उखु किसानको पैसा नतिर्ने चिनी मिल सञ्चालकलाई पक्राउ गर्न गृहको निर्देशन


पुस १५, काठमाडौं । उखु किसानका पैसा नतिर्ने चिनी मिल सञ्चालकलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ। कृषि र उद्योग वाणिज्य मन्त्रालयले गृहलाई चिनी मिल सञ्चालकमाथि कारबाही गर्न सोमबार सहयोग मागेको थियो।

दुई मन्त्रालयको अनुरोधपछि प्रहरी प्रधान कार्यालयलाई चिनी मिल सञ्चालक पक्रन निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ। गृह स्रोतका अनुसार मंगलबार प्रधान कार्यालयलाई चिनी मिल सञ्चालक पक्राउ गर्न निर्देशन दिइएको हो।

गृह मन्त्रालयले उखु किसानको भुक्तानी नदिने श्री इन्दिरा सुगर एन्ड एग्रो ईं प्रालि र श्री अन्नपूर्ण सुगर एन्ड जनरल ईं प्रालिका सञ्चालक राकेशकुमार अग्रवाललाई पक्राउ गर्न मंगलबार प्रहरीलाई पत्र काटेको हो।

विगत ११ दिनदेखि उधारोमा बेचिएको उखुको भुक्तानी होस् र अब बेच्ने उखुको मूल्य सन्तुलित होस् भन्ने माग लिएर किसान आन्दोलनमा छन्।

उखु किसान मिल मालिकबाट मात्र नभएर सरकारबाट पनि ठगिएका छन्। सरकार र उद्योगीको गरी करिब साढे २ अर्ब बक्यौता बाँकी रहेको उखु किसान महासंघका कपिलमूनि अध्यक्ष मैनालीले बताए।

सरकारले आव २०७४/०७५ बाट उखु किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसाका दरले अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो। सोही अनुसार दुई आव २०७४/०७५ र ०७५/७६ को गरेर १ अर्ब ३४ करोड भुक्तानी लिन बाँकी रहेको अध्यक्ष मैनालीले बताए।

उद्योगीले १ अर्ब २ करोड रूपैयाँ भुक्तानी दिन बाँकी रहेको छ। उनकाअनुसार श्रीराम सुगरमिल्स, रौतहटको ४२ करोड, अन्नपूर्ण चिनी उद्योग, सर्लाहीको ५० करोड र महालक्ष्मी सुगरमिल्सको १० करोड किसानलाई बक्यौता रहेको छ।

१५ पुष २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको