दाङमा ५० लाखको लगानीमा व्यवसायीक कागती खेती सुरु


फागुन १८, दाङ । दाङमा एक जनाले ५० लाख रुपैया लगानी गरेर व्यवसासिक कागती खेती सुरु गरेका छ्न ।

रुकुमको खारा निवासी रामचन्द्र खड्काले ५० लाख बढिको लगानी गरेर तुलसीपुर उपमहानगरपालिका–१९ को बिजौरीमा कागतीको व्यवसायीक खेती गरेका हुन ।

करिव २३ कट्ठा जमिन बार्षिक ५० हजार रुपैयामा भाडामा लिएका उनले करिव १५ सय कागतीका विरुवा रोपेका छन । उनले दुई बर्ष पहिले भारतबाट ‘युरेका लेवन’ जातको कागतीको ल्याएर रोपेका हुन । उक्त विरुवाले यसबर्षदेखि उत्पादन दिन सुरु गरेको समेत बताए ।

दाङमा कागतीको राम्रो सम्भावनासँगै उत्पादन समेत लिन सकिने देखेपछि कागती व्यवसाय सुरु गरेका खड्काले यो बर्षदेखि उत्पादन समेत लिन सुरु गरेका छन । उनका अनुसार यो बर्ष खड्काले १५ कुन्टल कागती विक्रि गरेको बताए । खड्काले उत्पादन गरेको कागती गाउँघरदेखि घोराही, तुलसीपुर बजारसँगै काठमाडौंसम्म पु¥याउने गरेको बताएका छन ।

पूर्व जनमुक्ति सेना समेत रहेका ३३ बर्षीय खड्का शान्ति प्रक्रियापछि करिव ६ बर्ष मलेसिया र अफगानस्थानमा समेत बसेका थिए । ‘जनयुद्धमा हिड्दा घरपरिवारको चिन्ता थिएन,तर शान्ति प्रक्रियापछि घरपरिवार चलाउनुपर्ने भयो’, खड्काले भने,‘पार्टीको माथिल्लो पोष्टमा हुनेले कमाए, तर आफुजस्तालाई परिवार पाल्नै मुस्किल पर्न थालेपछि सुरुमा मलेसिया गए ।

‘मलेसियामा काम ठिकै थियो, दुःख थिएन’,उनले भने,‘तर आफुलाई पैसा चाहिएको थियो, पैसा नै नभएपछि करिव अढाई बर्षपछि फर्किए घर ।’ नेपाल फर्किएका खडकाले थोरै विदेशमा कमाएको पैसामा आफ्नो पुर्खेउली सम्पती बेचेर केही व्यवसाय गर्ने सोचले दाङको बिजौरी झरेको बताए ।

२०६६ सालदेखि बिजौरीमा बस्न खड्काले सुरुमा सोलार पसल गरेका थिए । तर त्यो सोलार पसल चल्न सकेन । त्यसपछि उनी लागे अफगानस्थान । सशस्त्र द्धन्द्धका क्रममा आफुसँगै काम गरेका साथीहरु अफगानस्थानमा गएर राम्रो कमाई रहेका थिए । उनीहरुको सल्लाहमै खड्का अफगानस्थानको कानधारामा पुगे ।

कानधारमा नेटो सेनाको क्याम्पमा उनले काम गर्न थाले । ‘काम जोखिम भएपनि कमाई राम्रै थियो,तर उक्त स्थानबाट नेटो सेना हट्ने भएपछि हाम्रो काम भएन’,उनले भने,‘२५ महिना बसेर नेपाल फर्किए ।’ नेपाल फर्किएका खड्का पुन मलेसिया पुगे । त्यहाँ ६ महिना बसेर स्वदेश फर्किएका खड्काले पहिले किनेको तीन कट्ठा जग्गा बसेर कागती खेती सुरु गरेको बताउँछन ।

सुरुमा मलेसिया,त्यसपछि अफगानस्थान र त्यसपछि पुन मलेसिया बसेर स्वदेश फर्किएका खड्काले २०७४ पुस महिनादेखि २३ कट्ठा जमिन भाडामा लिएर कागतीको व्यवसायीक खेती गर्न थालेका हुन । ‘रोजगारीका लागी पटक–पटक बिदेश गैरहदा आफैलाई नराम्रो लाग्न थाल्यो’,उनले भने,‘ विदेशमै स्वदेश गएर फलफुल व्यवसाय गर्छु भन्ने सोचे र फर्किए ।’ मलेसियाबाट स्वदेश फर्किएका खड्का छ महिना घर नआई काठमाण्डौ बसे । काठमाडौ छ महिना बस्दा के गर्न सकिन्छ भनेर कृषिसँग सम्वन्धी मन्त्रालयलगायतका विभिन्न ठाउँमा धाएको उनी बताउँछन ।

कृषि प्राविधिकको सल्लाह अनुसार त्यसपछि दाङ आएर कागती खेती सुरु गरेको उनी बताउँछन । स्वदेशमै केही गरौ भन्ने उद्देश्यले व्यवसाय सुरु गरेको बताउने खड्काले नेपालमा कृषि व्यवसाय गर्न झन्झिटिलो कानुनी प्रक्रियाका कारण समस्या भोग्नु परेको समेत बताए ।

‘सरकारले किसानलाई कृषि व्यवसायमा प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न अनुदानका कुरा गरेपनि त्यो बास्तविक किसानले पाउन निकै समस्या छ’, उनले भने, ‘स्वदेशमै केही गर्छु भन्ने किसानलाई राज्यले दिने सुविधा सहज रुपमा प्राप्त गर्ने बातावरण बन्न आवश्यक छ ।’ राज्यले सहज रुपमा सुविधा प्राप्त गर्न बातावरण निर्माण गरे आफु जस्ता धेरै किसान खुशी हुने उनले बताएका छन ।

‘राज्यले निती नियम बनाउँदा कृषीमा लाग्ने युवाहरुलाई प्रोत्साहन गर्ने र सहज रुपमा ऋणको व्यवस्था गरिने भन्छन’,उनले भने,‘तर व्यवहारिक रुपमा ऋण लिन धेरै कठिन छ, जुन मैले भोगीसकेको छु ।’ खड्का अनुसार अहिले राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्नकालागि राज्यले दिने सुविधाको ५० प्रतिशत कमिसन दिनुपर्ने बाध्यतारहेको समेत बताए । नत्र आफु जस्ता किसानहरुले राज्यको अनुदान पाउनै नसक्ने उनी बताउँछन ।

राज्यले आफुहरु जस्ता किसानहरुलाई सहज रुपमा ऋण व्यवस्था गर्न सके स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सकिने उनको भनाई छ । सूर्या जैविक कृषि केन्द्र प्रालिमार्फत कृषि व्यवसायमा लागेका खड्काले उत्पादन गरेको कागती जिल्लाका विभिन्न बजारसँगै काठमाडौंसम्म जाने गरेको बताउँछन । कागतीको फलसँगै कागतीको कलमे विरुवा उत्पादन गरेर समेत विक्रि गर्ने तयारी गरेको बताए ।
तत्कालि समयमा राज्यको अत्याचारपूर्ण व्यवहारबाट माओवादी आन्दोलनमा लागेका खड्का अहिले कुनै पनि पार्टीमा नभएको बताए । अहिले उनलाई राजनीति भन्दा आर्थिक तथा सामाजिक परिवर्तनका लागि युवाहरुको संगठन आवश्यकता रहेको समेत बताए ।

‘राजनीतिमा लागेर करिव आठ बर्ष संघर्ष गरियो, अहिले त्यसको उपलव्धी अर्कैले लिएका छन’,खड्काले भने,‘सामन्य नागरिकको लागि गर्ने कोही छैनन्, त्यसैले अव राजनीतिक होइन, आर्थिक परिवर्तनकालागि युवाहरु संगठित हुन आवश्यक छ ।’ करिव ४० विगाह जमिनमा ४० हजार कागती विरुवा पु¥याउने लक्ष्य लिएको बताए ।

२०७६ फाल्गुन १८,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको