भदौ १४, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेट गरेका छन्।
शनिबार बिहान देउवा निवास बूढानीलकण्ठमा भेटेर उनले मन्त्रालयका तर्फबाट भइरहेका कामकारबाही र वार्षिक कार्यक्रमको योजनाका बारेमा जानकारी गराएका हुन्।
शनिबार फेसबुकमा पोस्ट गर्दै उनले देउवालाई भेटेर भ्रमण वर्ष २०२० का बारेमा पनि जानकारी गराएको बताए।
‘मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा उहाँले अभिरुचिका साथ सुन्नुका साथै महत्त्वपूर्ण सल्लाह सुझाव दिनु भएको छ। त्यसका लागि म उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु’, उनले फेसबुक स्टाटसमा लेखेका छन्।
मन्त्री भट्टराईले सामाजिक संजालमा लेखेको स्टाटस जस्ताको तस्तै
पूर्व प्रधानमन्त्री एवम प्रमुख प्रतिपक्षी दलका नेता माननीय शेरबहादुर देउवासँग आज बिहान उहाँको निवास बुढानीलकण्ठमा भेटघाट गरी मैले सम्हालेको मन्त्रालयका तर्फबाट भईरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएको छु । मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा उहाँले अभिरुचिका साथ सुन्नुका साथै महत्त्वपूर्ण सल्लाह सुझाव दिनु भएको छ । त्यसका लागी म उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
प्रतिक्रिया दिनुहोस