पञ्‍चायती शासकले मलाई केपी ओलीसँगै जेलमा थुन्दा सूर्य थापा शिशु थिए: भीम रावल


पुस १४, काठमाडौं । अमेरिकन परियोजना मिलेनियम च्यालेन्ज कर्पोरशन (एमसिसी) लाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरुबीच रडाको मच्चिएको छ ।

खास गरी एमसिसीलाई इन्डो प्यासिफिककै अंग भन्दै विरोधमा उत्रिएका नेता भीम रावल र प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाबीचको जुहारीले यतिबेला सामाजिक सञ्जाल तातेको छ । नेकपा केन्द्रीय सदस्यसमेत रहेका थापाले रावलले एमसिसीको विरोध गरेकोमा टिप्पणी गर्दै ‘कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि’ भनेपछि रावलले पनि उनलाई कडा जवाफ दिएका छन्।

उनले ‘देशभक्तिबारे बहस गर्न तयार छु’ शीर्षकमा सामाजिक सञ्‍जालमा लामो धारणा राख्दै निरंकुश पञ्‍चायती शासकविरुद्ध लडेर आफू जेल गएका बेला सूर्य थापा शिशु नै रहेको कडा प्रतिक्रिया दिएका छन्।

‘देश र जनताको पक्षमा बोल्दा २०३२ सालमा निरंकुश पञ्चायती शासनले मलाई केन्द्रीय कारागारमा थुन्दा प्रधानमन्त्री केपी ओलीजी पनि त्यहीँ हुनुहुन्थ्यो’, उनले भनेका छन्, ‘तर उहाँका सल्लाकार सूर्य थापा भने त्यो बेला १० महिनाको शिशु हुनुहुन्थ्यो।’

थापा त्यसबेला शिशु नै भएकाले आफूले देशको पक्षमा लेखेका कथा, कविता र दस्तावेजबारे जानकारी हुन नसक्नु अनौठो नभएको भन्दै कटाक्ष गरेका छन्।’

अतः मैले कुन सन्दर्भमा देशको पक्षमा कस्ता कविता, लेख, दस्तावेज लेखें र आन्दोलनमा नेतृत्व गरें भन्‍ने कुरा उहाँलाई थाहा नुहुनु स्वाभाविक हो’, उनले भनेका छन्, ‘मैले नेपालको संविधान र नेकपाको राजनीतिक सिद्धान्त-नीति अनुरुप देश र जनताको पक्षमा बोल्दा मलाई ‘राष्ट्रवाद’ को बहसमा उत्रेको हो भनी धम्की दिएको पढ्दा २०३३ सालमा ‘श्री ५ को सरकारको घुँडा टेकुवा नीति मूर्दावाद’ भन्‍ने पर्चा निकालेकोमा तत्कालीन निरंकुश शासकहरुले राजकाज मुद्दा लगाएर झ्यालखानामा थुनेको सम्झना भयो।’ रावलले प्रधानमन्त्रीका सल्लाहकारले आफूलाई धम्की दिएको पनि दाबी गरेका छन्।

‘मैले देशको पक्षमा बोल्दा प्रधानमन्त्री केपी शर्मा ओलीजीका सल्लाहकारले धम्की दिएपछि सम्पूर्ण नेपाली जनताको तर्फबाट म पनि प्रश्न गर्न चाहन्छुः के अब देश, जनता, विधि, सिद्धान्त, आदर्शको पक्षमा बोल्ने व्यक्तिहरुमाथि दमन गर्न खोजिएकै हो त? के अब देश कुनै नयाँ रंगको निरंकुशतन्त्रको कुचक्रमा धेकेलिनै लागेको हो त?’, उने प्रश्न गरेका छन्,’म राष्ट्रिय हित, जनता, संविधान, पार्टी विधानको पक्षमा र कुनैपनि रंगको निरंकुशताविरुद्ध अगाडि बढ्न तयार छु।

सूर्य थापाजीले ‘एक्लो वृहस्पति’ हुनलागेको भनेर पार्टी कार्यकर्ता र सदस्य तथा देशभक्त नेपाली जनतालाई दिनुभएको धम्कीले सुकेको हाँगाको पात पनि झर्दैन।’ सूर्य थापा षड्यन्त्रकारी नेता रावलले थापामाथि नेकपाका अर्का नेता वामदेव गौतमलाई बर्दियामा चुनाव हराउन षड्यन्त्र गरेको पनि आरोप लगाएका छन्।

‘गत आम निर्वाचनमा बर्दियबबाट नेता वामदेव गौतमलाई हराउन पार्टी केन्द्रीय कार्यालयमा बसेर षडयन्त्र गर्ने सूर्य थापालाई कारवाही गर्नुपर्नेमा प्रधानमन्त्रीले पुरस्कृत किन गर्नुभयो?’, उनले सोधेका छन्, ‘कारवाही होस् भनेर वामदेव गौतमले स्थायी कमिटीको भर्खरै सम्पन्‍न चौथो बैठक लगायत अनेक पटक कुरा त्यतिकै उठाउनु भएको रहेनछ।’

रावलको भनाइ जस्ताको तस्तै

देशभक्तिबारे बहस गर्न तयार छु: माननीय भीम रावल

देश र जनताको पक्षमा बोल्दा २०३२ सालमा निरंकुश पञ्चायती शासनले मलाई केन्द्रीय कारागारमा थुन्दा प्रमं के.पी. ओलीजी पनि त्यही हुनुहुन्थ्यो तर उहाँका सल्लाकार सूर्य थापा भने त्यो बेला १० महिनाको शिशु हुनुहुन्थ्यो।

अतः मैले कुन सन्दर्भमा देशको पक्षमा कस्ता कविता, लेख, दस्तावेज लेखें र आन्दोलनमा नेतृत्व गरें भन्ने कुरा उहाँलाई थाहा नुहुनु स्वाभाविक हो। मैले नेपालको संविधान तथा नेकपाको राजनीतिक सिद्धान्त र नीति अनुरुप देश र जनताको पक्षमा बोल्दा मलाई “राष्ट्रवाद” को बहसमा उत्रेको हो भनी धम्कि दिएको पढ्दा २०३३ सालमा “श्री ५ को सरकारको घुँडा टेकुवा नीति मूर्दावाद” भन्ने पर्चा निकालेकोमा तत्कालिन निरंकुश शासकहरुले राजकाज मुद्दा लगाएर झ्यालखानामा थुनेको सम्झना भयो।

मैले देशको पक्षमा बोल्दा प्रधानमन्त्री के.पी. शर्मा ओलीजीका सल्लाहकारले धम्कि दिएपछि सम्पूर्ण नेपाली जनताको तर्फबाट म पनि प्रश्न गर्न चाहन्छुः के अब देश, जनता, विधि, सिद्धान्त, आदर्शको पक्षमा बोल्ने व्यक्तिहरुमाथि दमन गर्न खोजिएकै होे त ? के अब देश कुनै नयाँ रंगको निरंकुशतन्त्रको कुचक्रमा धेकेलिनै लागेको हो त? म राष्ट्रिय हित, जनता, संविधान, पार्टी विधानको पक्षमा र कुनैपनि रंगको निरंकुशताको विरुद्ध अगाडि बढ्न तयार छु।

सूर्य थापाजीले “एक्लो वृहस्पति” हुनलागेको भनेर पार्टी कार्यकर्ता र सदस्य तथा देशभक्त नेपाली जनतालाई दिनुभएको धम्किले सुकेको हाँगाको पात पनि झर्दैन। गत आम निर्वाचनमा बर्दिया निर्वाचन क्षेत्र बाट नेकपाको उम्मेदवार हुनुभएका कमरेड वामदेव गौतमलाई हराउनको लागि पार्टी केन्द्रीय कार्यालयमा बसेर षडयन्त्र गर्ने सूर्य थापालाई कावाई गर्नुपर्नेमा प्रधानमन्त्रीले पुरस्कृत किन गर्नुभयो, कारवाही होस् भनेर कमरेड वामदेव गौतमले स्थायी कमिटीको भरखरै सम्पन्न चौथो बैठक लगायत अनेक पटक कुरा त्यतिकै उठाउनु भएको रहेनछ।

निरंकुश राणा शासकहरु कवि शिरोमणि लेखनाथको पिंजडाको सुगा भन्ने कविताबाट तर्सेका थिए। मैले स्थायी कमिटीको बैठकमा प्रस्तुत गरेको कविता पार्टी विधान, पद्धति, राष्ट्रिय हित र स्वाभिमानको पक्षमा कति शक्तिशाली रहेछ भन्ने मलाई महसूश भएको छ, सूर्य थापाजीले तर्सेर निन्दा गरेको पढ्दा।

जबसम्म देशमाथि विगतका निरंकुश व्यवस्थाहरुले थोपरेका असमान सन्धि।सम्झौताहरु रहिरहने छन्, नेपालमा वाह्य हस्तक्षे भइरहनेछ, शासकहरु विधि, पद्धति र राष्ट्रिय हित प्रतिकूल काम गरिहने छन् तबसम्म मैले मात्र होइन देशभक्त।लोकतन्त्रवादी नेपालीहरुले मैले लेखेजस्ता कविता र गीत लेखिरहने छन्, मन्तव्य दिइनै रहनेछन् र आवश्यक परेमा अझ सशक्त रुपमा उत्रने छन्।

होली वाइनदेखि, आइफाड पुरस्कार, तरकारीमा विषादी परीक्षणदेखि राजपासंग गरिएको सम्झौतासम्म मैले भनेको कुनैपनि कुरा तथ्यसँग मेल खाँदैन भनेर प्रमाणित गर्न म सल्लाहकारलाई सल्लाह दिन्छु। सल्लाहकारको सल्लाह भए २०३२ सालमा मैले झ्यालखाना देखि तत्कालीन नेकपा (एमाले) मा देखे भोगेका कुरा र गुटबन्टीका पत्र।पत्रहरु लगायत अन्य तथ्यहरुमा समेत बहस गरौंला।

यद्यपि जुन देशमा सरकार चलाउनु पर्नेले गुट चलाउन थाल्छन्, त्यहाका सल्लाहकारहरुबाट धेरै अपेक्षा गर्नु शायद उचित हुँदैन होला।

१५ पुष २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको