फ्रान्समा पहिलो पटक एकैदिन ४९९ को मृत्यु


चैत १८, फ्रान्स । फ्रान्समा कोरोनाभाइरसको संक्रमणबाट एकैदिन ४ सय ९९ को मृत्यु भएको छ ।

फ्रान्सका स्वास्थ्य सेवा निर्देशक जेरोमी सोलोमनले पछिल्लो २४ घण्टामा कोरोनका कारण ४ सय ९९ जनाको मृत्यु भएको जानकारी दिए । यससँगै यहाँ मृतकको संख्या ३ हजार ५ सय २३ पुगेको छ । उनीहरु सबैको मृत्यु अस्पतालमा भएको हो ।

फ्रान्समा महामारी सुरु भएपछि पहिलो पटक एकैदिन यति धेरैको मृत्यु भएको हो ।

पत्रकार सम्मेलनमा जेरोमी सोलोमनले पछिल्लो २४ घण्टामा देशमा कोरोना संक्रमितको संख्या ४४ हजार ५ सय ५० बाट बढेर ५२,१२८ पुगेको बताए ।

जोन हप्किन्स युनिभर्सिटीका अनुसार फ्रान्स ती ६ देशमध्ये एक हो जहाँ कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै छ । अहिलेसम्म फ्रान्ससमेत अमेरिका, इटली, चीन, स्पेन र जर्मनीमा कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै छ ।

स्पेनमा कोरोना संक्रमितको संख्या करिव एक लाख

यस्तै स्पेनमा कोरोना संक्रमितको संख्या ९५ हजार ९ सय २३ जना भन्दा बढी पुगेको जनाइएको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपियन मुलुकहरुमा संक्रमणको दर रोकिएको छैन ।

स्पेनमा पछिल्लो २४ घण्टामा मात्रै ७ सय ४८ जनाले ज्यान गुमाएका छन् । यो सँगै स्पेनमा ज्यान गुमाउनेको संख्या ८ हजार ४ सय ६४ पुगेको छ । त्यस्तै एकै दिन ७ हजार ९ सय ६७ जना नयाँ संक्रमित देखिएका छन् ।

योसँगै स्पेनमा ९५ हजार ९ सय २३ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १९ हजार २ सय २५ जना उपचारपछि निको भएका छन् । ५ हजार ६ सय ७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ६८ हजार २ सय उपचाररत छन् ।

कोरोना भाइरसका कारण संक्रमितको संख्या विश्वमा ८ लाख ५६ हजार ९ सय १० पुगेको छ । एकै दिन ७२ हजार १ सय ७२ जनामा संक्रमण देखिएको जनाइएको छ ।

विश्वव्यापी रुपमा एकैदिन ४ हजार ३ सय ३४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ । संक्रमितमध्ये १ लाख ७७ हजार १ सय ४१ जना उपचारपछि निको भएका छन् ।

१९ चैत्र २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको