जय प्रकाश घर्ति, रोल्पा
आदरणीय कामरेड प्रचण्ड ज्यु लाल सलाम !
म सहिद परिवार हुँ । तपाईको नेतृत्वमा भएको १० बर्षे जनयुद्दको दौरानमा मेरो आफ्नै माइलो दाजु ‘कुल बहादुर घर्ति’ प्रज्वल गुमाएको छु । मेरी आमाको मुटुको एक टुक्रा प्रिय दाजुको २०५९ सालमा अर्घाखाँचीको सन्धिखर्क आक्रमणमा सहादत भएको हो ।
छोराको सम्झनामा मेरी आमा अहिले पनि विछिप्त हुनुहुन्छ । सायद कैयौ आमाहरु यसरि नै विछिप्त होलान ।
उहाँको सहादतलाइ मैले जनतामाथि हुने सबैखाले प्रतिबन्धहरुलाइ तोड्न बलिदान भएको रुपमा बुझेको छु । देशमाथिको प्रतिबन्ध हटाउन १७ हजार योद्दाहरुले रगत बगाएको अर्थमा बुझेको छु ।
म युद्द खेपिरहेको परिवारमा हुर्किएको युवक हुँ । त्यसकारण देश परिवर्तनको तातो रगत मेरा प्रत्यक अंगहरुमा सल्बलाउने गर्छ । परिवर्तनका खांतिर बलिदानी भाव अझै जुर्मुराउने गर्छ । देशका लागि हुने बलिदानीलाई मैले सकारात्मक ढंगले बुझेको छु ।
बुबा डब्बल बहादुर घर्ति २०५४ देखि संगठित कार्यकर्ता हुनुहुन्थ्यो । मेरी जेठी दिदि सम्झना घर्ति रोल्पामा महिला छापामारको प्रथम महिला कमान्डर हुनुहुन्थ्यो ।
रोल्पामा ‘सम्झना घर्ति’ सैन्य कमान्डरको नाममा परिचित नाम हो । सायद तपाई पनि यो नामबाट जानकार हुनुपर्छ ।
तत्कालिन सैन्य कमान्डर पासाङको महिला छापामार हुन सम्झना घर्ति । छापामार दिदिको कामरेड मुक्तिसंग युद्दमै जनबादी बिबाह भएको हो । कामरेड मुक्ति बटालियन सहायक कमान्डर हुँदै कमान्डर हुनुहुन्थ्यो ।
भिनाजु युद्दका घाइते पनि हुन् । तर बिगत ६/७ बर्ष अघि प्यारालाइसिस रोगले ग्रस्त हुँदा हिड्न, डुल्न नसक्ने अबस्थामा हुनुहुन्छ । कल्कलाउदो उमेर अबस्थामा युद्दमा कुद्ने रक्त नसाहरु बल्झीएर आज प्यारालाइसिस भएको भन्नेमा कुनै दुइमत छैन । भोकै, प्यासै दिन रात सैन्य जिबन बिताउने मुक्ति कामरेड, आज नसा सम्बन्धि बिरामीले थला पर्नु पर्यो ।
कुनै बेलाको जल्दो बल्दो मानिने मेरी छापामार दिदिले तिनै अपाङ्ग भेनाजुको सुसारे बनेर बस्नु परेको छ । उनीहरुको पारिवारिक अभाबका कुरा नगरौ ।
उहाँहरुको कथा ब्यथा कोट्याएर अर्थ छैन, किन कि कथा अरुका लागि हुन्छन र ब्याथाहरु आफ्नै लागि हुन्छन ।
उहाँहरुको युद्द कथाले जन्माएको राज्यसत्ता राजधानीमा छ । त्यहि सत्ताको दुइ/दुइ पटक प्रधानमन्त्री हुने सौभाग्य श्रदय कामरेड प्रचण्डले पाउनु भयो । यो हामी शहिद परिवारका लागि खुसीको कुरा थियो ।
किन भने हाम्रै जनसत्ता, हाम्रै जनताको राज ल्याउन दाजु प्रज्वल घर्तिहरुले यो धर्तीमा रगत बगाएका हुन ।
तर म बर्तमान परिवेश नियाल्दै छु ! सत्ता कसको लागि आयो र राज कसको चल्दै छ ? त्यो दुनियाले भन्ने कुरा हो ।
एउटा गम्भीर परिवेशको जन्म हुँदै गरेको बिषयले भने म यतिबेला फेरी ससंकित भएको छु । सारा सबै मानव बस्ति ससंकित भएका छन् र देशमा शान्ति अमन चयनका आशाहरु फेरी ओइलाउन थालेको आभास हुँदैछ ।
यतिबेला देशमा फेरी प्रतिबन्धको हल्ला चलिरहेको छ !
श्रदय प्रचण्ड कामरेड…. । तपाईले चाहे नहुने के छ र यहाँ ?
बिगतमा तपाईको नेतृत्वमा भएको महान जनयुद्दलाइ दबाउन यो राज्य सत्ताले कठोर प्रतिबन्ध लगाएको थियो । तपाई र तपाईका सहयात्रीहरुको टाउकाको मूल्य ५० लाख तोक्नेहरु पनि यिनै आजका गणतन्त्र बादीहरू थिए । मैले यतिबेला त्यहि कठोर प्रतिबन्धको कुरा गरिरहेको छु, जहाँ १७ हजार योद्धाहरु प्रतिबन्धको प्रतिबाद गर्दा मारिए ।
म ठोकुवा गरेर भन्न सक्छु, मेरो दाजु लगायत १७ हजार धेरै जनताका छोराछोरीहरुले बलिदानको कारक तत्व नै कठोर प्रतिबन्ध हो । २०५१/५२ सालमा प्रचण्ड कामरेडको मुद्दा राजनीतिक मुद्दा हो भनेर सासकहरुले बुझेको भए यति ठुलो युद्द किन हुन्थ्यो होला र ?
जब देशमा प्रतिबन्धको कुरा चल्छ, तब जनमानसमा डरत्रासको महल ठडिन्छ । प्रतिबन्धले असर गर्ने त गाउँबासीलाइ हो । राजधानीमा बस्नेलाई के फरक पर्छ र ? सुरक्षा घेरामा बस्नेहरुलाइ त झन् सिन्कोले पनि घोच्ने कुरा भएन ।
रोल्पा रुकुमबाट जन्मिएको माओबादि आन्दोलनलाइ दबाउन सैनिक सासन लागुगर्न दस्खत गर्दै किलो सेरा टु जस्ता जघन्य अप्रेसन चलाउनेहरु आज नयाँ नेपालका नयाँ देशभक्त बने । यसको मतलव उनीहरु जीवित रहनु हुँदैन भन्ने मेरो मान्यता हुँदै होइन ।
बरु हामी सबैका साझा मुद्दाहरुले न्याय पाएकी पाएनन भन्ने मुख्य कुरा हो । हिजो संगै लडेकाहरु आज फेरी किन असन्तुष्टि बने भन्ने कुरा मुख्य हो ।
र सत्ता संचालन प्रक्रियामा सबै असन्तुष्टिहरु समाप्त हुन्छन भन्ने पनि होइन, बरु तिनै असन्तुष्टिहरुमा घिउ थपेर आगो मुसुल्का निकाल्न राज्यले जोडदिनु देशका लागि दुर्भाग्य हो । त्यहि दुर्भाग्यको रेखा किन कोर्न खोज्दै छ तपाई सम्मिलित काठमाण्डौको राज्य व्यवस्थाले ?
आज फेरी बिप्लव नेतृत्वको नेकपा माथि प्रतिबन्ध गर्न प्रचण्ड कामरेडले हातमा हात मिलाई रहदा फेरी पनि शहिदको खेति गर्ने कार्यलाई प्रसय दिए जस्तो लाग्दै छ ।
बिप्लव पनि प्रचण्ड नेतृत्वको जनयुद्दका एक हिस्सेदार नेता हुन् । अर्थात बिगतको जनयुद्दको लिगेसी जोडिएको एउटा राजनीतिक शक्ति हो । त्यहि राजनीतिक शक्ति माथि पुन: प्रतिबन्ध लगाउदा पृथ्वीले नै उल्टो दिशा तिर गतिलिने होकी भन्ने डर धेरैलाइ छ ।
उनीहरुका पनि राजनीतिक माग हुन । देशका दलाल तथा भ्रष्टचारीका बिरुद्द बोल्नु अपराध होइन । तिनै मागहरुलाइ ब्यबस्थापन गर्न छोडेर मुडेबल लाएर समाधान गर्न खोज्नु गलत छ कामरेड । यसले लिने परिणाम र गति बारे श्रदय प्रचण्ड नै धेरै जानकार हुनुहुन्छ ।
यो देशमा प्रतिबन्धको इतिहास राम्रो छैन । प्रतिबन्धले उब्जाएका भयङ्कर युद्दहरुले आफैलाई निमिट्यान्न पारेका इतिहासहरु छन् । जसले प्रतिबन्ध उत्पादन गरे, तिनैको अस्तित्व आज स्वाहा भएको छ ।
स्मरणहोस्, प्रतिबन्धले बिद्रोही शक्तिलाइ नै फाइदा पुग्ने गर्छ । उक्त शक्तिलाइ मुलधारको राजनीतिमा ल्याउन सक्ने राज्य बुद्दिमानी हुन्छ, तर प्रतिबन्धको डण्डा बर्साउने राज्य मुर्ख हुन्छ, हिटलरी हुन्छ ।
त्यसैले देशले अब युद्द चाहेको छैन । शान्ति चाहेको छ । प्रतिबन्ध होइन स्वतन्त्र चाहेको छ ।
अन्तमा, देशको राजनीतिलाई दिशा निर्देश दिन सक्ने खुबी र हैसियत तपाई संग छ कामरेड । सबै स्वार्थहरुलाई थाँती राखेर, राजनीतिक शक्ति माथिको प्रतिबन्ध हटाइ, राजनीतिक ब्यबस्थापन गर्ने तपाईको मास्टर माइन्डको आबस्यकता छ । नत्र देश फेरी ठुलो द्वन्दमा फस्ने निश्चित छ । त्यसको ठुलो जिम्मेवार तपाई पनि हुनुपर्छ ।
प्रतिक्रिया दिनुहोस