मनोज पराजुली/चैत्र १७, काठमाडौं । विगत गत १० महिनादेखि बन्द रहेको मलेसिया रोजगारी भोलि (सोमबार) बाट खुल्ने भएको छ ।
पहिलो चरणमा कलिङ भिषा आएका कामदारहरुको लागि मात्र श्रम स्वीकृति खुला गरिन लागेको हो । भोलि (सोमबार)बाट कलिङ भिषा आइसकेकाहरुको लागि नेपाल बैदेशिक रोजगार व्यवसायी संघको सहजीकरणमा बैदेशिक रोजगार विभागले आवश्यक प्रक्रिया शुरु गर्नेगरि पत्र प्राप्त भएको संघका महासचिव नरेश गेलानले जानकारी दिए । प्रक्रिया पुगेकाहरुले संघको सहजीकरणमा विभाग मार्फत सोझै श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको गेलानले बताए ।
प्रक्रिया नपुगेकाहरुले संघको सहजिकरणमा गत कार्तिक १२ गते नेपाल र मलेसिया बीच भएको कामदार आदन प्रदान र फिर्ती सम्बन्धी श्रम समझदारीको मर्म र भावना विपरीत नहुनेगरी आवश्यक प्रक्रिया शुरु गर्न सक्ने उनले बताए ।
केही समयअघि वैदेशिक रोजगार विभागले मलेसियाका लागि म्यानपावर कम्पनीमार्फत कलिङ भिषा प्राप्त गरेका सबै कामदारको विवरण माग गरेको थियो । सो क्रममा कलिङ भिषा प्राप्त गर्ने कामदार ९ हजारभन्दा बढी रहेको बताइएको थियो । तर अहिले भने कलिङ भिषा आएका कामदारहरुको संख्या करिव ७ हजारको हाराहारीमा रहेको अनुमान गरिएको महासचिव गेलानले जानकारी दिए ।
यस अघि बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कलिङ भिषा आएकाहरुको लागि श्रम स्वीकृति दिन तयार भएको भन्दै आवश्यक सहजीकरण गरिदिन व्यवसायी सघलाई आग्रह गरेका थिए । साथै नयाँ प्रक्रिया अनुरुप मलेसिया जानको लागि भने अझै केहि समय लाग्ने श्रम मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस