देश छिर्न पाऊँ भन्ने दाजुभाइ दिदीबैनीको रोदनले मुटु छोएको छ: रेखा थापा


चैत १९, काठमाडौं । सरकारले पूर्वजानकारी नगराइ गरेको लकडाउनले गर्दा सीमामा सयौं नेपालीको बिचल्ली भएको छ ।

उनीहरुले नेपाल छिर्ने व्यवस्था मिलाउनका लागि सरकारसँग हारगुहार गरेका छन् । सरकारले भने जो जहाँ छ, त्यहीँ बस्नुपर्ने बताएको छ ।

सीमामा सुत्केरीसमेत भोकै बस्नुपरेको समाचार आइरहँदा नायिका रेखा थापाले यी घटनाले मुटु छोएको बताएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत आफूलाई यो घटनाले चोट पुर्‍याएको बताएकी हुन् ।

‘आर्थिक बाध्यता र देशमा श्रम र सिर्जनाको अवसर नपाएर विदेसिन बाध्य लाखौं नेपाली खासगरी नेपाल भारत सीमामा आएर आफ्नो देश छिर्न पाऊँ भन्ने प्यारा दाजुभाइ दिदीबहिनीहरुको रोदनले मुटु छोएको छ,’ रेखाले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छिन् ।

उनले सीमामा अलपत्र परेका नेपालीले आएर क्वारेन्टाइनमा बस्छौं, जहाँ बसाल्यो त्यही बस्छौं भन्दा पनि आउन नदिनु व्यवस्थापन समस्या भएको औंल्याएकी छिन् ।

‘आफ्नो देश प्रवेश गर्न पाउने अधिकारी यो बेला खोसिएको सन्दर्भमा आक्रोस र संरक्षकको अभाव कति पीडादायी होला,’ रेखाले भनेकी छिन्, ‘विदेशका नागरिक नेपालबाट जहाज चार्टर गरेर फर्केको खबर सुन्दा खिन्न लाग्छ होला तर यहाँ हालत यस्तै छ, कसलाई गुनासो गर्नु, गरेर के हुन्छ र ?’

रेखाले कम्तिमा भारतबाट सयौं किलोमिटर हिँडेर सीमा पुगेकालाई वारि (नेपाल) लिएर सेना प्रहरीकै क्याम्पमा राखेर भए पनि दालभात खान दिनुपर्ने बताएकी छिन् । उनले भनेकी छिन्, ‘सकिन्छ भने बेसहारा बन्न नदिने व्यवस्था गरौं, परेको बेला देशले अपनाएन भने नपरेको बेला राष्ट्रियताको भाषणले केही फरक पार्दैन ।’

उनको स्टाटस जस्ताको तस्तै

आर्थिक बाध्यताका कारण देशमा श्रम र रोजगारीको अवसर नपाएर बिदेसीन वाध्य लाखौं नेपालीहरु हुनुहुन्छ। खास गरी नेपाल भारतको सिमानामा आएर आफ्नो देशमा छिर्न पाउ भनेर नारा लगाइरहनु भएका आदरणीय दाजुभाई दिदीबहिनीहरुको रोदनले मुटु छोएको छ।

आफ्नै देश प्रवेश गर्न पाउने अधिकार यो बेला खोसिएको सन्दर्भमा आक्रोश र संरक्षकको अभाव कती पिडादायी होला। यताको पनि उस्तै प्राविधिक बाध्यता होला। तर, आएर क्वारेण्टाइनमा बस्छौ, जहाँ बसाल्यो त्यही बस्न तयार छौं भन्दा पनि आउन नदिनु भनेको व्यवस्थापनमा समस्या हो।’

युरोप, अष्ट्रेलिया, अमेरिका, खाडी राष्ट्रमा रहेका हाम्रा आफन्तहरु सुरक्षित रहनुहोला भन्ने कामना शिवाय अरु केही भन्न सकिन्न। बिदेशका नागरिक नेपालबाट जहाज चार्टर गरेर फर्केको खबर सुन्दा खिन्न लाग्छ होला। तर, यहाँ हालत यस्तै छ।

कसलाई गुनासो गर्नु, गरेर हुन्छ नै के ? कम्तिमा भारतको सयौ किलोमिटर भोकै नाङ्गै हिंडेर सिमा पुगेकालाई वारी ल्याएर सेना प्रहरीकै क्याम्पमा राखेर दालभात दिदा, २५ दिन राख्दा पनि हुन्थ्यो होला। सकिन्छ भने बेसहारा बन्न नदिने व्यवस्था गरौं। परेको बेला देशले सम्झेन भने नपरेको बेला राष्ट्रियताको भाषाणले केही फरक पार्दैन। श्रमिक र मजदुरको मन दुखाउनु हुँदैन।’ 

१९ चैत्र २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको