घर भाडामा बस्नेमाथि सरकारको निगरानी, घरबेटीले सबै विवरण प्रहरीलाई बुझाउनुपर्ने


पुस १६, काठमाडौँ । सरकारले घर भाडामा दिने घरबेटी मार्फत भाडामा बस्नेहरूको विवरण खोज्ने तयारी गरेको छ ।

पछिल्लो समय राजधानी काठमाडौंसहित देशका मुख्य शहरी क्षेत्रमा भाडामा बस्नेहरू मार्फत आपराधिक गतिविधि बढेको निश्कर्षसहित सरकारले घरबेटीमार्फत नै घर भाडामा लिएर बस्नेहरूको विवरण खोज्ने तयारी गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकमा सो बारे छलफल भएको हो । गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमेत सहभागी बैठकमा गृहमन्त्री थापाले राजधानीसहित शहरी क्षेत्रमा आपराधिक गतिविधि बढेको विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका थिए ।

‘सहरी क्षेत्रमा घरभाडा लिएर विभिन्न व्यक्ति र समूहले आपराधिक गतिविधि गरिरहेको र पछिल्लो समय गतिविधि बढेको विषयमा बैठकमा छलफल भयो, अब घरबेटी मार्फत भाडामा बस्नेहरूको विवरण राख्नेतर्फ तयारी अघि बढाउन भनिएको छ,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले राजधानीसँग भने ।

विवरणमा घरभाडामा दिँदा र लिँदा भाडामा बस्ने व्यक्ति, संस्था, कार्यालयको परिचय खुल्ने कागजातसहित फोन नम्बर समेत भएको विस्तृत विवरण एवं घर छाडेको भए सोको समेत विवरण समेत नजिकको स्थानीय प्रहरी कार्यालयमा घरबेटीले दिनु पर्ने छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले घरमा भाडामा बस्नेहरूको विवरण अद्यावधिक गरी राख्नेतर्फ आवश्यक प्रक्रिया सुरु गरिसकिएको बताए । गृहले समेत घरबेटीसँग समन्वय गरी अघि बढ्न प्रहरीलाई आवश्यक कदम चाल्न निर्देशन गरिसकेको छ । राजधानी दैनिकमा खबर छ ।

१६ पुष २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको