अज्ञात समूहको कुटाइबाट गाउँपालिका अध्यक्ष गम्भीर घाइते, उपचारका लागि काठमाडौँ लगियो


माघ १८, अमरगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको छ ।

शुक्रबार उनलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेको हो । आलिताल गाउँपालिका–३ को वडा बैठकमा सहभागी हुनका लागि बैठकस्थलतर्फ जाने क्रममा उनलाई अपहरण गरी कुटपिट गरेको नेकपा जिल्ला कमिटी डडेल्धुराले विज्ञप्तिमार्फत जनाएको छ ।

आलितालभन्दा करीब ५०० मिटरमाथि चौरवण्डले भन्ने स्थानमा मुखुण्डोधारी समूहले जोशीमाथि कुटपिट गरी गम्भीर घाइते बनाएको नेकपा जिल्ला कमिटी सचिव वीरेन्द्रकुमार बस्नेतले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीको नेतृत्वमा खोजतलास गर्दा निर्घात कुटपिट गरी अलपत्र अवस्थामा भेट्टिएको बताइएको छ । अज्ञात समूहको कुटपिटबाट जोशी गम्भीर घाइते भएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरी सहायक निरीक्षक जोशीले जानकारी दिए ।

उनको खुट्टा भाँच्चिएको छ भने टाउको र हातमा गम्भीर चोट लागेको छ । जोशीसँगै मोटरसाइकमा सवार नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहरा भागेर अपहरण र कुटपिटबाट जोगिएको बताइएको छ । नेकपा डडेल्धुराले यस्ता घृणित क्रियाकलापमा संलनलाई यथाशीघ्र खोजी कानूनबमोजिम हदैसम्म कारवाहीको मागसमेत गरेको छ ।

अध्यक्ष जोशीलाई उपचारका लागि काठमाडौँ लगिएको छ । अज्ञात समूहको कुटपिटबाट गम्भीर घाइते हुनुभएका उनलाई उपचारका लागि धनगढी सिफारिश गरिएको थियो । धनगढीमा पनि उपचार सम्भव नभएपछि उनलाई काठमाडौँ लगिएको नेकपा डडेल्धुराले जनाएको छ ।

१८ माघ २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको