नेपाल भ्रमण बर्ष – २०२० को शुभारम्भ र रुकुम पूर्वको भ्रमणका आधारहरु


भरत कुमार पुन/पुस १६
बाईस बर्ष अगाडि अर्थात सम्बत ०५४ सालको एसएलसी परीक्षा दिने पौने पाँचलाख परिक्षार्थीमा नियमित तर्फ म पनि सहभागी थिएँ । परीक्षा मिति चैत्रको अन्तिम साता तोकिएको थियो। उमेर त्यस्तै १७ कट्दै थियो । परिक्षामा अरु बिषय जसरी अंग्रेजी बिषयको पालो पनि आयो । कतिऔं दिनमा आयो त्यो भने याद भएन । अंग्रेजी बिषयका लागि प्रश्न उत्तरका अलावा निबन्ध च्याप्टर पनि थियो । निबन्धका लागि २/३ वटा शिर्षकहरु थिए । ती मध्ये एक छानेर लेख्नुपर्ने थियो । अरु मलाई याद भएन तर एउटा शीर्षक चैं VisitNepal’98 थियो, मैले यहि शीर्षक रोजें ।

सरहरुले कोचिङ्गमा पनि सो शिर्षकको निबन्धलाई बेशी जोड दिएर पढाउनु हुन्थ्यो । सायद परिक्षामा आउने संभावना देखेर होला । पढे अनुसार लेखें । के लेखें खासै संझना भएन । यति मात्र थाहा थियो कि नेपाल भ्रमणमा कुईरेहरुको आगमन बढ्दो चैं हुन्छ । त्यसपछि सन २०११ लाई पनि सरकारले नेपाल भ्रमण बर्ष घोषणा गर्यो ।

नेपाल घुम्न पर्यटक कति आए के के उपलब्धी हासिल भए ? सरकारी तथ्याङ्क सम्बन्धीत मन्त्रालय र सचिवालयमा अबश्य होला । यसपटक पनि बहालवाला अजंगको कम्यूनिष्ट सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारालाई ब्यबाहरिक रुप दिन एउटा पाटो पर्यटन प्रबर्द्धनलाई लिएको छ । जस्का लागि सन २०२०लाई नेपाल भ्रमण बर्षका रुपमा मनाउने निर्णय गरेको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको प्रचार छ । सोही अनुसार केन्द्र सरकार, प्रदेश सरकारले पर्यटन मन्त्रालय र यस मातहतका निकाय मार्फत आफ्नो गतिबिधि अघि बढाएको छ । माथि केन्द्र देखि तल स्थानिय तहसम्म कार्यक्रमलाई भब्य र ऐतिहासिक बनाउन के कस्ता तयारी र पहलकदमी भईरहेका छन् ? ‘अपडेट’ सम्बन्धीत निकायसंग होला । एउटा खुशीको सवाल मान्नुपर्छ, विश्व प्रसिद्ध ‘फोर्ब्स मागाजिन’ले पनि सन २०२० का लागि विश्वका उत्कृष्ट १० गन्तव्य मध्ये नेपाललाई पहिलो नम्बरमा राखेर नेपाल भ्रमणमा जान भनेर विश्वलाई घुमाउरो पाराले दबाव सिर्जना गरेको छ । यसले पनि नेपाल भ्रमण-बर्षको कार्यक्रमलाई सफल बनाउन हामी नेपालीलाई थप जिम्मेवार बन्न नैतिक दबाव बढेको छ । यहाँ पर्यटन सम्बन्धी संभाबना र चुनौतीका बारे प्रकाश पार्ने जमर्को गरिएको छ ।

के हो पर्यटन ?
सामान्यतया पर्यटन भन्नाले हामीले छोटो समयका लागि देश भित्र वा बाहिर घुमेर मनोरन्जन् र ज्ञान हासिल गर्ने कामलाई पर्यटन भनेर बुझ्ने गर्छौं । पर्यटनको प्रबर्द्धन गर्न सके देशको अर्थतन्त्रमा टेवा पुग्छ। बर्षभरि कामले थाकेका जो कोहि पनि आफ्नो गच्छे(आर्थिक) अनुसार नयाँनौलो ठाउँ या देश(विदेश) घुम्न रुचाउँछौं। अाफ्नै देशका हेर्न र घुम्नलायक ठाउँहरु जो चर्चित छन्; लाई दर्शन गर्न निस्क्यौं भने हामी आन्तरिक पर्यटकका रुपमा चिनिन्छौं । विदेश घुम्न निस्क्यौं भने वा विदेशीहरु हाम्रो देश घुम्न आए भने बाह्य पर्यटक भनेर बुझ्नुपर्छ । अहिले सुचना प्रविधिको तिव्रतर विकाससंगै सिंगो विश्व एउटा गाउँ या शहर जस्तै भएको छ। एउटा ध्रुवको मान्छे अर्को ध्रुवको मान्छेसंग क्षणभरमै जोडिन सक्छन् । घनिष्ठ बन्छन् । यसबाट पनि मान्छेको विश्व घुम्ने चाहनामा बल पुगेको छ। यसरी पनि आजभोलि पर्यटकको संख्या दिनानुदिन बढिरहेको छ । जो सक्रात्मक पक्ष हो।

रुकुम पूर्वको पर्यटन बारे:
रुकुम पूर्व पर्यटनका दृष्टिले अथाह संभावना भएको कान्छो जिल्ला हो। यहाँ पाँच नम्बर प्रदेशको अग्लो पुथा हिमाल(७,२४६) अन्य आधा दर्जन जति हिमाल हरु पुथा वरिपरि रहेका छन्। चर्चित सिस्ने हिमाल(५,९००मी.) पनि यहि जिल्लामा रहेको छ। असंख्य तालतलैया, धार्मिक, साँस्कृतिक र साहासिक पदयात्राका लागि रुकुम पूर्ब पर्यटनका लागि उपयुक्त गन्तव्य बन्न सक्छ। करिब ८०% मगरहरुको बसोबास् रहेको यस जिल्ला पछिल्लो समय मगर खाम भाषा अध्ययन केन्द्रका रुपमा पनि विकास हुन थालेको छ। जसमा नेपाली लगायत विदेशीहरुको चासो र सक्रियता बढेको छ। साविक रुकुम जिल्ला हुँदै करिब ९०% पर्यटन क्षेत्र अहिलेको रुकुम पूर्बले ओगटेको थियो। यस हिसाबले पनि रुकुम पूर्व पर्यटनका लागि नयाँ र भरपर्दो गन्तव्य बन्न सक्छ। रुकुम पूर्वको पर्यटकीय आकर्षणका आधारहरु यी शीर्षक हुन सक्छन् ।

१) यार्सा ट्रेल:
विश्वकै बहुमुल्य जडिबुटीमा दर्ज भएको यार्सा(जीवनबुटी) यस जिल्लाको उत्तरी हिमाली भेगमा पाईन्छ। करिब ४०००/४६०० मी. उचाईमा अबस्थीत पुपाल बुकीको रेन्जमा पाईने यस जडिबुटी बर्सेनि हजारौं यार्सा संकलक मार्फत टिप्ने गरिन्छ। दुईमहिना सम्म जारी रहने यो सिजनको अाफ्नै खालको स्थानिय नीतिनियम हुन्छ। जेठको पहिलो हप्ता खुल्ने यो सिजनमा टाढा टाढाबाट यार्सासंकलक, यार्सा व्यापारी र होटल ब्यबसायी अाउने गर्दछन्। राष्ट्रिय स्तरका पहुँचवाला मिडियाकर्मी पनि झुल्कने गर्दछन्। साथै डकुमेन्ट्रि मेकर र स-साना फिल्ममेकर पनि अाउने गर्दछन्। सम्बत ०६८ तिर दिपेन्द्र भण्डारी निर्देशित यार्सा जनजीजनमा अाधारित डकुमेन्ट्रि ‘जर्नी टु यार्सा’ले देशविदेशमा तहल्कै मच्चाएको थियो। त्यसबेलाको दक्षिण एसियाली डकुमेन्ट्रि फेस्टिबलमा तेस्रो स्थान हासिल गरेको थियो। डकुमेन्ट्रिमेकर कुमार चौलागाई र छाँयाँकार रमेश धमालाले पनि यहाँको स्थलगत भ्रमण पश्चात भन्छन् ‘यस क्षेत्रको अथाह संभावना छ। केन्द्र सरकारसंग समन्वय गरि भविष्यमा ‘फिल्मीसिटी’ को रुपमा विकास गर्न सकिन्छ। त्यसका लागि गतिलो पहलकदमी चाहिन्छ।’ यसरी पनि यार्सा ट्रेलको छुट्टै प्याकेज बनाई पर्यटकलाई आर्कर्षित गर्न सकिन्छ।

२) गुरिल्ला ट्रेक:
नेपालमा चलेको दशक लामो द्वन्द्वलाई पर्यटन संग जोड्ने उद्देश्य राखेर केही बर्ष अघिबाट गुरिल्ला ट्रेकको अबधारणा अघि सारिएको छ। तीन बर्ष अघि देखि मैकोटलाई केन्द्रबिन्दु बनाएर स्लोभेनिया नागरिक माट्जाज पिन्टर र ईभा पिभाचले ‘नेपालमा युद्ध कसरी शुरु भो र कसरी अन्त भो?’ भन्ने बिषयमा फिल्म थेसिस् तयार गरिरहेका छन् जो तयारीको अन्तिम अबस्थामा रहेको जनाएका छन्। द्वन्द्वका समयमा बिद्रोहीहरुको रुट, बासस्थान(सेल्टर), तालिम स्थल, भिडण्त स्थल, कब्जा गरिएका भग्नाबशेष क्याम्प, सामुहिक समाधी स्थल, युद्धको पीडा प्रत्यक्ष भोगेका जनतासंगको साक्षात्कार, युद्धमा सहभागी सैन्य दस्ताका अनुभव र अनुभूति, उनिहरुको बर्तमान जीवनशैली आदि बारे थाहा पाउन युद्ध पर्यटकलाई सजिलो होस भनेर यो गुरिल्ला ट्रेकको अबधारणा र नक्सा तयार गरिएको छ। यसरी सो रुट प्रयोग गरेर युद्ध पर्यटनको मनोरन्जन र ज्ञान लिन सकिन्छ। गुरिल्ला ट्रेकलाई अझ विश्व सामु प्रचारप्रसार गर्नका लागि भुमे गाउँपालिकाको सौजन्यमा बर्सेनि भुमेको महतमा राष्ट्रिय स्तरको ‘गुरिल्ला म्याराथुन रेस’ आयोजना गरिन्छ।

३)कल्चरल जोन:
यस जिल्ला साँस्कृतिक रुपले धनी छ। माथि उल्लेख गरिए अनुसार यस जिल्लामा मगर बाहुल्यता भएका कारण मगर संस्कृतिसंग सम्बन्धीत रहनसहन, भेषभुषा, खान्की(दिंदो र सिस्नु वा दिंदो र गुन्द्रुक), विभिन्न पौराणिक मेलापर्व, मगर शैलीमा निर्माण गरिएका चिटिक्क परेका घरहरु, आदिबाट पनि यहाँ आउने पर्यटकहरु मख्ख हुने गर्दछन्। कतिपय पर्यटक नितान्त मगर संस्कृती र खामभाषा अध्ययन अनुसन्धानका लागि आउने गरेका छन्। यस जिल्लामा मगर समुदायका अलावा अन्य जातका बासिन्दाहरुको रहनसहन र मौलिक परम्परा पनि कम लोभलागदो छैन। मैकोटको मंसिरे सक्रान्ती पर्व, तकसेरा र लुकुम अासपासको भुम्या पर्व(बल्कु) र रुकुमकोटको नाथीगाड जात्रा यस जिल्लाको चर्चित मेलापर्व हुन्। जसको उचित प्रबर्द्धन मात्र गरे पनि पर्यटकलाई लोभ्याउन सकिन्छ। रुकुम पूर्वमा रहेका धार्मिक आस्थाका मठ मन्दिर जस्तै: मैकोटको मस्ता थान, पुपाल बराह, हुकाम र तकसेरा बिचको नमछैंगों अादि यहाँका पर्यटकीय आकर्षणका केन्द्र हुन्।

४)अर्गानिक तथा हर्बल जोन:
यो जिल्ला स्याउ, ओखर, टिम्मुर, किवी अादि फलफूल खेतीका लागि उर्वर र संभावना युक्त जिल्ला हो। जिल्लाको उत्तरी गाउँहरुमा स्याउ खेतीका लागि अभियान नै थालिएको छ। एक दुई साल पछि उत्पादित स्याउको बजार ब्यबस्थापनका लागि सकस् पर्ने अनुमान गरिएको छ। जडिबुटीमा बहुमुल्य जडीबुटी यार्सागुम्बा प्रतिबन्धित जडिबुटी पाँचऔंले लगायत अन्य जडिबुटीमा अतिस्, विक्मा, सेतकचिनी, कतुकी, समायो, पदमचाल, सतुवा, अादि पाईन्छन्। यी स्याउ, टिम्मुर, किवी र जडिबुटीको उचित खेती ब्यबस्था र प्रबर्द्धन गर्न सके पनि अर्ग्यानिक तथा हर्वल जोनको रुपमा विकास गरि पर्यटकलाई आकर्षित गर्न सकिने संभावना प्रबल रहेको छ।

५) सिकार पर्यटन:
यस जिल्ला ५ नम्बर प्रदेशको एकमात्र हिमाली जिल्ला हो। हिमाली जिल्ला भएका कारण यहाँ हिमाली भेगमा पाईने बन्यजन्तु जस्तै: कस्तुरी, नावर, झारल, हिमचितुवा, रेडपाण्डा, अादि बन्यजन्तु पाईन्छन्। नेपालकै एकमात्र बन्यजन्तु सिकार अारक्ष; ‘ढोरपाटन सिकार आरक्ष’को ६०% भुभाग यस जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकामा पर्दछ। सिकारका लागि अनुमति प्राप्त ब्लकहरु सेङ्खोला, सुनदह, दोगाडी र गुस्दुङ् ब्लक यसै पालिकाको १,२ र ३ नम्बर वडामा पर्छन। बर्सेनि दुई सिजन असोज अन्तिम साता देखि मंसिर पहिलो हप्ता सम्म र फागुन पहिलो साता देखि बैशाख दोस्रो साता सम्म ढोरपाटन बन्यजन्तु सिकार अारक्ष क्षेत्र भित्र रहेका उपरोक्त ब्लकहरुमा विभिन्न हन्टिङ्ग सफारी कम्पनी मार्फत विश्वका धनादय ब्यक्तिहरु नावर र झारलका सिकार खेल्न अाउने गर्दछन्। अमेरिकन, रसियन, स्पेनिस, जर्मनी अादि देशबाट सिकारीहरु यहाँ सिकार खेल्न अाउछन्। एक ट्रिपमा छिटोमा हप्ता दिन ढिलोमा दुई हप्तासम्म सिकार क्षेत्र अर्थात यस जिल्लाको हिमाली क्षेत्रमा बिताउने गर्छन्। सिकारी टोलीले सिकारका अलावा सिकार सम्बन्धी छोटो खालका डकुमेन्ट्रि बनाई अाफ्नो युट्युब च्यानलमा अपलोड गर्दै अाएका छन्। जसको मद्यतबाट बर्सेनि पाहुना सिकारीको सहभागिता बढ्दो छ। यसले पनि यस क्षेत्र र जिल्लाको पर्यटन प्रबर्द्धन र विकासका लागि काफी सहयोग पुगेको छ।

ग्रामीण पर्यटन क्षेत्रका चुनौती र समस्या:
गएको कात्तिक अन्तिम साता फ्रेन्च नागरिकहरुको एउटा टोली म्याग्दी देखि ढोरपाटन हुँदै मैकोट भएर झरे। भरिया सहित करिब १२/१३ जनाको समूह थियो। विदेशीहरु भने पाँच जना जति थिए। सहभागी मध्ये कोही बुढापाका कोही केटाकेटी हुनुले उनीहरुको पारिवारीक टुर हो भनेर सहजै बुझिन्थ्यो। एउटा रोचक दृष्य के थियो भने टोलीमा सहभागी एक वृद्ध पुरुष पर्यटकले झोलाको सट्टा दोको बोकेका थिए। उनले दोको चाउचाउ, बिस्कुट र प्लास्टिकका टुक्रा जम्मा गर्न बोकेका रहेछन्। म्याग्दीको ताकम देखि चाउचाउ, बिस्कुट र प्लास्टिकका टुक्रा उथाउँदै जलाउँदै गर्दै मैकोट सम्म जारी राखेका रहेछन्। मैकोट छोड्दा पनि उनको भारी त्यहि दोको नै थियो। कहाँसम्म दोको बोके त्यो थाहा भएन ।
उपरोक्त शब्दचित्र स्थानिय पर्यटनको अबस्था बारे काफी ब्यंग्य प्रहार थियो कि पर्यटन सम्बन्धी हाम्रो मानसिकता र व्यवहार कति खस्कँदो र दयनिय छ भनेर। जावा बाटाघाटाको प्लास्टिकजन्य फोहोर उठाउन पनि पर्यटकले सिकाउनु पर्ने? पर्यटकले नै उठाईदिनुपर्ने? सवाल पेचिलो छ। यस पंक्तिकारको बुझाईमा पर्यटन क्षेत्रको चुनौती यस प्रकार रहेका छन्:
क) पर्यटकका लागि बाटाघाटा, खान्की, सुत्ने ठाउँ, सौचालय सफा हुनुपर्छ । तर सफा छैन । अर्थात ब्यबस्थित होटेल र होमस्टेको ब्यबस्था छैन ।
ख) सत्कार, बोलीब्यबहार सभ्य, शालिन र शिष्ट हुनुपर्छ । तर त्यो संस्कारको विकास भएको छैन।
ग) पर्यटक भन्ने बितिकै मनोमानी बढी शुल्क लिने प्रचलन छ।
घ) पर्याप्त पर्यटकिय न्यूनतम् पूर्वाधार निर्माण छैन।
यी आधारभूत सवालहरुका बावजुत सबैभन्दा महत्वपूर्ण सवाल(चुनौती/समस्या) पर्यटनमैत्री मनोविज्ञानको विकास भएको छैन। यी र यस्ता समस्याहरु चुनौतीका रुपमा तेर्सिएका छन्।

पर्यटन प्रबर्द्धन सम्बन्धि चुनौती र समस्या समाधानको उपाय: तीन बर्ष अघि बरिष्ठ पत्रकार कनकमणी दिक्षितसंगको एक भेटघाटमा प्रसंगवश पर्यटन क्षेत्रको गन्तव्य विकास सम्बन्धी बिषय उठ्दा उहाँको राय खुब मनासिव लागेको थियो। दिक्षित भन्दै हुनुहुन्थ्यो, ‘पर्यटनका लागि मुख्यतः दुईटा पक्ष अनिबार्य हुनुपर्छ। एक सम्बन्धीत गन्तव्य(गाउँ/ठाउँ) को ऐतिहासिक लिखित गाथा हुनुपर्छ। जसका कारण उक्त गाथा अध्ययन गरेर पर्यटकहरु सो गन्तव्यमा ढिलोचाँडो एकदिन अनिवार्य पुगुन्। अर्को गन्तव्य क्षेत्रका घरहरु पुरानै मौलिक शैलीमा निर्माण भएपनि भित्री सजावत आकर्षक र सफा होस्। घरको छटबाट वरिपरि हिमाल देख्न पाईयोस्।’ उहाँको यो कथनले पनि छोटकरीमा ग्रामीण पर्यटन प्रबर्द्धनका लागि निकासको दोका खोल्छ। अथवा यी सवालमा थोरै मात्र पनि ध्यान दिने हो भने समाधानको पहिचान हुन्छ। यसर्थ हामीले र हाम्रा स्थानिय निकायले यी र यस्ता सवालहरुमा ध्यान दिन जरुर छ। अत: माथि उल्लेखित चुनौतीलाई नै सक्रात्मक अर्थमा लागू गरेमा समाधानका उपाय स्वतः पहिचान हुन्छ। अर्को हरेक पालिकाले वडाबाट प्रतिनिधित्व हुने गरि विदेश वा स्वदेशमै यसअघि नै ख्याति कमाएका गन्तव्यस्थलको स्थलगत अध्ययन गर्नका लागि एउटा ‘फर्वार्ड टिम’ सम्मिलित भ्रमण टोलीको चाँजोपाँजो मिलाउन सक्छ। जसबाट धेरै कुरा सिक्ने र अाफ्नो क्षेत्रमा ठाउँ बिशेष लागू गर्ने मौका पैदा हुन्छ।

निचोड:
नेपाल भ्रमण बर्षको तेस्रो संस्करण Visit Nepal 2020 पुस १६ अर्थात आज देखि लागू भएको छ। । निश्चित रुपमा हाम्रो तयारी साह्रै हतारो र अपुग छ । तर यसलाई विगतका दुई संस्करणको निरन्तरता र पर्यटन क्षेत्रको कायापलट दशकको प्रस्थान विन्दुका रुपमा भब्य रुपमा उदघाटन, कार्यन्वयन र परिणामुखी बनाउनैपर्ने जिम्मेवार आएको छ। जसका लागि राज्यको त हुँदै हो हामी नागरिकको पनि उतिकै भूमिका रहन्छ । यतिबेला कुन प्रदेश, जिल्ला, पालिका र वडा कार्यालय अथवा गाउँ पर्यटन विकासमा बेशी अब्बल हुने? भन्ने सक्रात्मक र स्वच्छ प्रतिस्पर्धा हुनु अाबश्यक छ। पर्यटन क्षेत्रको दिगो ब्यस्थापन विना देशको अर्थतन्त्र थप उभो लाग्दैन भन्ने मुलमन्त्र सबैको दिल दिमागमा सजाउन अपरिहार्य भएको छ। पर्यटन क्षेत्रको विकासमा विश्वलाई सक्रात्मक सन्देश दिउँ बाँकी बन्ने हो देश। देश बने मात्र बन्ने न हो हामी। पर्यटन प्रबर्द्धन मार्फत ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा सार्थक बनाउन र देशको काँचुली फेर्न लागि परौं ।

अतिथि देव भव:
नेपाल भ्रमण बर्ष २०२० – सफल पारौं ।

१६ पुष २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको