चैत १७, मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजको वास्तविक हिरो मदन भण्डारी भएको बताएका छन ।
आफ्नो जीवन गएको २५ वर्षपछि पनि जननेता भण्डारीले लिएका सोच र विचारअनुसारै देशले नयाँ बाटो प्राप्त गरेको बताउँदै प्रधानमन्त्री ओलीले उहाँको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे ।
मोरङको उर्लाबारी नगरपालिका–३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जननेता भण्डारीको विचारअनुसारै अहिलेको शासन प्रणाली स्थापित भएको दावी गरे ।
कोही मानिसले नबुझेर र स्वार्थका कारण विरोध गरे पनि जननेता भण्डारीको विचारअनुसारै अब देशको सुशासन र विकास हुने बताए । प्रतिष्ठानको विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय तह तीन वटै सरकार एक भएर लाग्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले सो संस्थामा अध्ययन गर्ने भाइबहिनी इञ्जिनीयर र प्राविधिक भएर निस्कने भएकाले नै संस्थाको विकास नै समाजको विकास हुने बताए ।
अन्तरराष्ट्रिय अध्ययन अनुसन्धान सम्मेलन हुने
शिक्षाको गुणस्तरमा कुनै सम्झौता गर्न नहुने बताउँदै प्रधानमन्त्री ओलीले शिक्षामा राजनीतिक रङ देखाउन नहुनेमा जोड दिए । “जे उद्देश्य हो त्यहीअनुसार काम गनुपर्छ”। प्रधानमन्त्री ओलीले भने, “यसलाई देश र जनताप्रति साझा संस्थाका रुपमा विकास गर्नुपर्छ ।” प्रधानमन्त्री ओलीले संस्थाको लेखाप्रणाली स्वच्छ र पारदर्शी हुनुपर्ने बताए । प्रधानमन्त्रीले लगानी सम्मेलनको सफलतापछि अब यही आर्थिक वर्षभित्रै युवाको व्यापक सहभागितामा अन्तरराष्ट्रिय खोज, अध्ययन एवम् अनुसन्धान सम्मेलन आयोजना गरिने जानकारी दिए ।
प्रधानमन्त्री ओलीले जननेता भण्डारीको सम्झनामा यहाँ निर्माण गरिएको मदन भण्डारी सङ्ग्रहालयको पनि अवलोकन गरेका थिए । भण्डारीको राजनीतिक, सामाजिक एवम् पारिवारिक गतिविधिलाई समेटेर सो सङ्ग्रहालय निर्माण गरिएको हो ।
करीब आधा घण्टाको समयमा प्रधानमन्त्री ओलीले सङ्ग्रहालय प्रवेशद्वारमा रहेको जननेता भण्डारीको तस्बीर र उहाँ जन्मिएको ताप्लेजुङको ढुङ्गेसाँघु गाउँको चित्रणदेखि अन्त्यमा चितवनको दासढुङ्गामा उहाँ सवार दुर्घटनामा परेको जीपको अवलोकन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस