देशदेखि विदेशसम्म पुग्छ ‘प्युठानी कोशेली’


पुस २२, प्यूठान । प्यूठान प्रवेशको पहिलो बजारका रुपमा चिनिन्छ बड्डाँडा । यहाँ बस रोकिने बित्तिकै व्यापारीहरू दौडेर आउँछन् । ‘अदुवा अदुवा लैजानुस्, सस्तो सस्तो अदुवा आयो ।’ त्यसपछि सुरु हुन्छ अदुवाको मोलमोलाइ । यहाँको अदुवा पूर्व मेचीदेखि महाकालीसम्म पुग्छ र भारतीय बजारहरूमा पनि ।

सडक छेउ मै थापिएका स्थानीय उत्पादन र कृषिजन्य वस्तुको लोभलाग्दो पसलले यहाँ पुग्ने जोकोहीको पनि मन तान्छ । विभिन्न साइजका बट्टामा राखिएका मह, दाल र प्लाष्टिकमा तयार पारिएका अदुवाले प्राय सबैलाई लोभ्याउँछन् । कृषकले गाउँमा उत्पादन गरेका मौरीको मह, दाल, वारिमा फलाइएका पिँडालु यो बजारमा पाइन्छ ।

यी कृषिजन्य बस्तु शहरमा कोसेलीका रुपमा पुग्छन । यहाँ आयातित वस्तुभन्दा जिल्लाकै उत्पादनलाई प्राथमिकता दिइन्छ । यहाँ यतिमात्रै हैन, जिल्लामा उब्जने धेरैजसो उत्पादन देख्न र किनमेल गर्न पाइन्छ । स्वर्गद्वारी घुम्न आएका भक्तजनहरूले पनि बड्डाँडामा राम्रो किनमेल गर्ने गर्छन् ।

स्थानीय व्यापारी ओमनसिह रेश्मीले भने, ‘जिल्लाको उत्पादन हेर्न यहाँ आए हुन्छ ।’ अदुवा, गहतको दाल, मसुरो, महँ, पिडालु बेसार लगायत थुर्पे सामान यहाँ पाइन्छन् । ‘प्यूठान जिल्ला भित्रने र बाहिरने यात्रुहरूले बड्डाँडामा किनमेल गर्छन् । जिल्लामा भित्रने यात्रु र स्वर्गद्वारी आउने भक्तजनको सङ्ख्यामा वृद्धि भएसगैं व्यापारमा पनि वृद्धि भएको उनले जनाए ।

त्यसैबाट कतिपयले जिविका समेत धानेका छन । जिल्ला भित्रने सवारी साधनहरूले पनि बड्डाँडामा सवारी रोक्ने कारणले पनि व्यापारमा टेवा पुगेको छ । यात्रुहरूले किनमेल गर्न सजिलो होस भनेर १० मिनेट देखि आधा घण्टासम्म वस रोकिन्छन् । यस्तै यात्रुहरूको खाना र नास्ता गर्ने थलो हो यो। बजारको घुमफिर गर्ने धेरै छन् ।

सरुमारानी गाउँपालिकामा प्रसस्त मात्रामा मौरी पालन व्यवसाय फष्टाएको कारण त्यहाँ त्यहीकै उत्पादित मह बिक्रि गर्ने गरिन्छ । पिँडालु, गहत लगायतको दाल सरुमारानीकै गाउँहरूमा उत्पादन हुने गर्छ ।

गाउँमा उत्पादित वस्तुले बजार पाउँदा त्यहाँका स्थानीय दङ्ग छन् । ‘बजारको कुनै समस्या छैन् ।’स्थानीय ओमन रेश्मी भन्छन ‘वजारमा जति आएपनि पुग्दैन ।’ पवित्र तपोभूमि स्वर्गद्वारी दर्शन गर्न आउने दर्शनार्थीले समेत कोसेलीका रुपमा यी कृषिजन्य बस्तु किनेर लैजाने हुँदा यहाँको कारोबार अझ फस्टाएको छ ।

मह र अदुवा उत्पादनका लागि सरुमारानी गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ जिल्लाकै पकेट क्षेत्र हुन् । पकेट क्षेत्रका कृषकहरूका लागि स्थानीय ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्थाले सघाउँदै आएको छ ।

यहाँ उत्पादित कृषिजन्य वस्तु कपिलवस्तुको कृष्णनगर नाका, बाँकेको रुपैडिहा नाका हुँदै भारतीय बजारसम्म पुग्ने गरेको छ भने राजधानी काठमाडौंसम्म पनि निर्यात हुने गरेको छ । यहाँको स्थानीय उत्पादनको माग बढेसँगै कृषकहरू उत्साहित भएका छन् ।

दिउसोको समयमा बजारमा किनमेल गर्ने र हेर्नेको भिड लाग्ने गर्दछ । स्थानीय उत्पादनलाई प्राथमिकता दिने भएकाले यहाँको व्यापार फस्टाउँदो छ । गाउँपालिकाले पनि बड्डाँडालाई पुरानो अस्तित्व जोगाउन पहल गर्नुपर्ने स्थानीयको माग छ । ५ करोडको कृषि उपज निर्यात वर्षेनी यहाँबाट करोडौँ रकम बराबरको कृषिजन्य उत्पादन जिल्लाबाहिर निर्यात हुने गरेको छ ।

सरुमारानी गाउँपालिकाको कृषि शाखाले बताए अनुसार यहा मात्रै गत आर्थिक वर्षमा ५ करोड रुपैयाँ बराबरको कृषि उपज बाहिरिएको हो । यह उत्पादित कृषि उपज भारत सम्म पुग्छ । सरुमारानी गाउँपालिका क्षेत्रमा उत्पादन हुने अदुवा, मह, बेसार र दलहन बाली लगायतका विभिन्न कृषि उपजहरू निर्यात भएको शाखाले बताएको छ । अदुवा, मह तथा दलहन बालीका लागि उक्त गाउँपालिका पकेट क्षेत्रका रूपमा चिनिन्छ ।

पछिल्लो समय सरुमारानी क्षेत्रको मह तथा अदुवाले बजार पाउन थालेपछी यहाँका किसानहरू व्यावसायिक रूपमा मौरीपालन तथा अदुवा खेतीमा लागेको गाउँपालिकामा रहेको ऐरावती बहुउद्देश्यीय कृषि सहकारी संस्थाका व्यवस्थापक रेवती खनालले जानकारी दिए । उनका अनुसार सरुमारानी क्षेत्रको कुल भूभागको २० प्रतिशत जमिनमा अदुवा तथा बेसार खेती हुने गरेको छ ।

गत वर्ष गाउँपालिकाबाट ८५ टन अदुवा निर्यात भएको थियो । यस्तै बेसार ७० टन, गहतको दाल ५ टन र ८ टन सुठो निर्यात भएको थियो । यो वर्ष यस्ता कृषि उपजको निकासी झनै बढ्ने कृषि शाखाले अपेक्षा गरेको छ । उक्त क्षेत्रका स्थानीयहरूले उत्पादित वस्तु सहकारी मार्फत बजारसम्म र्पुयाउने गरेका छन् ।

यद्यपि, प्यूठान समेत हेर्ने जिम्मा पाएको कृषि ज्ञान केन्द्र दाङले प्यूठानको कृषि उपज सम्बन्धी तथ्याङ्क नभएको जानकारी दिएको छ । प्यूठानमा केन्द्रको सम्पर्क कार्यालय नहुँदा जिल्लामा उत्पादन र निकासी पैठारीको तथ्याङ्क सङ्कलन गर्न समस्या भएको केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले बताए ।

२०७६ पुष २२,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको