भ्युटावर निर्माणकर्ता भेटुवालसहित ४ जनाविरुद्ध विदेशी मुद्रा अपचलनको मुद्दा


साउन १५, काठमाडौं । राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरले काठमाडौं भ्यु टावर निर्माण गरिरहेको कम्पनी जलेश्वर स्वच्छन्द विकोई बिल्डर्स प्रालिका सञ्चालक मनोज कुमार भेटवालसहित चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

विभागले भेटवाल, निशा गुरुङ, राजकुमार विष्ट र शिव विष्ट गरी चार जनाविरुद्ध हुन्डी गरी विदेशी मुद्रा अपचलन गरेको अभियोग लगाउँदै जिल्ला अदालतमा बुधबार मुद्दा दायर गरेको हो ।

गुरुङले आफ्नो सिंगापुरमा रहेका आफन्त, साथीभाइ र अन्य व्यक्तिसँग भेटवालको कम्पनीले निर्माण गरिरहेको काठमाडौं भ्यु टावर निर्माणमा लगानी गर्ने भनी रकम संकलन गरेर बैंकिङ प्रक्रियाभन्दा बाहिर गई हुन्डीमार्फत रकम मगाएको विभागले जनाएको छ । उक्त कारोबारमा राजकुमार विष्ट, उनका भाइ शिव विष्टको समेत संलग्नता रहेको विभागले जनाएको छ ।

विभागका अनुसार सिंगापुरमा विभिन्न व्यक्तिहरुसँग सापटी रकम लिएर गैरकानुनी बाटोबाट नेपाल भित्र्याई गुरुङले विष्टद्वयको सहयोग र संलग्नतामा भेटवालमार्फत भ्युटावरमा लगानी गरेको पाइएको हो ।

उनीहरुविरुद्ध हुन्डीमार्फत गैरकानुनी क्रियाकलाप गरेको भन्दै विभागले ४ करोड ६० लाख ४२ हजार ८ सय ५० रुपैयाँ बिगो कायम गरी चारै जनालाई विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा १७ (१) बमोजिम बिगोको तीन गुणा सजाय तथा सोही ऐनको दफा १७ (९) बमोजिम ३ वर्ष कैद सजाय माग गरिएको छ भने बरामद रकम समेत जफत हुने मागदाबी गरिएको छ ।

उनीहरुले एकपटक २६ लाख १५ हजार, अर्कोपटक ३४ लाख र अर्कोपटक ४ करोड २७ हजार ८ सय ५० रुपैयाँ हुन्डीमार्फत नेपाल ल्याएका थिए ।

१५ श्रावण २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको