मनोज पराजुली/भदौ १३, काठमाडौं । म्यानपावर कम्पनीहरुले इजाजतपत्र लिन धरौटीको लागि बैंक ग्यारेन्टीसहित नगद राख्ने कामलाई अन्तिम समयमा तीव्र पारेका छन् ।
धरौटी राख्न तोकिएको समयसीमा भदौ १८ गते आउन ५ दिन बाँकि रहंदा शुक्रबारसम्म ५ सय १२ कम्पनीको बैंक ग्यारेन्टी रकम प्राप्त भएको विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिए ।
बैंक ग्यारेन्टी पेश गरेका कम्पनी मध्ये ४ सय ४२ कम्पनीले नगद र ग्यारेन्टी दुवै रकम विभागमा दाखिला गरेको महानिर्देशक भुसालले बताए । १ सय ९२ कम्पनीले मर्जरमा गएर ८९ कम्पनीमा सीमित भएको महानिर्देशक भुसालले जानकारी दिए ।
समयसीमा कम भएको र सेवा लिन आउनेको भीड बढेकोले शनिबार पनि कार्यालय खुला राखेर सेवा दिने भुसालले बताए । विभागमा कार्यरत जनशक्ति बाहेक श्रम कार्यालय ताहाचलबाट पनि कर्मचारी थप गरेर व्यवसायीले फाइल पेश गरेकै दिन नै सेवा दिइरहेको महानिर्देशकको भनाई छ ।
हिजो विहिबारसम्म ४ सय २३ म्यानपावर कम्पनीले बैंक ग्यारेन्टी विभागमा पेशा गरेका थिए । ती कम्पनी मध्ये ३ सय ४४ ले नगद ५० लाख सहित बैंक ग्यारेन्टी विभागमा पेश गरेका थिए ।
गत आर्थिक वर्षमा १ हजार ८१ वटा म्यानपावर कम्पनीले कामदार विदेश पठाएका थिए । १ हजार ८१ मध्ये एकाघरमा व्यक्ति संचालक भएकाहरुले १ भन्दा बढी म्यानपावर चलाउन नपाउने नियम सरकारले ल्याएसंगै त्यस्ता कम्पनीहरु अनिवार्य मर्जरमा गएका छन् ।
सरकारले बैदेशिक रोजगार ऐन २०६४ संसोधन गर्दै वार्षिक तीन हजारभन्दा कम कामदार पठाउन चाहने म्यानपावर कम्पनीले ५० लाख नगद र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी गरी २ करोड, वार्षिक ३ हजारदेखि ५ हजारसम्म कामदार पठाउन चाहने कम्पनीले एक करोड नगद र ३ करोड बैंक ग्यारेन्टी गरी ४ करोड र वार्षिक ५ हजारभन्दा बढि कामदार पठाउन चाहने कम्पनीले २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी गरी ६ करोड धरौटी राख्नुपर्ने व्यवस्था गरेको छ । सो अनुरुप व्यवसाय गर्न चाहने म्यानपावर कम्पनीले धरौटी राख्नको लागि अन्तिम समयसीमा नै पर्खिएको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस