प्रधानमन्‍त्री ओली ग्राण्डीमा, नियमित स्वास्थ्य परीक्षण हुँदै


कार्तिक १३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल पुर्‍याइएको छ। बुधबार बिहान प्रधानमन्त्रीलाई ग्राण्डी अस्पतालमा ल्याइएको अस्पतालका निर्देशक चक्रराज पाण्डेले जानकारी दिए।

निर्देशक पाण्डेले प्रधानमन्त्री ओलीको नियमित स्वास्थ्य परीक्षण भइरहेको र अहिले अवस्था सामान्य रहेको अन्‍नपूर्ण अनलाइनसँग बताए । प्रधानमन्त्री ओलीले स्वास्थ्यमा केही असहज महसुस भएपछि अस्पतालमै राखेर आवश्यक परीक्षण गर्न अस्पताल पुर्‍याइएको हो।पछिल्लो समय प्रधानमन्‍त्री बढी व्यस्त भएकोले धपेडीका कारण ज्वरोसँगै अरु समस्या पनि देखिएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले प्रधानमन्‍त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए। उनले भने, ‘नियमिति स्वास्थ्य परीक्षणका लागि बिहान ९ बजे अस्पताल पुग्‍नुभएको थियो। अब परीक्षण सकिएपछि केही समयपछि फर्किनुहुन्छ। बाहिर हल्ला गरेजस्तो गम्भीर समस्या केही छैन। सामान्य छ।’

प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन्। उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमी आउने भएकोले बेलाबेलामा उनको स्वास्‍थ्यमा समस्या देखिने गरेको छ।

भदौंको पहिलो हप्ता प्रधानमन्त्री ओलीको सिंगापुरमा प्लाज्माफेरेसिस गराइएको थियो। त्यही क्रममा दुई हप्ता ओली सिंगापुरमा रहेका थिए। रेनल बायोप्सीको रिपोर्टपछि ओली थप परीक्षण र उपचारका लागि सिंगापुर गएका थिए। त्यसअघि छाउनीस्थित सैनिक अस्पताल नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेलन बायोप्सी’ गरिएको थियो।

१३ कार्तिक २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको