साझा पार्टीले दियो सरकारलाई यस्तो चेतावनी


साउन १५, काठमाडौँ । पूर्व सञ्चारकर्मी रवीन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टीले विश्वविद्यालयमा रिक्त हुँदै गरेका उपकुलपति लगायतका पदाधिकारीको नियुक्ति दलीय भागवण्डामा हुन लागेको भन्दै आफ्नो गम्भीर आपत्ति रहेको जनाएको छ ।

प्रवक्ता सूर्यराज आचार्यले बुधवार एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयमा दलीय हस्तक्षेप बन्द गर्नुपर्ने बताएका हुन् । आचार्यले यदि दलीय भागवण्डा कायम रहेमा देशव्यापी रूपमा भण्डाफोर अभियान संचालन गर्ने चेतावनी दिएका छन् ।

‘पदाधिकारी नियुक्तिसम्वन्धी सरकारका कार्यविधिलाई साझा पार्टीले नजिकबाट नियाल्ने र त्यो दलीय भागबन्डा कै निरन्तरता भएमा देशव्यापी रुपमा भन्डाफोर अभियान सञ्चालन गरिने समेत हामी सरकारलाई चेतावनि दिन चाहन्छौं,’ आचार्यले विज्ञप्तिमार्फत सरकारलाई चेतावनी दिएका छन् ।

‘विश्वका समृद्ध मुलुकहरुको राष्ट्र निर्माणको ईतिहासमा गुणस्तरीय उच्च शिक्षाको केन्द्रीय भूमिका रहेको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘विश्वविद्यालयको गुणस्तर र प्राज्ञिक उन्नयनका लागि प्राज्ञिक स्वतन्त्रता, व्यवस्थापकीय स्वायत्तता, उत्कृष्टता र क्षमताको आधारमा पदाधिकारी र प्राध्यापकको नियुक्ति लगायतका आधारभुत मान्यताको अबलम्वन अनिवार्य छ । नेपालमा भने केही दशकदेखि विश्वविद्यालयका महत्वपूर्ण पद राजनीतिक दलका कार्यकर्तालाई दिइने ‘पुरस्कार’का रुपमा उपयोग हुँदै आएको लज्जाजनक स्थिति छ ।’

साझा पार्टीले दलीय भागवण्डाका आधारमा पदाधिकारी नियुक्त गर्ने तयारीमा रहेको सरकारमाथि दबाब दिन विद्यार्थी समुदाय, बुद्धिजीवी, नागरिक समाज, सञ्चारकर्मी लगायत आम जनतालाई आग्रह पनि गरेको छ ।

१५ श्रावण २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको