प्रकृतिलाई बिगारेर हैन, सिंगारेर अभियान चलाऊँ: राष्ट्रपति


पुस १६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिलाई सिंगारेर अभियान सञ्चालन गर्न आग्रह गरेकी छिन्।

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीले नेपाल भ्रमणका लागि गन्तव्यको विविधिकरण भएको उल्लेख गरिन्।

‘प्रकृतिलाई बिगारेर हैन, सिंगारेर अभियान चलाऊँ’, राष्ट्रपति भण्डारीले भनिन्, ‘पर्यटकको खानपान र उपयोगका वस्तु देशभित्र उत्पादन गर्न सके आम्दानी पनि आम जनताको पहुँचमा पुर्‍याउन सक्छौं।’

उनले अहिले पर्यटकहरूमा आरामदायी भन्दा नयाँ अनुभूत गर्ने सोच बढेको उल्लेख गरिन्। उनले साँस्कृतिक विविधताको कारण नेपालले सबै खालका पर्यटकहरूलाई आकर्षित गर्न सक्ने बताइन्।

‘नेपालीमा अन्तरनिहित अतिथि देवो भव: पर्यटकहरूले रुचाउने पक्ष हो’, भण्डारीले भनिन्, ‘हाम्रो यो असल संस्कृति जोगाइ राख्नुपर्दछ।’ उनले नेपालले पर्यटक आकर्षित गर्न पर्यावरण मैत्री ढंगले भौतिक सुविधाहरू थप्नुपर्ने बताइन्।

साथै नेपालले नदी, तालतलैया, पोखरी, गुफा, छहरासँगै पदयात्रा आरोह र साहसिक खेलको सम्भावनाको सदुपयोग गर्नुपर्ने तर्क गरिन्। उनले पर्यावरण मैत्री होमस्टेको विकासले नेपालमा बाह्य र आन्तरिक पर्यटन विकास गरेको उल्लेख गरिन्।

उनले पर्यटन वर्ष मनाउँदा नाफाको मात्र ख्याल नराखी ‘बसुधैवम् कुटुम्बकम’ को नारा र नेपालको शान्तिप्रतिको प्रतिबद्धता उजागर गर्ने उद्देश्यमा सहयोग पुर्‍याउन आग्रह गरिन्।

१६ पुष २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको