अमेरिकामा कोरोनाबाट एक लाखदेखि २ लाख ४० हजारसम्मको मृत्यु हुने चेतावनी


चैत १९, वासिङ्टन । अमेरिकामा कोरोना भाइरसबाट १ लाखदेखि २ लाख ४० हजार जनासम्मको मृत्यु हुनसक्ने चेतावनी अधिकारीहरुले दिएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा गठित उच्चस्तरीय कार्यदलका अधिकारीहरुले यस्तो भविष्यवाणी गरेका हुन्।

‘सरकारी निर्देशन पालना गरेपनि १ लाखदेखि २ लाख ४० हजारसम्मको मृत्यु हुनसक्छ,’ कार्यदलकी सदस्य डा. डेबोरा बर्क्सले मंगलबार भनिन्।

अधिकारीहरुले मृतक संख्य कम गर्न कुनै कसर नछाडिने बताएका छन्। राष्ट्रपति ट्रम्पले पनि आगामी दुई साता अमेरिकाका लागि निकै पीडादायी हुने बताएका छन्।

अमेरिकाले सुरुमै महामारीलाई रोक्न पर्याप्त उपाय र तयारी गर्न नसकेको आरोप लागिरहेका बेला ट्रम्पले भने त्यसको खण्डन गरेका छन्। हाल अमेरिकामा कम्तीमा ३ हजार ८ सय ४८ जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्या पनि २ लाख नजिक पुगेको छ।

अमेरिकीहरूलाई आगामी दुई साता निकै असहज र चुनौतीपूर्ण : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरूलाई आगामी दुई साताको समय निकै असहज र चुनौतीपूर्ण हुने बताएका छन्।

कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्यामा अमेरिकाले चीनलाई उछिनेको परिस्थितिमा बोल्दै राष्ट्रपति ट्रम्पले अमेरिका ‘अहिलेसम्म कहिल्यै सामना नगरिएको परीक्षामा रहेको’ बताएका हुन् ।

ह्वाइटहाउसले अमेरिकामा महामारीले एक लाखदेखि दुई लाख ४० हजारको बीचमा मानिसहरूको ज्यान लिनसक्ने चेतावनी दिएको छ ।

विश्वमै सबैभन्दा धेरै सङ्क्रमित रहेको अमेरिकामा अहिलेसम्म तीन हजार छ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्। अधिकारीहरूले त्यहाँ तीस दिनको सामाजिक दूरी कायम गर्नेजस्ता कदमले सङ्क्रमितको सङ्ख्या कम गर्ने बताएका छन्।

तर सुरुमा यस भाइरसलाई ‘मौसमी रुघाखोकी’ भन्दै कम आँकेको र ढिलो कदमहरू चालेको भन्दै ट्रम्प आलोचित बन्दै आएका छन्। ट्रम्पले भने चीनमा भाइरसको सङ्क्रमण सुरु भएदेखि नै आफू यसको क्रूरताबारे सचेत भएको बताएका छन्।

पहिलेदेखि नै मानिसहरू नआत्तिउन् भन्ने आफूले चाहेको बताउँदै ट्रम्पले भने: “आशा गरौँ यो महिनाको अन्त्यसम्म यो जानेछ।” ह्वाइटहाउसका कोरोनाभाइरस मामिला हेर्ने संयोजक डा डेबोरा ब्रिक्सले यस सङ्कटबाट पार पाउन ‘कुनै जादुजस्तो खोप वा चिकित्साविधान नरहेको’ बताइन्।

“तर मानिसहरूको व्यवहारमा परिवर्तन ल्याएर आउँदा तीस दिनमा नयाँ मोड दिन सकिन्छ,” उनले भनिन्। ट्रम्पले यसअघि आफूले बताएको एउटा औलोविरूद्धको उपचारपद्धति कोभिड १९ का लागि संभवत ‘पूर्णपरिवर्तनकारी’ हुनसक्ने भनाइमा पुन: जोड दिएका छन्।

उनले कोरोनाभाइरसविरूद्धको खोपको प्रगति आफूले अधिकारीहरूलाई दैनिक सोध्ने पहिलो प्रश्न रहने गरेको बताए ।

२०७६ चैत्र १९,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको