्द्रगाउँस्थित मामाको घरैबाट उनी उच्च अदालतको आदेश बदर गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा निवेदन दिन काठमाडौं आइपुगेकी छन् । एक होटलमा बसिरहेका उनीहरूका तर्फबाट बुधबार सर्वोच्चमा निवेदन दिइँदै छ । सानीआमा, माइजू र काकासहित काठमाडौं उत्रिएकी उनलाई अम्मी र अब्बाको बहुत याद आइरहेको छ । आफ्ना साना बहिनीहरू त्यसैगरी अपहरणमा पर्छन् कि भन्ने चिन्ताले सताइरहेको छ । ‘डराएका बहिनीहरू स्कुल जान पनि मान्दैनन्,’ नग्मा भन्छिन् ।

काठमाडौं टेकेको तेस्रो दिन भइसक्यो उनले घरपरिवारसँग फोनमा कुरा गर्नै सकेकी छैनन् । ‘मैले फोन गर्नेबित्तिकै अम्मी रोएको रोयै गर्नुहुन्छ, उनीहरू छुटेपछि अब्बाको प्रेसर बढेको छ,’ नग्माले भनिन्, ‘जन्मेदेखि अहिलेसम्म मैले गाउँ छाडेकै थिइनँ, मलाई कहिले गाउँ जानुजस्तो भएको छ ।’ दुःखको कुरा यही छ कि, उनलाई यातना दिने पीडक गाउँमा निर्बाध घुमिरहेका छन्, पीडकका आफन्तले अरू पनि छोरीबुहारी बेचेर गुजारा चलाउने खुलेआम धम्की दिइरहेका छन् । तर नग्मा विस्थापित भइन् ।

दुःख त नग्मालाई श्रीमान्सँग पनि लागेको छ किनभने उच्च अदालतको आदेश आउनेबित्तिकै उनी टाढिए । गाउँ छउन्जेल के छ कसो छ भनेर सोध्दा पनि सोधेनन्, काठमाडौं आएपछि फोनसम्म पनि गरेका छैनन् । ठ्याक्कै गाउँले र छरछिमेकीझैं गरी टाढिए उनका श्रीमान् । ‘मैले जानाजान केही गल्ती गरेकी छैन,’ नग्मा सुस्ताउँछिन्, ‘मेरो मन त पहिले जस्तो थियो त्यस्तै नै छ, थाहा छैन उसको दिलमा के छ !’ कान्तिपुर दैनिकमा खबर छ ।

२०७६ पुष २३,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको